बेलायतको अक्सफोर्डबाट पठाइयो २५ लाख ५० हजार रुपैयाको राहत

अक्सफोर्ड- नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका लागि बेलायतको अक्सफोर्ड क्षेत्रमा बस्ने नेपालीहरुको पहलमा २५ लाख ५० हजार रुपैया (१२ हजार ५ सय पाउन्ड) सहयोग पठाइएको छ।
बेलायतस्थित ‘हेल्प फर नेपाल’ च्यारिटी र नेपाली कम्युनिटी अक्सफोर्डशायर को संयुक्त पहलमा सञ्चालित आपत्कालीन राहत अभियानमार्फत उक्त रकम संकलन गरिएको हो। संकलित रकम लन्डनस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकिएको जनाइएको छ।
अक्सफोर्डस्थित नेपाली समुदाय, बेलायतका विभिन्न स्थानमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय सहयोगीहरू समेतको सहभागितामा अभियान सञ्चालन गरिएको थियो।
अभियानको नेतृत्व हेल्प फर नेपाल च्यारिटीका अध्यक्ष क्याप्टेन (अवकाशप्राप्त) तुलसी पौडेल र नेपाली कम्युनिटी अक्सफोर्डशायरकी अध्यक्ष दीपा थापाले संयुक्त रूपमा गरेका थिए ।
अध्यक्षद्वय पौडेल र थापाले विपद्को समयमा राहत अभियानमा जोडिएर सहयोग गर्ने सम्पूर्ण दाताहरू, अभियानको प्रचारप्रसारमा साथ दिने व्यक्ति तथा संघसंस्था र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
“विपद्को यस कठिन घडीमा प्राप्त तपाईंहरूको सहयोग र सहृदयताले प्रभावित परिवारलाई राहतसँगै ठूलो हौसला मिल्नेछ। प्रवासमा रहेका नेपालीहरू एकजुट भएर मातृभूमिका लागि सहयोग गर्दा संकटको समयमा महत्वपूर्ण योगदान गर्न सकिन्छ भन्ने उदाहरण हाम्रो अभियानले प्रस्तुत गरेको छ, उनीहरुले भनेका छन् ।
नेपाल र नेपालीप्रति देखाएको माया, सद्भाव र ऐक्यबद्धताका लागि सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्षद्वयले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


