शुक्रबार, २५ सेप्टेम्बर, २०२६
08:16 | १३:०१

गाउँबाट बेलायती विश्वविद्यालय नेतृत्वसम्मको यात्रा सुनाउँदै प्राध्यापक सिम्खडा

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२६

लन्डन। नेपालको दुर्गम गाउँबाट सुरु भएको जीवनयात्रालाई बेलायतको युनिभर्सिटी अफ चेस्टरमा प्राध्यापक तथा डीनको जिम्मेवारीसम्म पुर्‍याएका प्राध्यापक पदम सिम्खडाले आगामी अक्टोबरमा आफ्नो मन्तव्य दिने भएका छन्।

‘From a Village in Nepal: Reflections on Research, Leadership and Social Change’ शीर्षकको उक्त मन्तव्य बिहीबार, १५ अक्टोबर २०२६, साँझ ६:३० देखि ८ बजेसम्म आयोजना हुनेछ।

कार्यक्रममा युनिभर्सिटी अफ चेस्टरमा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ।

मन्तव्यमा  प्राध्यापक सिम्खडाले शिक्षा, अवसर, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रालाई कसरी प्रभावित गर्‍यो भन्ने अनुभव प्रस्तुत गर्नेछन्।

साथै, समाजका जटिल एवं गम्भीर समस्याको समाधानमा विश्वविद्यालयहरूले खेल्न सक्ने भूमिकाबारे पनि चर्चा गर्नेछन्।

नेपाल, बेलायत तथा विश्वका विभिन्न देशमा भएका सहकार्यबाट प्राप्त अनुभवका आधारमा उनले विश्व स्वास्थ्य, स्वास्थ्य असमानता, आप्रवासन, दिगोपन र सामाजिक विकासलगायत विषयमा आफ्नो धारणा राख्नेछन्।

अनुसन्धान र शिक्षाले समुदायमा सार्थक परिवर्तन ल्याउन तथा वास्तविक जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने शक्तिमाथि व्याख्यान केन्द्रित रहने जनाइएको छ।

सार्वजनिक स्वास्थ्य, अनुसन्धान नेतृत्व र क्षमता विकासका क्षेत्रमा प्राध्यापक सिम्खडाले अन्तर्राष्ट्रिय प्रतिष्ठा हासिल गरेका छन्। आफ्नो शैक्षिक यात्राका क्रममा उनले विद्यावारिधि तहका अनुसन्धानकर्तालाई निर्देशन दिनुका साथै नवप्रवेशी प्राज्ञिक व्यक्तित्वलाई मार्गदर्शन गरेका छन्।

न्यून तथा मध्यम आय भएका मुलुकमा अनुसन्धान र शिक्षा प्रणाली सुदृढ बनाउनसमेत उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

सम्वोधनका क्रममा उनले विद्यार्थी, सहकर्मी, समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारसँग काम गर्दा सिकेका पाठबारे चर्चा गर्नेछन्। सकारात्मक सामाजिक परिवर्तनका संवाहक बन्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयहरूको भूमिकामाथि पनि उनले प्रकाश पार्नेछन्।

प्राध्यापक सिम्खडाले भने, “नेपालको एउटा सानो गाउँबाट सुरु भएको र शिक्षा, अनुसन्धान तथा सहकार्यको रूपान्तरणकारी शक्तिले आकार दिएको यात्रालाई फर्केर हेर्ने यो एउटा अवसर हो। यस क्रममा सिकेका पाठ मात्र होइन, अरूलाई आफ्नो क्षमता विकास गर्न र समाजमा सकारात्मक योगदान दिन अवसर सिर्जना गर्नुको महत्व पनि बाँड्न चाहन्छु।”

उनले विश्वविद्यालयसँग ज्ञान उत्पादन गर्ने, भावी पुस्तालाई प्रेरित गर्ने तथा विश्वव्यापी चुनौतीको सामना गर्न समुदायसँग सहकार्य गर्ने विशिष्ट जिम्मेवारी रहेको बताए।

प्राध्यापक सिम्खडाले युनिभर्सिटी अफ चेस्टरलाई प्रतिभाको विकास गर्ने, अनुसन्धान उत्कृष्टतालाई अगाडि बढाउने र स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वव्यापी रूपमा जोडिएको संस्थाका रूपमा विकास गर्ने आफ्नो भावी दृष्टिकोणसमेत प्रस्तुत गर्नेछन्।

सर्वसाधारण, विश्वविद्यालयका कर्मचारी, विद्यार्थी तथा प्राध्यापक सिम्खडाको कामसँगै अनुसन्धान, नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यमार्फत हुने सामाजिक परिवर्तनमा रुचि राख्ने साझेदारहरूका लागि कार्यक्रम खुला रहनेछ।

प्रत्यक्ष कार्यक्रम युनिभर्सिटी अफ चेस्टरको स्कुल अफ एजुकेसनको प्रांगणमा हुनेछ। कार्यक्रममा सहभागिता निःशुल्क भए पनि अग्रिम रूपमा आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ।

प्रत्यक्ष सहभागिताका लागि दर्ता:
अनलाइन सहभागिताका लागि दर्ता:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू