बिहीबार, १७ सेप्टेम्बर, २०२६
22:43 | ०३:२८

तेस्रो एनआरएनए कपको टिम ड्र, मेन र भेटेरान्सतर्फ चार–चार समूह

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा समितिको आयोजनामा हुन लागेको तेस्रो एनआरएनए कप २०२६ को आधिकारिक टिम ड्र लन्डनको ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

ड्रमार्फत मेनतर्फ २० र भेटेरान्सतर्फका १२ टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताको खेल तालिकासमेत तय गरिएको छ ।

एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल (तीर्थबहादुर मल्ल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक उद्घाटन महासचिव जुरेन्द्र लिम्बूले गरेका थिए ।

स्वागत मन्तव्य राख्दै लिम्बूले सहभागी टोलीका प्रतिनिधि, युवा समितिका पदाधिकारी तथा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

युवा समितिका अध्यक्ष विशाल राई र सचिव निशान पन्धाकको संयुक्त नेतृत्वमा सञ्चालन भएको ड्र कार्यक्रममा समितिका कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता थियो ।

ड्र सम्पन्न भएसँगै प्रतियोगिताको प्रारम्भिक व्यवस्थापनलाई अन्तिम रूप दिइएको र बाँकी तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

मेनतर्फ समूह ‘क’ मा वाटरमेलन एफसी, टीडब्ल्यू वारियर्स, तामाङ समाज यूके, नेहप गाइज एफसी र एफसी केन्ट छन् । समूह ‘ख’ मा रङबङ्ग समाज, नेपाली ड्रीम टिम, केवाईसी जीएलएस, नेप्जम एफसी र एफसी कनेक्ट परेका छन् ।

त्यस्तै, समूह ‘ग’ मा नोर्थहोल्ट एफसी, एसेन्ट युनाइटेड, पारस एफसी, रोयल नेपाल एफसी (आरओई) र आगमन एफसी छन् ।

समूह ‘घ’ मा एनबी इभेन्ट्स पासा एफसी, आइरो युनाइटेड, फर्नबोरो एलाइट, माया फेल्थम युनाइटेड र ब्रदर्स ग्रुप एफसी (बीजीएफसी) रहेका छन् ।

भेटेरान्सतर्फ समूह ‘क’ मा बीबीसी, एकता एफसी र नेप्जम एफसी परेका छन् भने समूह ‘ख’ मा जोइन्ट एफसी, ब्रिज एफसी र प्लमस्टेड भेट छन् ।

समूह ‘ग’ मा ड्याडी एफसी, नोर्थहोल्ट एफसी र रेन्ज युनाइटेड छन् भने समूह ‘घ’ मा इन्टेक ०४, दैलामारा एफसी र धरान इलेभेनले प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुदका माध्यमबाट बेलायतस्थित नेपाली समुदायबीच एकता, मित्रता र आपसी सम्बन्ध सुदृढ बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । विशेषगरी युवाहरूको सक्रिय सहभागिता बढाउँदै फुटबलमार्फत समुदायलाई एकसूत्रमा बाँध्ने अपेक्षा गरिएको छ ।

ड्र कार्यक्रमको मिडिया प्रस्तुति तथा डिजिटल प्रचारप्रसारको जिम्मेवारी युवा समितिका डिजिटल क्रिएटर रविन भारतीले सम्हालेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू