मंगलबार, २५ अगस्ट, २०२६
20:18 | ०१:०३

पिकलबल विश्वकपका लागि नेपाली टोली घोषणा

नेपाली लिङ्क अगस्ट २५, २०२६

काठमाडौं । आगामी अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ ।

पिकलबल एसोसिएसन नेपालले मंगलबार होलिडे इन एक्सप्रेस नक्सालमा एक कार्यक्रम आयोजना गर्दै विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथिको सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन् ।

त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्ष्या राना, सञ्जील कन्साकार र किरण खनाल छनोट भएका छन् ।

कार्यक्रममा बोल्दै पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले पिकलबलको विकासका लागि पाँच वर्षदेखि गरिएको निरन्तर प्रयासको परिणामस्वरूप नेपाल पहिलोपटक विश्वकपमा सहभागी हुने हुँदा नेपाली खेलाडीहरूले विश्वमाझ नेपालको खेल क्षमता र राष्ट्रिय गौरव प्रस्तुत गर्दै पदक जित्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष सौरभ भण्डारी, वरिष्ठ पत्रकार दिलभुषण पाठक, टिम नेपालका क्याप्टेन ज्याक्सन सुवेदी लगायतले विश्वकपको तयारी, संभावना र अनुभव राखेका थिए ।

विश्वकपमा नेपालले विश्वका विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय पिकलबलमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख अमेरिकी डलर छ ।

नेपाली टोलीलाई बामबाम हाइड्रेसन इनर्जी ड्रींक मुख्य प्रायोजक छ भने करेन्ट नुडल्स, गोर्खा एथलेटिक्स, माछापुच्छ्रे बैंक, होलिडे इन एक्सप्रेस होटल, एरिन हस्पिटल लगायतको प्रायोजन तथा सहयोग रहेको छ ।

पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रित स्वरूपजस्तो देखिने र्‍याकेट खेल हो । यसमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ । टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिने पिकलबल एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिन्छ ।

सरल नियम र सहज खेलशैलीका कारण पछिल्लो समय पिकलबल विशेषगरी अमेरिकाबाट विश्वका विभिन्न देशमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ । शारीरिक सक्रियतासँगै मनोरञ्जन र सामाजिक सहभागिताका लागि समेत उपयुक्त मानिने यो खेलमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली पिकलबलको पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू