मंगलबार, ४ अगस्ट, २०२६
15:57 | २०:४२

बेलायतलगायत २१ मुलुक तथा नियोगमा राजदूत नियुक्त गर्ने सरकारको तयारी

रासस अगस्ट ४, २०२६

काठमाडौँ। नेपाल सरकारले बेलायतलगायत विभिन्न २१ मुलुक तथा कूटनीतिक नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ।

राजदूत रिक्त रहेका १६ दूतावाससँगै चारवर्षे कार्यकाल पूरा गरी थपिएको अवधिमा काम गरिरहेका इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार तथा संयुक्त राष्ट्रसङ्घीय नियोग भियनासमेत गरी २१ स्थानमा दुई हप्ताभित्र नियुक्ति प्रक्रिया अघि बढाउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल १५ मुलुक तथा नियोगमा मात्र नेपाली राजदूत कार्यरत छन् भने १६ स्थानमा पद रिक्त छ। नेपालका विभिन्न मुलुकमा २८ वटा राजदूतावास रहेका छन्। त्यसबाहेक संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्क, जेनेभा र भियनामा तीन स्थायी नियोग तथा आठवटा महावाणिज्य दूतावाससहित नेपालका कुल ३९ कूटनीतिक मिसन रहेका छन्।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्समा नेपाली राजदूत कार्यरत छन्।

अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका र स्पेनमा भने राजदूत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली राजदूतावास बन्द गर्ने निर्णयसमेत गरेको छ।

मन्त्रालयका अनुसार राजदूत नियुक्तिका लागि खुला आवेदनमार्फत प्राप्त निवेदनहरूको अध्ययन भइरहेको छ। ती आवेदनमध्येबाट योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने सरकारको तयारी छ।

नेपालमा खुला आवेदनका आधारमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागिएको यो पहिलोपटक हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू