सोमबार, ३ अगस्ट, २०२६
23:55 | ०४:४०

लन्डनमा गुल्मेली भेला, नेपाली कला संस्कृतिको अनुपम संगम (२० तस्विर)

नेपाली लिङ्क अगस्ट ३, २०२६

लन्डन । गुल्मी जिल्ला समाज यूकेले आफ्नो १८औँ वार्षिक भेटघाट तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

आइतबार लन्डन फेल्थामस्थित स्प्रिङवेल्स एकेडेमीमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न शहर साथै स्कटल्याण्ड र वेल्सबाट समेत ठूलो सङ्ख्यामा गुल्मेलीको उपस्थिति थियो । गर्मीयामको व्यस्त समयमा पनि गुल्मेली तथा गैरगुल्मेली नेपालीहरूको बाक्लो उपस्थितिले समाजप्रतिको माया, विश्वास र चासो पुष्टि गरेको आयोजकको भनाइ छ ।

गुल्मेली भेला केवल वार्षिक जमघटमात्र थिएन, बरु यसले नेपालका विविध नृत्य, कला संस्कृति र रहनसहनलाई प्रतिबिम्बित गरेर ‘मिनी नेपाल’ बनायो ।

पशुपतिनाथ मन्दिर प्लमस्टिडका मूल पण्डित नीलहरि घिमिरे, आनन्दराज लोहनी, वासुदेव सापकोटा, पण्डित विनोद पन्थी र पण्डित थानेश्वर पाण्डेद्वारा स्वस्ती वाचनसंगै विधिपूर्वक पूजापाठ गरि कार्यक्रम सुरुआत गरिएको थियो ।

त्यसपछि समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेल, प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी र समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक अवकाशप्राप्त क्याप्टेन ताम ढेगाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गुल्मी जिल्ला समाज यूकेले गुल्मीको मात्र नभई समग्र नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गरेको बताए। नेपाली मौलिक संस्कृति संरक्षण, नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्ने तथा बेलायती समाजमा नेपालको पहिचानलाई थप उचाइमा पुर्‍याउने कार्यमा यस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा समाज निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरिन् । आगामी दिनमा कार्यक्रमलाई अझ व्यापक र व्यवस्थित बनाउँदै खुला स्थानमा समेत आयोजना गर्ने लक्ष्य रहेको उन्ले जानकारी दिइन्।

कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष रिटायर्ड  क्याप्टेन ताम ढेगाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन बेलायतका विभिन्न क्षेत्रबाट सहभागी हुने सबैप्रति आभार व्यक्त गरे। बालबालिकाहरूको उत्साहजनक सहभागिताले कार्यक्रममा थप रौनक थपेको उनले बताए ।

महासचिव महलाल घिमिरेले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचा, सल्लाहकार तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सांस्कृतिक सचिव दीपक मैथाने मगर र सुजु शेर्पा पौडेलले संयुक्त रुपमा सञ्चालन गरेको सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बनेको थियो ।

बेलायतको पहिलो नौमती बाजाको गुन्जनसँगै गुल्मीका मौलिक सालैजो, ठाडो भाका, सोरठी, झ्याउरे, घाटु नाच, तामाङ सेलो जस्ता प्रस्तुतिले उपस्थित दर्शकलाई लन्डनमै ‘मिनी नेपाल’को अनुभूति गराएको थियो ।

कार्यक्रममा ससाना बालबालिकाले विशेष नृत्य प्रस्तुत गरे भने नजिकिँदै गरेको हरितालिका तीजलाई लक्षित गरी प्रस्तुत गरिएका तीज विशेष गीत र नृत्यले कार्यक्रमस्थल गुञ्जायमान बनेको थियो ।

कार्यक्रममा नेपालका चर्चित गायक प्रकाश दुतराज, ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता प्रोसेश पाण्डे, गायक विष्णु खत्री, गायिका सम्झना भण्डारी, पुनम गुरुङ र सरिस्मा मगरलगायतका लोकप्रिय कलाकारहरूले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै दर्शकहरूलाई नाचगानमा झुम्मिन वाध्य पारेका थिए ।

तस्विरः नेपालीलिंक/महेश्वर कार्की 

     

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू