शनिबार, १ अगस्ट, २०२६
18:13 | २२:५८

नेपाली पर्वतारोहणको पहिचान बदल्ने अभियानमा थिए निर्मल पुर्जा, अकालमै अस्ताए

रासस अगस्ट १, २०२६

काठमाडौँ । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् । तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ ।

विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गरेनन्, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गरे ।

म्याग्दी दानास्थित सामान्य परिवारमा जन्मिएका पुर्जाको बाल्यकाल चरम दुःख र सङ्घर्षले भरिएको थियो । बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुधेका पुर्जा कुनै दिन विश्वकै सबैभन्दा कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्लान् भन्ने कल्पना अरूले त छाडौँ उनी आफैँले पनि गरेका थिएनन् ।

गाउँको सामान्य जीवनबाट सुरु भएको उनको यात्रा बेलायती गोर्खा सैनिकसम्म पुग्यो । उनी सन् २००३ मा बेलायती सैनिकका रूपमा भर्ती भए । त्यहाँ पनि पुर्जा साधारण सैनिक भएर बसेनन् । कठिन छनोट प्रक्रिया पार गर्दै बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबिएस) मा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बने । सैन्य जीवनले उनलाई अनुशासन, जोखिम व्यवस्थापन, नेतृत्व र असम्भवलाई कसरी सम्भव बनाउने भन्ने सीपका साथै आत्मविश्वास दिलायो । तर, उनको जीवनको मोड हिमाल बन्यो ।

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस गरे । त्यसपछि पुर्जाले पर्वतारोहणलाई केवल पेसा होइन, जीवनको उद्देश्य बनाए र सन् २०१८ मा बेलायती सैनिकबाट राजीनामा दिए ।

सन् २०१९ मा उनले ‘प्रोजेक्ट पोसिबल’ अभियान घोषणा गरे जुन अभियान धेरैका लागि अव्यवहारिक र असम्भव सपनाझैँ थियो । सो अभियानको लक्ष्य थियो, ‘विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सात महिनाभित्र आरोहण गर्ने ।’

त्यसबेला यो लक्ष्यलाई धेरै अनुभवी पर्वतारोहीहरूले समेत असम्भव भनेर प्रतिक्रिया दिएका थिए । उनले सो अभियानका लागि प्रायोजन खोज्दा प्रायोजकहरूसमेत हिचकिचाए । आर्थिक अभाव यति थियो कि पुर्जाले आफ्नै घर धितो राखेर अभियान अघि बढाएका थिए । सो प्रसङ्ग उनको आत्मकथा ‘बियोन्ड पोसिबल’मा उल्लेख छ ।

निम्स दाइका लागि ‘असम्भव’ भन्ने शब्द नै प्रेरणाको स्रोत बन्यो । अन्ततः उनले ६ महिना ६ दिनमै ती सबै १४ हिमाल आरोहण गरेर इतिहास मात्र रचेनन्, सम्भावनाको परिभाषा नै पुनर्लेखन गरे । भलै उनको सो कीर्तिमान नर्वेजियन आरोही क्रिस्टिन हरिला र नेपाली आरोही तेन्जेन लामा शेर्पाले ९२ दिनपछि नै तोडे । तर, सो कीर्तिमान तोड्ने साहस उनीहरूमा जो आएको थियो, त्यसको पछाडि निम्स दाइकै ‘सम्भव छ’ भन्ने हिम्मत जोडिएको थियो ।

उनको आरोहण यात्राको अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली पर्वतारोहणको पहिचान बदल्ने अभियान थियो । दशकौँसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विदेशी आरोहीहरू नायक बन्थे भने नेपाली शेर्पा र उच्च हिमाली सहयोगीहरू पृष्ठभूमिमा सीमित रहन्थे । निम्स दाइले बारम्बार भनेका थिए, “हिमालको सफलता केवल शिखरमा पुग्ने व्यक्तिको होइन, सम्पूर्ण टोलीको सामूहिक उपलब्धि हो ।”

यसको सबैभन्दा राम्रो उदाहरण सन् २०२१ को ऐतिहासिक ‘के–टु’को पहिलो जाडो यामको आरोहणलाई मान्न सकिन्छ । संसारभरका पर्वतारोहीले हालसम्म जाडो याममा के–टु हिमाल आरोहण गर्न सकेका थिएनन् । सो अभियानमा शिखर पुग्न अन्तिम केही मिटर बाँकी हुँदा टोलीमा आबद्ध जोकोहीले व्यक्तिगत रूपमा अघि बढ्न सक्थे तर निम्स दाइले सबैलाई रोके । दसै जना नेपाली पर्वतारोही एक ठाउँमा भेला भए र नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ शिखरमा पाइला राखे । त्यो केवल एउटा आरोहण मात्र थिएन, त्यो त विश्व पर्वतारोहण इतिहासमा नेपालीले लेखेको एक इतिहासको अध्याय थियो ।

निम्स दाइले खिचेको सगरमाथाको ‘ट्राफिक जाम’को तस्बिर सन् २०१९ मा संसारभर ‘भाइरल’ बन्यो । धेरैका लागि त्यो भीडको दृश्य थियो, तर निम्सका लागि त्यो हिमाल व्यवस्थापन, मौसमको सीमित अवसर र बढ्दो व्यावसायिक आरोहणबारे विश्वव्यापी बहस सुरु गराउने दस्ताबेज बन्यो ।

उनले देखाएको अर्को पक्ष उद्धार अभियानप्रतिको प्रतिबद्धता हो । कतिपय अवस्थामा उनले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा माथि उठेर मानवीयतालाई प्राथमिकता दिँदै उद्धार अभियानमा संलग्न भए । उनको जीवनदर्शन सरल थियो, ‘सम्भव छ’ । अरूले असम्भव देख्ने लक्ष्यलाई सम्भव बनाउन सकिन्छ भन्ने विश्वासले नै उनलाई विश्वभर ‘निम्स दाइ’ का रूपमा चिनायो । यही दर्शनले सन् २०२१ मा ‘नेटफ्लिक्स’को चर्चित वृत्तचित्र ‘फोर्टिन पिक्सः नोथिङ इज इम्पोसिबल’ मार्फत करोडौँ दर्शकसम्म पुर्जाको कथा पुग्यो ।

आज निम्स दाइ केवल कीर्तिमानी पर्वतारोहीका रूपमा मात्र रहेनन् । उनी त नेपाली पर्वतारोहणको नयाँ आत्मविश्वासका प्रतीक बनेका छन् । उनले नेपाली पर्वतारोहीलाई विश्व मञ्चमा सहायक नभएर नेतृत्वकर्ता र निर्णयकर्ताका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

एलिट एक्सपिडिसनमार्फत नयाँ पुस्ताका नेपाली पर्वतारोहीलाई अवसर सिर्जना गर्ने प्रयास होस् वा निम्स दाइ फाउन्डेसनमार्फत हिमाली वातावरण संरक्षण अभियान, उनको योगदान शिखरभन्दा धेरै परसम्म फैलिएको छ ।

त्यसो त निम्स दाइ पनि सर्वगुण सम्पन्न थिएनन् । मानिसमा हुने सामान्य कमजोरी उनमा पनि थियो । विभिन्न समयमा उनी केही विवादमा पनि मुछिए । सन् २०१९ मा आमादब्लमको शिखर नै ढाक्ने गरी कुवेतको झण्डा राखेको, केही विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको, उनको कम्पनीले भाडामा लिएको घर कपनमा आगलागी हुँदा व्यक्तिको ज्यान गएको, कतिपय हिमालमा आरोहणका गतिविधिमा मनपर्दी गरेको जस्ता आरोप उनीमाथि लागेको थियो । तर, उनले ती सबै आरोप खण्डन गर्दै आएका थिए ।

पुर्जाले आफूलाई चर्चामा ल्याउने र व्यवसाय चलाउने काममा मात्र सीमित राखेनन् । सन् २०२२ मा ‘निम्स दाइ फाउन्डेसन’ स्थापना गरी हिमाली समुदायमा काम गर्ने गरी शिक्षा, वातावरण, प्रेरणामूलक अभियानका साथै विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गरे । सोही फाउन्डेसनमार्फत उनले हालैमात्र सोलुखुम्बुको लोबुचेमा भरियाका लागि ‘पोर्टर हाउस’ निर्माण गरेका थिए ।

सगरमाथा मार्गमा पर्ने समुद्र सतहदेखि पाँच हजार ३० मिटर उचाइमा अवस्थित लोबुचेमा निर्मित सो भवनका लागि उनले केही वर्षदेखि विभिन्न सङ्घसंस्था र स्थानीय तहसँग समन्वय तथा सहयोग सङ्कलन गरेका थिए । फाउन्डेसनले गत मे २७ (जेठ १३ गते) मात्र सो भवन निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको थियो । नेपाली रु छ करोडभन्दा बढी खर्च गरेर बनाइएको सो पोर्टर हाउसमा १०० भन्दा बढी भरिया सुत्न मिल्ने क्षमताको छ । हिमालमा भारी बोक्ने भरियाहरूले ठूला होटलमा बास बस्न नसक्ने र साना होटलमा समेत बेलाबेलामा ठाउँ नपाउँदा समस्या हुने गरेको देखेर निर्मल पुर्जाले सो पोर्टर हाउस निर्माण गर्ने सपना देखेका थिए ।

हिमालले आरोहीको छविलाई बढाउँछ तर केही आरोहीले हिमाललाई नै नयाँ अर्थ दिन्छन् । निम्स दाइ त्यहीमध्येका एक दुर्लभ प्रतिनिधि हुन्, जसले विश्वलाई एउटा साधारण सन्देश दिएर गए, त्यो हो ‘साहस र दृढ इच्छाशक्ति भए असम्भव शब्द केवल एउटा सोच मात्र हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू