शनिबार, १ अगस्ट, २०२६
09:08 | १३:५३

सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर गर्ने तयारी

नेपाली लिङ्क अगस्ट १, २०२६

एनएनए यूके अध्यक्ष रश्मिता दर्लामी

लन्डन– नेपालमा सेरिब्रल पाल्सी भएका बालबालिकाको हेरचाह गर्दै आएको संस्था ‘सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी’ को सहयोगार्थ नेप्लिज नर्सिङ्ग एसोसिएसन यूके (एनएनए यूके) ले एक च्यारिटी डिनरको तयारी गरेको छ ।

आउँदो २३ अगष्ट आइतबार अल्डरशटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजना गर्न लागिएको उक्त च्यारिटी डिनरमा सांस्कृतिक कार्यक्रम, डिजे, राफल र मौलिक नेपाली खाना व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

‘नेप्लिज नर्सिङ्ग एसोसिएसन यूकेले आफ्नो स्थापनाकालदेखि नै नेपालको स्वास्थ्य क्षेत्रमा सघाउँदै आएको छ। यसै सिलसिलामा सेरिब्रल पाल्सी भएका बालबालिकाको सहयोगार्थ हामीले यो च्यारिटी डिनर आयोजना गर्न लागेका हौँ। यो मानवीय कार्यमा सक्दो सहयोग गर्न हामी बेलायतस्थित सबै संघसंस्था तथा महानुभावहरुलाई आग्रह गर्दछौं’, एनएनए यूकेकी अध्यक्ष रश्मिता दर्लामीले भनिन्।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, अल्डरशट र फार्नबरोका मेयर पिटर कुलम, काउन्सिलर जीव बेलबासे लगायत पाहुनाहरुको विशेष उपस्थिति रहने एसोसिएसनले जनाएको छ।

च्यारिटी डिनर कार्यक्रमको गोल्ड स्पन्सरमा होम इन्स्टेड (ग्रिनिच एण्ड बेक्स्ली) तथा गोर्खा कन्स्ट्रक्सन लिमिटेड, सिल्भर स्पन्सरमा एभरेस्ट लाउन्ज तथा बिरा केयर र ब्रन्ज स्पन्सरमा एभरेस्ट इन, नेपाल फूड, इरो सुशी, ए स्टार फाइनान्सियल सोलुसन यूके लगायत छन्। अन्य कम्पनीहरुले पनि उक्त कार्यक्रम प्रायोजन गर्न इच्छा व्यक्त गरेको दर्लामीले बताइन्।

नेप्लिज नर्सिङ्ग एसोसिएसन यूकेका पदाधिकारी, सदस्य तथा परिवारले समेत कार्यक्रम सफल पार्न निकै मेहनत गरि रहेको उनले बताइन्।

‘तपाईंको सहयोगले सेरिब्रल पाल्सी भएका बालबालिकाले स्वतन्त्र रुपमा हिड्डुल गर्न, जीवनोपयोगी सीप सिक्न, खेल्न र रमाइलो गर्न सक्ने छन्। त्यसैले सबै शुभेच्छुकलाई खुला हृदयले सहयोग गर्न हामी अनुरोध गर्दछौं’, दर्लामीले भनिन्।

नेप्लिज नर्सिङ्ग एसोसियसन यूकेले जुम्लामा मितेरी बर्दिङ सेन्टर स्थापना गरेको छ भने नेपालमा महाभूकम्प र कोभिड महामारीको बेला पनि सघाएको थियो।

यसबाहेक बेलायतका विभिन्न स्थानमा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू