शनिबार, १ अगस्ट, २०२६
13:53 | १८:३८

विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

नेपाली लिङ्क अगस्ट १, २०२६

लन्डन । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने नेपालका गौरव विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन भएको छ।

पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार एक फेसबुक पोस्टमार्फत यस हृदयविदारक खबरको आधिकारिक पुष्टि गरेको हो।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए ।

विश्वको १२औँ अग्लो हिमाल ‘ब्रड पिक’ आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरेपछि उनी ब्रड पिकतर्फ अघि बढेका थिए । तर त्यही अभियानका क्रममा आएको भीषण हिमपहिरोले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाउँदै नेपालको एक असाधारण साहसी पर्वतारोही सधैंका लागि गुमाएको छ ।

पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनको यही असाधारण यात्रामाथि आधारित ‘14 Peaks: Nothing Is Impossible’ डकुमेन्ट्रीले उनलाई विश्वभर चिनाएको थियो ।

४२ वर्षीय निर्मलको ब्रिटिश आर्मीको जागिर छाडेर आरोहणमा लागेका थिए ।

सन् २००३ मा ब्रिगेड अफ गोर्खाज् प्रवेश गरेका थिए निर्मल । सन् २००९ देखि ‘यूके स्पेशल फोर्सेस’ (स्पेशल बोट सर्भिस) को अंग बने उनी । दुई सय वर्षको गोर्खा इतिहासमा स्पेशल बोट सर्भिसमा छानिने उनी पहिलो गोर्खा हुन् ।

उनले सन् २०१२ देखिमात्र आरोहण यात्रा प्रारम्भ गरेका थिए । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिश गोर्खा पनि बनेका थिए । उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर मृत्युको काखमा पुगेका एकजना भारतीय आरोहीलाई बचाएका थिए ।

‘जि २०० इ गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनको प्रमुख भूमिका थियो । यी विभिन्न उपलब्धि र साहसले ब्रिटिश आर्मी जागिरमा उनी कलिलै उमेरमा बेलायती महारानीबाट ‘एमबीइ’ जस्तो साहसिक ब्रिटिश नेशनल अवार्ड पाउन सफल भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू