शुक्रबार, ३१ जुलाइ, २०२६
14:03 | १८:४८

लन्डन मेफेयरमा नेपाली उद्यमीले खोले फार्मेसी, युएईको शाही परिवार सदस्यले गरे उद्घाटन

प्रिमियम ब्रान्डमा नेपाली उत्पादन प्रस्तुत गर्दै रोजवुड फार्मेसी

नेपाली लिङ्क जुलाइ ३१, २०२६

लन्डन– युवा नेपाली उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी खोलेका छन्।

बिहीबार साँझ आयोजित एक विशेष समारोहमा युएईंको शाही परिवारका सदस्य शेख फैसल बिन खालिद अल कासिमीले फार्मेसीको औपचारिक उद्घाटन गरे ।

मेफेयर लन्डनको सबैभन्दा सम्पन्न र प्रतिष्ठित ठाउँमध्ये एक हो, जहाँ बोन्ड स्ट्रिट छेउमा लक्जरी किनमेल, विश्वस्तरीय होटल, उत्कृष्ट रेस्टुरेन्ट, जर्जियाली वास्तुकला र हाइड पार्क छ।

फार्मेसी उद्घाटन समारोहमा एनआरएनए आइसीसी अध्यक्ष डा. हेमराज शर्मा, एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्ट, चितवन एड ट्रस्टका अध्यक्ष राजु आचार्य, उद्यमीहरु एलएन पाण्डे, कमल पौडेल, बसन्त नेपाललगायत कयौं ब्रिटिश र नेपाली व्यवसायी एवं समुदायका प्रतिनिधिहरू उपस्थित थिए।

उनीहरुले मेफेयरमा सम्भवत पहिलो नेपालीले आफ्नो व्यवसाय शुरु गर्नु खुशी र गर्वको विषय भएको बताए। लन्डनको प्रतिष्ठित लोकेसनमा प्रिमियम ब्रान्डमा नेपाली उत्पादनहरु उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै उनीहरुले यसले नपाली उत्पादन मात्र नभइ सिंगो देशकै प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

गैरआवासीय नेपाली समुदायकै एक सदस्यले व्यवसायिक रुपमा हासिल गरेको यो सफलता सिंगो समुदायका लागि प्रोत्साहन र प्रेरणाको विषय हुने उनीहरुको धारणा थियो ।

सो अवसरमा रोजवुड फार्मेसीका प्रवन्ध निर्देशक समीर खनालले सबै अतिथिहरूलाई उनीहरूको उपस्थिति र शुभकामनाका लागि कृतज्ञता व्यक्त गरे।

उनले आफ्नो ब्रान्ड सरयूमार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरका नेपाली उत्पादनहरू प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पनि प्रकाश पारे।

सरयूले नेपालबाट प्रिमियम हिमालयन जंगली मह, यार्सा, शिलाजित जस्ता उत्पादन आयात गर्ने गर्छ ।

व्यवसायी खनालले रोजवुड फार्मेसी औषधि बिक्री गर्ने ठाउँ मात्र नभई यसले नेपाली उत्पादनहरूलाई विश्व बजारमा परिचय गराउने प्लेटफर्मको रूपमा पनि काम गर्ने जनाए। अन्य फार्मेसीमा उपलब्ध सामग्री रोजवुड फार्मेसीमा पनि समान मूल्यमा उपलब्ध छन् । तर प्रिमियम ब्रान्डका सामग्रीको भने सोहिअनुसार मूल्य निर्धारण गरिएको छ ।

अढाई दशकदेखि यस व्यवसायमा संलग्न खनाल लामो समयदेखि नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न प्रतिबद्ध छन्। अध्ययनका लागि बेलायत प्रवेश गरेका उनी आफ्नो निरन्तरको मेहनत र पेशाप्रतिको इमान्दारिताका जगमा अहिले यहाँसम्म आइपुगेका छन् ।

‘मेहनत त आवश्यक पर्छ नै, तर त्यति मात्रै भएर पुग्दैन। सहि समय र सहि ठाउँमा कडा मेहनत गरियो भने अवश्य सफल भइन्छ भन्ने मेरो सिकाइ छ’, खनालले सुनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू