बुधबार, ५ अगस्ट, २०२६
13:55 | १८:४०

लन्डनमा तीज धमाका तयारी- बद्री पंगेनी, समिक्षा र दुर्गेशले प्रस्तुति गर्दै

नेपाली लिङ्क अगस्ट ५, २०२६

लन्डन- यस वर्ष हरितालिका तीजको अवसरमा लन्डनमा विशेष सांगीतिक प्रस्तुतिसहित एक तीज धमाका हुने भएको छ।

लन्डनस्थित मिलानोयर इभेन्टसको आयोजनामा सेप्टेम्बर ११ तारिख शुक्रबार इष्ट लन्डनमा ‘तीज धमाका २०८३’ तय छ । कार्यक्रममा चर्चित गायक बद्री पंगेनी, गायिका समिक्षा अधिकारी र इन्टरटेनर दुर्गेश थापाले सांगीतिक प्रस्तुति गर्नेछन् ।

इष्ट लन्डन म्यानर पार्क स्टेसनको नजिकै (५ मिनेट पैदल दूरीमा) अवस्थित ‘द रोयल रिजेन्सी’ भेन्यूमा कार्यक्रम हुन लागेको हो। झण्डै १७ सय दर्शक क्षमताको यो भेन्यू सजावट र सुविधाका हिसाबले पनि उत्कृष्ट लागेर छनोट गरिएको आयोजक बताउँछन्।

कार्यक्रमका दिन भेन्यूमा नेपाली खाना र बार सर्भिस पनि उपलब्ध रहनेछ।

आयोजक मिलानोयर इभेन्टसले यसअघि गत अप्रिल १३ मा नेपाली नयाँ वर्षको अवसरमा लन्डन ह्याक्नीको अर्थमा आयोजना गरेको नेपहप नाइट उल्लेख्य दर्शक सहभागितासहित सफल भएको थियो । भिटेन र साकार पहिलोपटक एउटै स्टेजमा संगै उत्रिएको उक्त कार्यक्रमको सफलताबाट उत्साहित आयोजक अहिले दोस्रो इभेन्ट तयारीमा जुटिरहेका छन्।

तीज धमाकाको टिकट सहि सर्च मार्फत् अनलाइन बिक्री शुरु भइसकेको छ । आयोजक मिलानोयर इभेन्टसको इन्सटाग्राम अकाउन्ट मा उपलब्ध लिंकमा क्लिक गरेर पनि टिकट लिन सकिन्छ । टिकट शुल्क स्टयान्डिङमा ३० पाउण्ड र सिटिङमा ३५ पाउण्ड छ ।

कार्यक्रममा १२ सय दर्शक अपेक्षा गरिएको छ । भेन्यूको क्षमता अझ बढी रहेपनि दर्शकका लागि सुविधाजनक वातावरणमा गुणस्तरीय मनोरञ्जन मिलोस् भन्ने चाहना आयोजकको छ ।

तीज धमाकाको होस्टिङ सिड्नी गुरुङ र ललाना चिमोरियाले संयुक्त रुपमा गर्दैछन् ।

आयोजक ‘मिलानोयर इभेन्ट्स’ गत नोभेम्बर महिनामा स्थापना भएको हो। लुभिका रिमाल निर्देशक रहेको कम्पनीको टीममा विप्लभ रिमाल र प्रकाश रानाभाट पनि छन्।

मिलानोयर इभेन्ट्सले विभिन्न नेपाली चाडपर्वहरुको अवसरमा नेपालकै जस्तै माहोलमा मनोरञ्जन दिलाउने लक्ष्यसहित इभेन्टहरु आयोजना गर्दै जाने योजना बनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू