पूर्व विद्यार्थीहरुको निमन्त्रणामा गुरुपूर्णिमाकै दिन बेलायत

लन्डन- यस वर्षको गुरुपूर्णिमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकस्थित मेश्रम बराह स्कुलका पूर्व प्रधानाध्यापक तोयानाथ पौडेलका लागि विगतका वर्षभन्दा निकै विशेष रह्यो ।
घान्द्रुकमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान गरेका पौडेल गुपूर्णिमाकै संयोगमा बुधबार लन्डन उत्रिए। ८४ वर्षीय गुरु आफ्नी पत्नीका साथ हिथ्रो विमानस्थल आइपुग्दा स्वागतका लागि प्रतिक्षामा थिए करिब दुई दर्जन संख्यामा उनका विद्यार्थी र परिवार।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, घान्द्रुक समाज यूकेका प्रतिनिधिलगायतले पूर्व प्रअ पौडेललाई पुष्पगुच्छा र खादासहित बेलायतमा स्वागत गरे।
अहिले बेलायतमै बस्दै आएका पौडेलका करिब ८० जना पूर्व विद्यार्थीले घान्द्रुक समाज यूकेसंगको समन्वयमा उनलाई बेलायतमा आमन्त्रण गरेका हुन् । यही शनिबार आयोजना हुने समाजको वार्षिक कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन्।
‘घान्द्रुकमा शिक्षाको ज्योति फैलाउन गुरुले महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँको सोही योगदानको कदरस्वरुप सम्मान व्यक्त गर्दै पूर्व विद्यार्थीहरुको पहलमा बेलायतमा आमन्त्रण गरिएको हो’, पूर्व विद्यार्थी एवम् तमुधिं यूके सचिव विमल गुरुङले बताए
गुरुङका अनुसार घान्द्रुकको मेश्रम बराह स्कुलमा पौडेलले प्रधानाध्यापकका रुपमा १४ वर्ष सेवा गरेका थिए । जीर्ण अवस्थाको विद्यालय भवन पुननिर्माणदेखि विदेशी दाताहरुबाट सहयोग उठाएर स्कुल निर्माण गरी स्थापित गर्नसम्ममा उनको विशेष योगदान रहेको थियो।
गुरुङ बाहुल्य गाउँमा शिक्षाको महत्व बुझाएर स्कुल जानुपर्छ भन्ने भावना जगाएको श्रेय पूर्व विद्यार्थीहरुले पौडेललाई दिने गरेका छन्। घान्द्रुकमा स्कुल स्थापनादेखि कतिपय चुनौतीपूर्ण अवस्थामा समेत स्कुललाई जोगाएर, निरन्तर राख्दै स्थापित गर्नमा उनको विशेष योगदान रहेको ठानिन्छ।
आफ्ना विद्यार्थीको निम्तोमा बेलायत आइपुगको पूर्व प्रअ पौडेल झण्डै दुई साता बेलायतमै रहनेछन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


