बेलायतमा मनाइयो भीमसेन थापाको २५२औँ जन्मजयन्ती तथा बगाले थापा वार्षिक भेटघाट

लन्डन । बेलायतको मेडस्टोनमा राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्ती तथा वार्षिक बगाले थापा भेटघाट कार्यक्रम श्रद्धा, सम्मान र उत्साहका साथ सम्पन्न भएको छ।
बगाले थापा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा करिब पाँच दर्जन बगाले थापा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार एकादशी व्रत परेकाले अपेक्षाभन्दा केही कम सहभागिता भए पनि कार्यक्रम अत्यन्तै गरिमामय वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश, तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका–१ निवासी, बगाले थापा क्षत्री समाज नेपालको संस्थापक तथा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष इन्जिनियर कृष्ण बहादुर थापा रहेका थिए। उनीसँगै श्रीमती आरती थापा र नाति सायन थापाको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले राष्ट्रिय विभूति भीमसेन थापाको तस्वीरमा माल्यार्पण तथा पुष्प अर्पण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। वक्ताहरूले राष्ट्रको स्वाभिमान, एकता र सार्वभौमिकताको रक्षाका लागि भीमसेन थापाले पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको साहस, दूरदर्शी नेतृत्व, राष्ट्रप्रेम र त्याग आजका पुस्ताका लागि पनि प्रेरणाको स्रोत रहेको बताए।

यस अवसरमा बगाले थापा समाजबीच आपसी परिचय, अनुभव आदान–प्रदान तथा पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले वार्षिक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायबीच एकता, सद्भाव र आपसी सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा सम्पूर्ण बगाले थापा परिवारको सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै महान राष्ट्रनायक भीमसेन थापाप्रति उच्च सम्मान अर्पण गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


