आइतबार, २६ जुलाइ, २०२६
17:57 | २२:४२

बेलायतमा १८औं नेपाली ओपन कन्सर्ट, संगीतमा झुमे हजारौं नेपाली

नेपाली लिङ्क जुलाइ २६, २०२६

लन्डन- बेलायतको नेपाली राजधानी शहर भनेर चिनिन्छ अल्डरसट। नेपालीहरुको उल्लेख्य बसोबास रहेको त्यही अल्डरसट शहरस्थित रश्मोर एरिना शनिबार दिनभर नेपाली संगीतले गुञ्जायमान बन्यो ।

मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टको १८ औं संस्करणमा बेलायतभरबाट नेपाली संगीतप्रेमीहरु झुम्मिए। करिब तीन हजार दर्शकले कन्सर्ट हेरेको आयोजकले बताएका छन् ।

यसपटक कन्सर्टको प्रमुख आकर्षण थियो दार्जिलिङको नेपाली ब्यान्ड मन्त्र। कन्सर्टका लागि बेलायत आएको ८ सदस्यीय ब्यान्डले लाइभ म्यजिकमा गरेको आकर्षक प्रस्तुतिमा दर्शक निकै रमाए । त्यस्तै, भोइस् अफ नेपाल सिजन ७ विजेता नीता थापामगर कन्सर्टको अर्को आकर्षण थिइन् । उनले सुमधुर आवाजमा कयौं लोकप्रिय गीतहरु सुनाइन् अनि दर्शकलाई संगै नचाइन् ।

कन्सर्टमा भोइस अफ नेपाल सातौं सिजन सेकेन्ड रनर अप पुनम गुरुङ, तेस्रो सिजन सेमीफाइनालिष्ट गोविन पुन, गायिका सम्झना भण्डारी, सम्झना बुढा, रुपी सिञ्जालीका साथमा आठौं मगर गट ट्यालेन्टका विजेता एलिसा पुन र प्रतिमा पुनलगायतले मनोरञ्जनात्मक प्रस्तुति गरे ।

सांस्कृतिक प्रस्तुतिको शुरुमै कलाकारहरुको समूहले ‘यो मन त मेरो नेपाली हो…’  बोलको देशभक्तिपूर्ण गीत प्रस्तुत गरेको थियो ।

त्यसअघि प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, विशेष अतिथि स्थानीय रश्मोर बरो डेपुटी मेयर जीव बेल्वासे र मगर संघ यूके अध्यक्ष लालबहादुर पुनले रिबन काटेर कन्सर्ट उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले नेपाली ओपन कन्सर्टले बेलायतवासी सम्पूर्ण नेपालीलाई एकैठाउँमा जोडेको देख्दा प्रसन्नता व्यक्त गरे । कन्सर्टले बेलायतमै पनि नेपालमै रहेको अनुभुति गराएको भन्दै दुवाडीले कन्सर्टका माध्यमबाट बेलायतमा नेपाली संगीतसंगै कला, संस्कृति, भाषासमेतको प्रवर्द्धन भएकोमा खुशी व्यक्त गरे ।

यस्ता कार्यक्रमले बेलायत तथा नेपालबीच जनस्तरको सम्बन्ध समेत सुदृढ गर्न सहयोग पुर्याउने जनाउंदै उनले कन्सर्टको सफल आयोजनाका लागि मगर संघ यूकेलाई धन्यवाद दिए ।

विशेष अतिथि स्थानीय रश्मोर बरो उपमेयर जीव वेल्बासेले नेपाली ओपन कन्सर्टले स्थानीय नेपाली समुदायको एकता र सद्भावलाई सुदृढ गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले सामुदायिक हितका यस्ता कार्यक्रमलाई स्थानीय बरोका तर्फबाट सधै साथ, सहयोग र प्रोत्साहन रहने आश्वासन दिए ।

आयोजक मगर संघ यूके अध्यक्ष लालबहादुर पुनले संगीतमार्फत नेपाली समुदायबीच आपसी एकता र भाइचारा सुदृढ बनाउनु कन्सर्टको प्रमुख लक्ष्य रहेको बताए ।

कार्यक्रम सफल पार्न दिनरात खटिने सबै स्वयम्सेवक एवम् सिंगो कार्यसमिति, ट्रष्टी, सल्लाहकारसहित सबै सदस्यलाई धन्यवाद दिंदै अध्यक्ष पुनले सहयोगी, प्रायोजक एवम् सबै अतिथि र सहभागीप्रति पनि आभार प्रकट गरे ।

कन्सर्ट संयोजक एवम् आयोजक मगर संघ यूके उपाध्यक्ष गुमानसिंह थापाले स्वागत मन्तव्य राख्दै ‘म्यूजिक फर युनिटी’ को नारासहित सन् २००७ देखि हरेक वर्ष कन्सर्ट आयोजना गरिंदै आएको जानकारी दिए । नेपाली संगीतका स्थापित र लोकप्रिय सष्टाहरुलाई बेलायतवासी नेपालीहरुमाझ प्रस्तुत गर्ने जमर्को गरिएको भनदै उनले सबैको साथ, सहयोग र सहभागिताका लागि धन्यवाद दिए ।

औपचारिक सत्र महासचिव गोमन पुनले सञ्चालन गरे भने सांस्कृतिक सत्रको सुरुआत् संस्थाकी सांस्कृतिक संयोजक नुनु पाइजा मगरले गरिन् । कन्सर्ट सञ्चालन पवन, ममता र दुर्गाले गरे ।

कन्सर्टस्थलमा राखिएका दर्जनौं संख्याका नेपाली खाना, नेपाली पोशक, सामग्री र विभिन्न पेशा तथा व्यवसायका स्टलहरुमा पनि दर्शकहरु रमाइरहेका देखिन्थे ।

   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू