आइतबार, २६ जुलाइ, २०२६
16:53 | २१:३८

बेलायतमा पहिलो बर्मिङहम तीज मेला तयारी तीव्र, सफल पार्न आयोजक उत्साहित

नेपाली लिङ्क जुलाइ २६, २०२६

वेष्ट ब्रोमिच- बेलायतमा पहिलोपटक आयोजना हुन लागेको बर्मिङहम तीज मेलाको तयारी तीव्र रुपमा अघि बढाइएको छ।

आयोजक शान्ति नेपाली समाज बेलायतले आइतबार बर्मिङहममा एक पत्रकार सम्मेलनमार्फत् आगामी अगष्ट १० तारिख सोमबार वेष्ट ब्रोमिच कोलिगेट एकेडेमी प्रांगडमा हुने मेला सफल पार्न उत्साहित बनेर लागिपरेको जनाएको छ। एक दर्जन बढी अरु संघसंस्था सहआयोजक रहेको मेलामा मिडल्यान्डसहित सिंगो बेलायत र युरोपबाट समेत गरी तीन हजार बढी नेपालीको सहभागिता अपेक्षा गरिएको छ।

मेला व्यवस्थापन समितिका संयोजक एवम् शान्ति नेपाली समाज बेलायतका पूर्व अध्यक्ष कोश्लेश्वर ढकालले मेलामा नेपालकै जस्तै मौलिक शैलीमा तीजको नाचगानका साथै विविध सांस्कृतिक कार्यक्रम र ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति हुने जानकारी दिए।

संयोजक ढकालका अनुसार मेलामा लोकप्रिय गायिका मेलिना राई प्रमुख आकर्षण रहनेछन् । सो अवसरमा चर्चित गायकद्धय रमेशराज भट्टराई र चन्द्र शर्मा, गायिका जमुना राना र गायिका तथा प्रस्तोता शोभा त्रिपाठीलगायतले पनि प्रस्तुति गर्नेछन्।

सो अवसरमा बेलायतका विभिन्न क्षेत्रबाट आउने महिला समूह र संस्थाहरुको तर्फबाट मादल र थपडी बजाएर मौलिक तीजको नाचगान प्रस्तुत गरिनेछ।

त्यसैगरी, शान्ति नेपाली समाज बेलायतको नौमती बाजा, लाखेनाच, घोडानाच, सांस्कृतिक झाँकीलगायतका प्रस्तुति पनि मेलामा रहनेछन्। बेलायतका विभिन्न क्षेत्रबाट आउने समूहले मौलिक भजनकिर्तन प्रस्तुति समेत गर्ने तयारी छ।

मेलाका अवसरमा मनोरञ्जनका लागि पत्नी बोक्ने, चम्चा दौड, घैंटो फोर्नेलगायतका रमाइला खेलहरु पनि सञ्चालन गरिनेछ । त्यस्तै, बालबालिकाको लागि फेस पेन्टिङ, बाउन्सी क्यासल, फोटोबुथ लगायतका आकर्षण पनि रहनेछन्। मेलास्थलमा नेपाली खानाका आधा दर्जन स्टलसहित विभिन्न व्यापार र सेवाका गरी जम्मा एक दर्जन बढी स्टल राखिनेछ।

त्यसअवसरमा बेलायतभरका एक दर्जन टीमको सहभागितामा खुला भलिबल प्रतियोगिता गराइंदैछ। जसका विजेताले १ हजार ६ सय पाउण्ड र उपविजेताले १ हजार पाउण्ड नगदसहित ट्रफी, मेडल, प्रमाणपत्रसहितको पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, बालबालिकाको फुटबल पनि खेलाइंदैछ।

मेलाको उद्घाटनका क्रममा स्थानीय पशुपतिनाथ मन्दिरका पण्डित ईश्वरी शर्मालगायतबाट स्वस्तिवाचन गर्ने कार्यक्रम छ ।

समाजका महासचिव राजेशमणि लामिछानेका अनुसार मेलामा स्थानीय सांसद सेरा कम्बस, बर्मिङहमका लर्ड मेयरसहित स्थानीय मेयरहरु, काउन्सिलरहरु, नेपाली मूलका काउन्सिलरहरु, बेलायतका नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिलगायतलाई अतिथिका रुपमा निम्त्याइएको छ। उनले मेलास्थलमा सुरक्षाका लागि स्थानीय प्रहरी तथा फायर ब्रिगेड लगायतका निकायसंग समन्वय गरिएको र प्राथमिक उपचारका लागि एनएचएसको क्याम्प राख्ने पहल भइरहेको जानकारी दिए।

नेपालका मौलिक चाडपर्व, परम्परा, कला, संस्कृति समुल रुपमा जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै मेलाको प्रमुख लक्ष्य रहेको महासचिव लामिछानेले बताए ।बेलायतमा हुने नेपाली कार्यक्रमहरुको मानक र मिथक परिवर्तन गर्ने गरी आयोजना गर्न लागिएको मेलाले नेपाली संस्कृतिलाई बेलायतको माटोसंग जोड्ने दाबी उनको छ ।

आयोजक समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले मेलाका लागि आर्थिकसहित सबै खालका सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुप्रति संस्थाका तर्फबाट आभार प्रकट गरे ।

बेलायतको सिंगो नेपाली समुदायलाई समेट्ने प्रयास गरिएको भन्दै उनले सबैलाई सहभागिताको लागि अपील गरे । विशेषतः महिलाहरुको पावन पर्व रहेकाले बेलायतभरका नेपाली महिलाहरुलाई सहभागिताको लागि अध्यक्ष न्यौपानेले विशेष आग्रह गरे।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय प्रवक्ता सोम सापकोटाले मेलाले नेपालीबीचमा मात्र नभइ गैरनेपाली समुदायसमेतमा नेपाली संस्कृति र सिंगो नेपालकै प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । नेपाली संस्कृति र पहिचानलाई बेलायतमा स्थापित गर्न र दोस्रो पुस्तासम्म हस्तान्तरण गर्न मेला सफल हुने शुभेच्छा उनले प्रकट गरे।

सो अवसरमा समाजका पूर्व अध्यक्ष प्रविण खरालले मेलामा प्रमुख आकर्षणका रुपमा प्रस्तुत हुने नेपालका ख्यातिप्राप्त कलाकारहरु तथा विविध सांस्कृतिक कार्यक्रमहरुबारे जानकारी गराए। मेलाका आर्थिक संयोजक एवम् समाजका पूर्व अध्यक्ष लीलाबहादुर थापाले आर्थिक चन्दा भन्दा पनि मेलाको उद्धेश्य प्राप्तिका लागि लगानीका रुपमा आर्थिक संकलन गरिएको जानकारी दिए ।

समाजका सल्लाहकार एवम् मेला व्यवस्थापन समितिका सचिवद्धय तारा लम्साल र शंकर भण्डारीले मेलाका प्रस्तुति एवम् व्यवस्थापनका विविध पक्षबारे जानकारी गराए।

समाजकी सांस्कृतिक संयोजक सीता घिमिरे पौडेलले बेलायतमा पहिलोपटक आयोजना हुन लागेको तीज मेलामा सहभागी हुन बेलायतभरका नेपाली महिलाहरुलाई आव्हान गरिन् । मेलामा सहभागी भएर प्रस्तुति गर्न इच्छुक संस्था र समूहलाई उनले आयोजक टीमलाई सम्पर्क गर्न आग्रह गरिन् ।

मेला प्रायोजनका लागि पाँच सय पाउण्डको प्लाटिनम, तीन सय पाउण्डको गोल्ड तथा दुई सय पाउण्डको सिल्भर स्पोन्सर बन्न सकिनेछ । स्टलका लागि तीन सय पाउण्ड लाग्नेछ । प्रायोजन तथा स्टकल बुकिङका लागि अझै पनि केही स्थान बाँकी रहेकाले यथाशिघ्र आयोजकलाई सम्पर्क गर्न आव्हान गरिएको छ ।

पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष निशान्तमान बज्राचार्य, कोषाध्यक्ष काशी बन, गीता लम्साल, मीना न्यौपाने, ठाकुर ज्ञवाली, शान्ता ज्ञवालीसहितका समाजका अरु पदाधिकारी एवम् सदस्यहरुले पनि पहिलो बर्मिङहम तीज मेलालाई सफल पार्न सबैको साथ, सहयोग र सहभागिताको लागि अपलि गरेका थिए।

बिहान १० बजेदेखि बेलुका ८ बजेसम्मका लागि तय मेलामा प्रवेश निशुल्क छ। खुला चौरमा विविध नेपाली सांस्कृतिक कार्यक्रम, विभिन्न खेलकुद, मनोरञ्जन र नेपाली खाना तथा व्यापारका स्टलसहित हुन लागेको पहिलो बर्मिङहम तीज मेलामा आउन र रमाउन आयोजकले सबैलाई आव्हान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू