शनिबार, २५ जुलाइ, २०२६
21:29 | ०२:१४

नेपाली मेला तयारीबारे दूतावास र तमुधिं यूकेबीच छलफल, झनै भव्य बनाउने अठोट

नेपाली लिङ्क जुलाइ २५, २०२६

लन्डन- आगामी अगष्ट ३० तारिख आइतबार लन्डनमा आयोजना हुने १७ औं नेपाली मेलाको तयारीबारे लन्डनस्थित नेपाली दूतावासमा छलफल भएको छ।

शुक्रबार अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गएको मेला आयोजक तमुधिं यूके टीम र कार्यवाहक राजदूतसहितको दूतावास टीमबीच मेला तयारी सम्बन्धमा विविध विषयमा छलफल भएको हो।

सो अवसरमा मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले एक पावरपोइन्ट प्रिजेन्टेसन गर्दै तयारीका कार्यहरुको अपडेट गराए । उनले हालसम्म भएका काम साथै अब हुने तयारीका योजनासम्मको जानकारी गराए ।

संयोजक गुरुङले तमुधिं यूकेले गर्दै आएका गतिविधि र नेपाली मेलाको विगतदेखि वर्तमानसम्मको यात्राबारे पनि जानकारी प्रस्तुत गरे ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला आयोजनाका क्रममा लन्डन दूतावास र तमुधिं यूकेबीच लामो समयदेखि हुंदै आएको निकट सहकार्य निरन्तर र थप सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।

आयोजकका रुपमा तमुधिं यूकेले नेपाली मेलालाई क्रमश व्यापक र बिस्तार गर्दै जान प्रयास गर्ने जनाउँदै अध्यक्ष गुरुङले दूतावासबाट सोहिअनुसार साथ र मार्गदर्शन अपेक्षा रहने बताए ।

त्यस अवसरमा कार्यवाहक राजदूत विपिन दुवाडीले मेलाको पूर्ण सफलताको लागि दूतावासको सक्रिय सहभागिता र सहयोग रहने आश्वासन दिए ।

उनले सहआयोजकका रुपमा दूतावास मेलामा अतिथि भन्दा पनि आयोजककै भूमिकामै रहने स्पष्ट बनाए ।

मेलामा नेपालीहरुको साथै गैरनेपाली समुदायको सहभागिता बढाउनका लागि समेत अब कोशिस गर्नुपर्ने धारणा दुवाडीले व्यक्त गरे ।

महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

दूतावाससंगको बैठकका लागि तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ र हित काजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहितका पदाधिकारीहरु दूतावास पुगेका थिए ।

तमुधिं यूकेले नेपाली दूतावाससमेतको सहकार्यमा सन् २००९ देखि वर्षेनी गर्दै आएको मेलाको यस वर्ष १७ औं संस्करण हो । मेलामा उत्कृष्ट सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुति गर्ने टीमलाई दूतावासको प्रायोजनमा एम्बासडर कप प्रदान गरिने गरेको छ ।

एम्बासडरकपको राशी ११ सय पाउण्डबाट बढाएर यसपटक १५ सय पाउण्ड बनाइने भएको छ भने एनआरएनए कप पनि तीन सय पाउण्डबाट बढाएर ५ सय पाउण्ड बनाइंदैछ ।

मेलामा यस वर्ष चार दर्जन संघसंस्था र समूहका सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् ।

त्यस्तै, नेपाली खाना, नेपाली सामग्री र लत्ताकपडादेखि विभिन्न व्यापार, व्यवसाय र सेवाका एक सय बढी स्टलहरु मेलास्थलमा रहनेछन् ।

तस्विर: मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू