खरेल (खराल) परिवार यूकेको वार्षिक भेला, चुनियो नयाँ नेतृत्व
गोविन्द खरेल संयोजक, पदमलाल खरेल सचिव चयन

लन्डन- बेलायतमा बसोबास गर्दै आएका खरेल (खराल) हरुको संस्था ‘खरेल (खराल) परिवार यूके’ ले नयाँ नेतृत्व चयन गरेको छ। सोमबार लिभरपुलमा सम्पन्न समाजको वार्षिक भेलाले गोविन्द खरेल (नटिङ्घम) लाई संयोजक तथा पदमलाल खरेल (स्कटल्यान्ड) लाई सचिवको जिम्मेवारी प्रदान गरेको हो।
संयोजकमा चयन भएका गोविन्द खरेल एनआरएनए यूकेमा महासचिव र उपाध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका सामाजिक अभियन्ता हुन्। उनले नेपाली समाज नटिङ्घममा समेत नेतृत्व गरिसकेका छन्। त्यसैगरी, सचिवको जिम्मेवारी प्राप्त गरेका पदमलाल खरेल पनि स्कटल्यान्डका सक्रिय सामाजिक अभियन्ता हुन्। विभिन्न संस्थामा आबद्ध उनी हाल एनआरएनए स्कटल्यान्डका कोषाध्यक्ष समेत रहेका छन्।
भेलाले आगामी सोमबार जुममार्फत बस्ने भर्चुअल बैठकबाट स्कटल्यान्ड र लन्डनका लागि क्षेत्रीय संयोजक चयन गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै, भेलामा बेलायतभरका लागि केन्द्र पर्ने क्षेत्र रोजेर कुलको मन्दिर स्थापना गर्ने र सोही मन्दिरमा हरेक वर्ष कुलपूजा आयोजना गर्ने विषयमा छलफल भएको छ ।
समाजका निवर्तमान संयोजक नेत्र खरेलको अध्यक्षतामा सम्पन्न भेलामा बेलायतभरका २ सय भन्दा बढी सदस्यको सहभागिता रहेको थियो। स्कटल्यान्ड, लन्डन, मिडल्यान्ड लगायत विभिन्न क्षेत्रबाट सहभागीहरू कार्यक्रममा भेला भएका थिए।
नेपालबाट आएका ज्येष्ठ नागरिकहरुले कुलदेवी कालिकाको आरती गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। निवर्तमान संयोजक नेत्र खरेलले सहभागी सबैलाई स्वागत गरेका थिए।
सो अवसरमा निवर्तमान संयोजक नेत्र खरेल र सचिव गोविन्द खरेलको संयोजनमा तयार गरिएको समाजको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको थियो। वेबसाइटमा समाजका सदस्यहरूको नाम, सम्पर्क विवरण, पारिवारिक जानकारी, खलक तथा बगालसम्बन्धी विवरण समावेश गरिएको छ।
भेलामा विभिन्न क्षेत्रबाट आएका सहभागीहरूले आफ्नो परिचय प्रस्तुत गर्दै आफ्नो बगाल तथा पारिवारिक पृष्ठभूमिबारे जानकारी आदानप्रदान गरेका थिए। सो अवसरमा स्कटल्यान्ड ग्लास्गोबाट आएको समूहले नेपाली मौलिक सांस्कृतिक नृत्यहरुको प्रस्तुति गरेको थियो। उच्च शिक्षा (डिग्री) पूरा गरेका समाजका युवा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन पदमलाल खरेलले गरेका थिए ।
बेलायतमा बस्ने खरेल (खराल) हरुलाई संगठित गर्दै सन् २०१७ मा समाज स्थापना गरिएको हो। समाजले बेलायतमा हुर्किंदै गरेको नयाँ पुस्तालाई रक्तसम्बन्ध, वंशीय नाता तथा कुल परम्पराबारे जानकारी गराउने लक्ष्य राखेको छ।
सम्बन्धित सामग्रीहरू
लन्डनमा अगष्ट २ मा दोस्रो ‘माया टी–१०’, गुल्सनसहित आधा दर्जन राष्ट्रिय खेलाडी आउँदै
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


