बिहीबार, २३ जुलाइ, २०२६
11:55 | १६:४०

लन्डनमा अगष्ट २ मा दोस्रो ‘माया टी–१०’, गुल्सनसहित आधा दर्जन राष्ट्रिय खेलाडी आउँदै

नेपाली लिङ्क जुलाइ २३, २०२६

लन्डन– बेलायतमा रहेका नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बन्दै गएको ‘माया टी–१० क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करण आगामी अगष्ट २ तारिख आइतबार लन्डनमा सञ्चालन हुंदैछ।

माया इभेन्टसको आयोजनामा पश्चिम लन्डनको वेकम्ब हाउस क्रिकेट क्लबको मैदानमा तय प्रतियोगिता यस वर्ष झनै भव्य, व्यवस्थित र आकर्षक बनाउने तयारी भइरहेको छ।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर गुल्सन झा आउने भएका छन्। उनी माया क्रिकेट क्लब तथा माया टी–१० प्रतियोगिताका ब्राण्ड एम्बासडरका रूपमा आउने भएका हुन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका खेलाडी भीम सार्की माया क्रिकेट क्लबबाट मैदान उत्रिनेछन्। यसअघि नै बेलायतमा रहेका राष्ट्रिय टोलीका खेलाडी अर्जुन साउद र रिजन ढकालले पनि माया क्रिकेट क्लबबाट प्रतिस्पर्धा खेल्दैछन्। त्यसैगरी, राष्ट्रिय टोलीका इशान पाण्डे र विनोद भण्डारी एभरेस्ट राइनोजबाट खेल्ने तय भएको छ।

नेपालका आधा दर्जनभन्दा बढी राष्ट्रिय क्रिकेट खेलाडीको सहभागिताले यस वर्षको माया टी–१० लाई झनै विशेष बनाउने अपेक्षा छ।

आयोजकका माया इभेन्टस  एवम् माया क्रिकेट क्लबका संस्थापक राज पाण्डेका अनुसार प्रतियोगिताले बेलायतमा रहेका नेपाली मूलका युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने, सिक्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

यसपटक प्रतियोगितामा गौतमबुद्ध क्रिकेट क्लब, एभरेस्ट राइनोज, माया क्रिकेट क्लब, साथी क्रिकेट क्लब, गोर्खा केन्ट क्रिकेट क्लब र मिडल्यान्ड्स वारियर्स क्लब गरी बेलायतभरका छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

टोली दर्ताका लागि तोकिएको जुलाई १ सम्मको समयसीमाभित्र छ टोली दर्ता भएका थिए। समयसीमा सकिएपछि थप तीन टोलीले सहभागिताका लागि इच्छा देखाए पनि आयोजकले पूर्वनिर्धारित नियमलाई कडाइका साथ पालना गर्दै दर्ता भएका छ टोलीलाई मात्र प्रतियोगितामा सहभागी गराउने निर्णय गरिएको जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ३ हजार पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ। जुन बेलायतमा नेपाली समुदायबीच आयोजना हुने क्रिकेट प्रतियोगितामध्ये हालसम्मकै सबैभन्दा ठूलो र आकर्षक पुरस्कार राशी हो ।ठूलो पुरस्कार राशि, राष्ट्रिय खेलाडीहरूको सहभागिता र प्रतिस्पर्धात्मक टोलीहरूको सहभागिताले यस वर्षको माया टी–१० प्रतियोगिता थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

प्रतियोगितास्थलमा नेपाली खानाका साथै विभिन्न मनोरञ्जन कार्यक्रम तथा बालबालिकाका लागि फेस पेन्टिङ, बाउन्सी क्यासललगायतका आकर्षणहरू पनि रहनेछन्।

माया इभेन्ट्स संस्थापक डा. रक्षा थापाले यस वर्षको प्रतियोगितालाई अझ भव्य, विशेष र गुणस्तरीय बनाउने तयारी गरिएको बताइन्।
थापाले बेलायतवासी क्रिकेटप्रेमी नेपालीहरुलाई निम्तो गर्दै भनिन्, ‘प्रवेश निशुल्क छ । नेपालका स्टार खेलाडीलाई समेत भेट्ने र उनीहरुको प्रतिस्पर्धात्मक खेल हेर्ने अवसर छ । सबैजना आउनुहुनेछ भन्ने आशा लिएका छौं ।’

गत वर्षको सफल आयोजनापछि दोस्रो संस्करणका रूपमा हुन लागेको माया टी–१० ले बेलायतस्थित नेपाली समुदायमा क्रिकेटको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि थप योगदान पु¥याउने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू