मंगलबार, २१ जुलाइ, २०२६
11:18 | १६:०३

तमुधिं यूके आमा समूहले च्यारिटी दौडमार्फत् क्यान्सर रिसर्च यूकेलाई जुटायो ३५ सय पाउण्ड

सेभेन सिस्टर्स समूहबाट १ हजार ८ सय ५४ पाउण्ड सहयोग

नेपाली लिङ्क जुलाइ २०, २०२६

लन्डन- तमुधिं यूके आमा समूहका सदस्यहरु यस वर्ष पनि रेस फर लाइफ च्यारिटी दौडमा सहभागी भएका छन्। शनिबार गिल्फोर्ड स्टोर्क पार्कमा सम्पन्न च्यारिटी दौडमा समूहकी अध्यक्ष कमलादेवी गुरुङको नेतृत्वमा ४४ सदस्य सहभागी भएका थिए।

च्यारिटी दौडमार्फत् समूहले यस वर्ष पनि क्यान्सर रिसर्च यूकेलाई आर्थिक सहयोग जुटाएको छ। समूहले संकलन गरेको रकममध्ये ३५ सय पाउण्ड शनिबार नै क्यान्सर रिसर्च यूकेलाई हस्तान्तरण गरिएको छ।

समूहकी अध्यक्ष कमलादेवी गुरुङ लगायतका पदाधिकारीले क्यान्सर रिसर्च यूकेका प्रतिनिधिलाई सहयोग चेक हस्तान्तरण गरेका हुन्।

समूहले संकलन गरेको कोषमध्ये बाँकी १ हजार ६ सय ९२ पाउण्ड संस्थाको खातामै राखिएको छ। जुन रकम पछि नेपालमा विभिन्न परोपकारी कार्यमा सहयोग गर्ने समूहको योजना छ।

समूहको यो च्यारिटी अभियानमा यस वर्ष सेभेन सिस्टर्स समूहका दिदीबहिनीले पनि उल्लेखनीय सहयोग गरेका थिए। उक्त समूहले १ हजार ८ सय ५४ पाउण्ड (गिफ्ट एडसहित) को सहयोग जुटाएको थियो। सेभेन सिस्टर्स समूहमा पार्वती गुरुङ, कमला गुरुङ (साउथ इष्ट तमुधिं आमा समूह पूर्व अध्यक्ष), विष्णु गुरुङ, कमला गुरुङ (साउथ इष्ट तमुधिं पूर्व कोषाध्यक्ष), लक्ष्मी गुरुङ, तारा गुरुङ र कमला गुरुङ छन्।

तमुधिं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङले च्यारिटी दौडमा सहभागी तथा यस अभियानमा आर्थिक सहयोग गर्ने सेभेन सिस्टर्स समूहसहित सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले पनि आमा समूहले च्यारिटी दौडमार्फत् उदाहरणीय परोपकारी कार्य गरेको भन्दै समूहको प्रशंसा गरेका छन्। दौडमा सहभागी सदस्यहरुलाई शुभकामना दिन दौडस्थलमै पुगेका अध्यक्ष गुरुङले आमा समूहले सिंगो संस्थाकै प्रतिष्ठा बढाउन योगदान गरेको बताए।

तमुधिं यूके आमा समूह विगत १३ वर्षदेखि रेस फर लाइफ च्यारिटी दौडमा सहभागी भएर क्यान्सर रिसर्च यूकेलाई सहयोग गर्दै आएको छ। आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङको कार्यकालमा पहिलोपटक यो च्यारिटी अभियानमा भएको समूहको सहभागिता त्यसयता हरेक वर्ष निरन्तर छ।

तस्वीर-मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू