मंगलबार, २१ जुलाइ, २०२६
11:51 | १६:३६

मिडल्यान्ड नेपाली मेला तयारी अन्तिम चरणमा, चर्चित कलाकारसहित अरु थुप्रै आकर्षण

नेपाली लिङ्क जुलाइ २०, २०२६

लन्डन- यही जुलाइ २७ तारिख सोमबार नटिङहममा आयोजना हुने चौंथो मिडल्यान्ड नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाली समाज नटिङहमको आयोजनामा स्थानीय मेलबर्न पार्कमा सञ्चालन हुने मेलालाई थुप्रै आकर्षणहरुसहित बृहद र भव्य बनाउने गरी अहिले फाइनल तयारी भइरहेको आयोजकले जनाएको छ।

मेलाको संयोजन समेत गरिरहेका नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारीले मेलामा प्रस्तुति गर्ने कलाकारहरुको टुंगो लागेको जानकारी दिए ।

उनका अनुसार नेपालबाट आएका चर्चित एवम् लोकप्रिय गायकहरु विष्णु खत्री र रमेशराज भट्टराई, गायिकाहरु अस्मिता डल्लाकोटी र सपना रोका, गायक रविन अधिकारीलगायतले मेलामा सांगीतिक प्रस्तुति दिने भएका छन्।

मेलामा ८ देखि १४ वर्ष, १५ देखि ३५ वर्ष र ३६ वर्षमाथि गरी विभिन्न तीन समूहमा ५ सय मिटर पार्क रन सञ्चालन गरिंदैछ । त्यस्तै, मेलास्थलमा ७ ए साइड फुटबल र बालबालिकाको फुटबल पनि खेलाइंदैछ।

मेलामा अर्को आकर्षण बेलायतभरबाट आउने टीमहरुको सहभागितामा भलिबल प्रतियोगिता रहनेछ । मेलामा सहभागीहरुमाझ आकर्षक पुरस्कारहरुसहितको ‘राफल ड्र’ पनि गराइनेछ।

मौलिक नेपाली कला,संस्कृति प्रवर्द्धनका लागि मेलामा विविध सांस्कृतिक प्रस्तुति रहनेछन् । नौमती बाजा, थपडी र मादल बजाएर तीज गीतमा मौलिक नाचगान, भजनकिर्तन, लाखेनाचसहितका सांस्कृतिक आकर्षण मेलामा हुनेछन्। त्यसैगरी, मनोरञ्जनका लागि कबड्डी, घैंटो फोर्नेदेखि पत्नी बोक्नेसम्मका रमाइला खेलहरु पनि सञ्चालन गरिनेछ।

मेलास्थलमा दर्जनौं व्यापारिक स्टलहरु रहनेछन् जसमा नेपाली खानादेखि नेपाली पोशाक र सामग्री तथा विभिन्न व्यापार र सेवाका स्टलहरु समावेश छन्।

मेलामा स्टल राख्न चाहने व्यवसायहरुका लागि अझै पनि केही स्टल उपलब्ध रहेकाले यथासक्य चाँडो आयोजकलाई सम्पर्क गर्न आव्हान गरिएको छ।

मेलामा मिडल्यान्ड र लन्डनसहित बेलायतका अन्य क्षेत्रबाट समेत करिब ५ हजार नेपाली सहभागी हुने अपेक्षा आयोजकले राखेका छन्। स्थानीय सांसद एलेक्स नोरिस, बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलगायतका विशिष्ट अतिथिहरुको पनि सहभागिता रहनेछ।

नेपाली समाज नटिङहम आयोजक रहेको मेलाका लागि मिडल्यान्डका एक दर्जन नेपाली संघसंस्थाको सहकार्य छ।

मौलिक नेपाली कला, संस्कृति, भाषा र परम्पराको प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने र बेलायतमा पनि नेपालीपन जीवित राख्ने मेलाको प्रमुख उद्धेश्य छ । बेलायतको नेपाली समुदायमा एकता र सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा मनाउने लक्ष्य राखिएको मेलामा मिडल्यान्डबाट मात्र नभइ सिंगो बेलायतभरबाट सहभागिता रहने अपेक्षा आयोजकको छ।

मध्यान्ह १२ बजे शुरु हुने मेला बेलुका ९ बजे समापन हुने तालिका छ। मेलामा प्रवेश निशुल्क छ। पार्किङका लागि ५ पाउण्ड शुल्क लाग्नेछ।

मेलाको टाइटल स्पोन्सर स्थानीय चेरीउड स्मोक हाउस बार एण्ड ग्रील छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू