बीसीसी यूकेद्वारा अल्डरसटमा छयोखोर दुघ्येन् सम्पन्न


लन्डन- बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले अल्डरसटस्थित आफ्नै गुम्बामा गत १८ जुलाई शनिवार बौद्ध धर्मको महत्वपूर्ण पर्व छयोखोर दुघ्येन (धर्मचक्र प्रवर्तन) विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
भगवान बुद्धका चार प्रमुख कार्यमध्ये पहिलो धर्मदेशना (धर्मचक्र प्रवर्तन) को स्मरणमा मनाइने यो पर्वले बौद्ध धर्मावलम्बीका लागि विशेष महत्व राख्दछ ।
बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले पहिलो पटक भारतको सारनाथमा ‘चार आर्य सत्य’ सम्बन्धी उपदेश दिएको ऐतिहासिक अवसरको सम्झनामा विश्वभरका बौद्ध समुदायले यो पर्व मनाउने गर्दछन् ।
सोही परम्पराअनुसार बीसीसी यूकेले पनि प्रत्येक वर्ष यस पर्वलाई विशेष धार्मिक उत्सवका रूपमा मनाउँदै आएको छ ।
कार्यक्रममा अतिथि लामा गुरु लोपेन पासाङ शेर्पाले बुद्ध धर्मको आधार मानिने चार आर्य सत्यको महत्वबारे विस्तृत प्रवचन दिएका थिए ।
उनले बुद्धले सारनाथमा दिएको पहिलो धर्मदेशनाले मानव जीवन, दुःखको कारण, त्यसबाट मुक्त हुने मार्ग तथा अष्टाङ्गिक मार्गको महत्वलाई स्पष्ट रूपमा व्याख्या गरेको बताउँदै यसको समसामयिक सान्दर्भिकतामाथि प्रकाश पारे ।
सो अवसरमा बीसीसी यूकेका प्रमुख लामा खेन्पो वाङ्गचुक, खेन्पो यान्तेन, अतिथि गुरु खेन्पो घ्युर्मी र अतिथि गुरु लोपेन पासाङ शेर्पाले संयुक्त रुपमा विशेष पूजा, पाठ तथा धार्मिक अनुष्ठान सञ्चालन गर्दै विश्व शान्ति, सबै प्राणीको कल्याण तथा सुख–समृद्धिको कामना गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा अतिथि लामा गुरु लोपेन पासाङ शेर्पालाई बीसीसी यूकेका तर्फबाट अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख शारदा गुरुङले फूल, मायाको चिनो र खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष हर्क गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा प्रमुख शारदा गुरुङ, पूर्व आमा प्रमुख जगना गुरुङसहित आमा समूह, शेर्पा एसोसिएसन यूकेका पदाधिकारीहरू तथा बेलायतका विभिन्न स्थानबाट आएका ठूलो संख्यामा बौद्ध धर्मावलम्बी श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा भक्तजनहरूको सुविधाका लागि जलपान तथा भोजनको व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागी श्रद्धालुहरूले गुम्बाको धार्मिक तथा सामाजिक गतिविधिका लागि स्वेच्छिक दानसमेत अर्पण गरेका थिए ।
बीसीसी यूकेका अध्यक्ष आङदावा शेर्पाको अध्यक्षता र बीसीसी यूके सहकोषाध्यक्ष तथा शेर्पा एसोसिएसन यूके अध्यक्ष रिन्जी शेर्पाको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ (एमभिओ) ले सञ्चालन गरेका थिए ।
बीसीसी यूकेले छयोखोर दुघ्येनलाई आफ्नो वार्षिक धार्मिक क्यालेन्डरको प्रमुख उत्सवका रूपमा निरन्तर मनाउँदै आएको छ ।
-पूर्ण गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


