मंगलबार, २१ जुलाइ, २०२६
00:36 | ०५:२१

बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट तीनै पुस्ता दीक्षित

नेपाली लिङ्क जुलाइ १९, २०२६

तेजसको दीक्षान्त समारोहमा बधाई ज्ञापन गर्न पुगेका आफन्तजन लगायत

लन्डन । नेपाली सेनाको इतिहासमा एउटा ऐतिहासिक संयोग जुरेको छ । हजुरबुबा, बुबा र छोरा गरी तीनै पुस्ता बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट दीक्षित भएका हुन् ।

‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ मा १८ जुलाई शनिबार ‘कमिस्निङ कोर्स सर्ट २६२’ पूरा गरेका अधिकृतहरुको दीक्षान्त समारोह सम्पन्न भयो, जसमा ७४ जना नवनियुक्त अधिकृतहरुले सफलताको उत्सव मनाए । तिमध्ये एक थिए- नेपाली सेनाका उत्कृष्ट अधिकृत लेफ्टिनेन्ट तेजस जङ्ग थापा, जसले नेपालबाट स्यान्डहर्स्टमा दीक्षित हुने तेस्रो पुस्ताको पहिलो अधिकृत बनेर इतिहास रचे ।
‘मेरो मार्गदर्शक र प्रेरणाका श्रोत बुबा, हजुरबुबाको साथमा दीक्षित हुन पाउंदा निकै खुशी छु, यसले पेशाप्रति थप गर्व तुल्याएको छ’, तेजसले भने । शनिबार आयोजित छोराको दीक्षान्त समारोहमा हजुरबुबा र बुबा समेत उपस्थित थिए ।
लेफ्टिनेन्ट थापाको पारिवारिक पृष्ठभूमि सैनिक परम्परासँग गहिरो गरी जोडिएको छ। उनका हजुरबुबा (बुबातर्फ), अवकाशप्राप्त ब्रिगेडियर जनरल तेजेन्द्र जङ्ग थापा र अर्का हजुरबुबा (आमातर्फ), स्वर्गीय लेफ्टिनेन्ट कर्णेल प्रवल शम्शेर राणा सन् १९६० देखि १९६२ को अवधिमा स्यान्डहर्स्टमा सँगै तालिम लिने सहपाठी थिए।
यस प्रतिष्ठित संस्थामा उनीहरूले सँगै हासिल गरेको अनुभवले परिवारभित्र उत्कृष्टताको जग बसाल्यो। यसका साथै, लेफ्टिनेन्ट थापाका बुबा मेजर जनरल अनुप जङ्ग थापाले पनि सन् १९९० देखि १९९१ सम्म स्यान्डहर्स्टमा तालिम लिई यस विरासतलाई अझ सुदृढ बनाए ।

हजुरबुबा अवकाशप्राप्त ब्रिगेडियर जनरल तेजेन्द्र जङ्ग थापासहित नेपाली र ब्रिटिश सेनाका साथ राजा महेन्द्र र रानी

लेफ्टिनेन्ट थापाका बाजे स्यान्डहर्स्टबाट दीक्षित हुंदा महेन्द्र सरकार र रत्न सरकारको समुपस्थिति थियो भने बुबा मेजर जनरल अनुप जङ्गको तालिम दौरान रानी एलिजावेथ द्धितियको भ्रमण भएको थियो ।

पुस्तान्तरण हुँदै आएको यो सम्बन्धले सैन्य सेवाप्रतिको गहिरो पारिवारिक प्रतिबद्धतालाई मात्र नभई नेपाली सेना र बेलायती सेनाबीचको लामो समयदेखिको सम्बन्धलाई समेत उजागर गरेको छ ।
रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टलाई विश्वभरि नै सैनिक अधिकृत तालिमका लागि एक उत्कृष्ट संस्थाका रूपमा लिइन्छ, जसले विभिन्न राष्ट्रहरूका आकांक्षी नेतृत्वकर्ताहरूलाई आकर्षित गर्दै आएको छ ।
नेपालले सन् १९५२ देखि नै स्यान्डहर्स्टमा क्याडेटहरू पठाउँदै आएको छ । सुरुवाती चरणमा वार्षिक दुई जना क्याडेट त्यहाँ पठाइन्थ्यो । यस वर्ष अगष्ट र डिसेम्बरमा पनि दुई अधिकृत कमिस्निङ हुन लागेका छन् ।
पछिल्ला दशकहरुमा नेपाली सेनाका अधिकृतहरूले यस एकेडेमीमा उत्कृष्ट प्रतिष्ठा कमाएका छन्। उनीहरू प्रायः आफ्नो समर्पण, नेतृत्व क्षमता र शैक्षिक दक्षताका कारण विशिष्ट रूपमा चिनिन्छन्, जसले गर्दा उनीहरूले आफ्ना सहपाठी तथा प्रशिक्षकहरूबाट सम्मान र प्रशंसा प्राप्त गरेका छन्।

दीक्षित भएपछि बुबा र हजुरबुबाको साथमा तेजस

बुबा मेजर जनरल अनुप जङ्ग थापाको प्रशिक्षणका क्रममा रानी एलिजावेशको भ्रमण भएको थियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू