बेलायतको कञ्जरभेटिभ पार्टीमा क्षेत्रीय कमिटीको अध्यक्ष चुनिए लिङ्देन


लन्डन- बेलायतको नेपाली समुदायमा समेत सक्रिय सामाजिक अभियन्ता ईन्द्रहाङ लिङ्देन यहाँको प्रमुख विपक्षी कञ्जरभेटिभ दलको निर्वाचन क्षेत्र स्तरीय नेतृत्वमा चुनिएका छन् ।
कञ्जरभेटिभ पार्टीको लन्डन फेल्थाम एण्ड हेस्टन निर्वाचन क्षेत्र कमिटीमा लिङ्देन अध्यक्ष निर्वाचित भएका हुन् ।
गतसाता सम्पन्न कमिटीको अधिवेशनले आफूलाई एक वर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको लिङ्देनले जानकारी दिए।
गत वर्ष सम्पन्न अधिवेशनमा निर्वाचित भएर पहिलोपटक उक्त कमिटीको अध्यक्ष चुनिएका उनी अहिले दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन् ।
‘अध्यक्षका रुपमा मेरो विगत एक वर्षे कार्यकाल सफल रह्यो । हालै सम्पन्न स्थानीय निर्वाचनमा देशैभर पार्टीको नतिजा निराशाजनक रहंदा पनि मैले नेतृत्व गरेको हन्सलो बरोमा भने पार्टीले पहिलोपटक ९ वटा सिट जित्न सफल भयो’, लिङ्देनले सुनाए ।
पार्टीको निर्वाचन क्षेत्र स्तरीय कमिटीको अध्यक्षका हैसियतमा लिङ्देनले उक्त क्षेत्रअन्तर्गत पर्ने ९ वटा वार्डको पार्टी नेतृत्व सम्हाल्दैछन्। ती वार्डबाट निर्वाचित हुने २६ जना काउन्सिलरको लागि पार्टीका उम्मेदवार छनोट गर्ने प्रमुख कर्तव्य र अधिकार अध्यक्षका रुपमा उनकै रहन्छ ।
त्यस्तै, सिंगो हन्सलो बरोका जम्मा ६२ जना काउन्सिलरका लागि पार्टीका उम्मेदवार छान्ने प्यानलमा समेत लिङ्देन रहन्छन्। त्यसबाहेक, सो निर्वाचन क्षेत्रको संसदीय उम्मेदवार चयन गर्ने प्रक्रियामा पनि पार्टी अध्यक्षका रुपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
नेपालमा लिङ्देनको पुर्ख्यौली ताप्लेजुङ हो भने पछिल्लो समय बसाइ झापामा छ । नेपालमा एमबीएसम्मको पढाइ पूरा गरी सन् २०१२ मा उनी अध्ययनका शिलशिलामा बेलायत आएका थिए । बेलायत आएर पनि अर्को एमबीए पूरा गरेका उनले हाल ब्रुनेल युनिभर्सिटीमा एआई एन्ड एन्ट्रपेनरसिप विषयमा पिएचडी गरिरहेको बताए ।
बेलायती राजनीतिमा भने लिङ्देनको सक्रियता सन् २०१८ देखि शुरु भएको हो।
यसअघि सन् २०२० देखि २०२१ सम्म उनले फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रीय कमिटीमा डेपुटी अध्यक्षको भूमिका निर्वाह गरेका थिए।
नेपालमै रहंदादेखि राजनीतिमा सचेत र सक्रिय थिए लिङ्देन । बेलायतमा नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिमा लामो समयदेखि क्रियाशिल उनी अहिले निर्वाचित महामन्त्री पनि हुन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


