काम र व्यक्तिगत जीवनबीच सन्तुलन राख्न गुरु एलपी भानु शर्माको सुझाव


लन्डन – जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न प्रत्येक व्यक्तिले आफ्नो खुशी, स्वास्थ्य र समृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
जीवन विज्ञान यूकेसंगको सहकार्यमा नेप्लिज नर्सिङ एसोसियसन (एनएनए) यूकेद्वारा बिहीबार आयोजित ‘वर्क–लाइफ ब्यालेन्स एण्ड इन्टरजेनरेशनल डायलग’ विषयक वेबिनारलाई सम्बोधन गर्दै उनले मानिसले जीवनमा अनेकौं भूमिका निर्वाह गर्नुपर्ने भए पनि व्यक्ति भने एउटै हुने भएकाले सबै भूमिकाको केन्द्रमा आफूलाई राख्नुपर्ने धारणा व्यक्त गरे।
उनले घर र कार्यस्थलमा फरक–फरक जिम्मेवारी भए पनि ती दुवैबीच सन्तुलन आवश्यक रहेको बताए।
काममा अत्यधिक समय खर्चिँदा परिवार र व्यक्तिगत जीवन प्रभावित हुने तथा पछि कमाएको सम्पत्ति नै बिग्रिएको स्वास्थ्य सुधार्न खर्चिनुपर्ने अवस्था आउने उनको भनाइ थियो।
शर्माले वर्क–लाइफ ब्यालेन्सका लागि कुनै निश्चित सूत्र नहुने उल्लेख गर्दै यसको सुरुआत आफ्नै जीवनबाट गर्नुपर्ने बताए। “काममा जाँदा पनि म नै हुँ, घरमा हुँदा पनि म नै हुँ। त्यसैले म आफैँ खुशी हुन सकें भने त्यो खुशी परिवार र कार्यस्थल दुवैतर्फ फैलिन्छ,” उनले भने।
उनले बाहिरी मुस्कानभन्दा भित्री, वास्तविक खुशी नै सफल जीवनको आधार भएको उल्लेख गर्दै आफू स्वस्थ, शान्त र खुशी नभएसम्म अरूलाई खुशी वा शान्ति दिन नसकिने बताए।
उनले विमानमा अक्सिजन मास्क लगाउने उदाहरण प्रस्तुत गर्दै “पहिले आफूलाई सुरक्षित बनाऊ, त्यसपछि अरूलाई सहयोग गर” भन्ने सन्देश नै जीवनमा पनि लागू हुने बताए।

जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा
गुरु शर्माले खुशी र दुःख दुवै मानिसका दैनिक बानीसँग जोडिएको बताउँदै स–साना सकारात्मक बानी विकास गर्नुपर्नेमा जोड दिए। अनावश्यक चिन्ता, झगडा र असहयोगी व्यवहारले मानिसलाई दुःखी बनाउने भएकाले खुशीका लागि पनि सचेत अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।
उनले हार्वर्ड बिजनेस रिभ्यूमा प्रकाशित एक मनोवैज्ञानिक अध्ययन उद्धृत गर्दै पहिले सफल भएपछि खुशी भइन्छ भन्ने सोच थियो, अहिले खुशी भएपछि मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष आएको बताए ।
वर्षमा कम्तीमा १५ दिनदेखि एक महिनासम्म आफ्नै खुशीका लागि छुट्याउन उनले सहभागीहरूलाई आग्रह गरे।
शर्माले प्रत्येक व्यक्तिभित्र अपार ऊर्जा लुकेको उल्लेख गर्दै नक्कली होइन, वास्तविक व्यक्तित्वका साथ जीवन र काममा उपस्थित हुनुपर्ने बताए।
“तपाईंको परिवार, कार्यस्थल र समाजले तपाईंको वास्तविक ऊर्जा खोजेको हो,” उनले भने।
उनले जीवन परिवर्तनको पहिलो कदम भनेकै आफ्नो खुशी, स्वास्थ्य र समृद्धिको जिम्मेवारी आफैंले लिनु रहेको बताए। अरूलाई दोष दिन छाडेर आफ्नो जीवनको नेतृत्व आफैंले गर्नुपर्नेमा जोड दिँदै उनले कम्तीमा ९० दिनको व्यक्तिगत योजना बनाएर सकारात्मक परिवर्तन सुरु गर्न सुझाव दिए।
दैनिक जीवनमा व्यायाम, ध्यान, प्राणायाम, सकारात्मक सोच, गुणस्तरीय समय व्यवस्थापन तथा परिवारसँग निस्वार्थ सम्बन्ध विकास गर्न सके वर्क–लाइफ ब्यालेन्स सहज बन्ने उनले बताए। जीवन परिवर्तन गर्न सबैभन्दा पहिले आफ्ना आदत परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
“जीवन बदल्न चाहनुहुन्छ भने आफ्नो आदत बदल्नुस्,” उनले भने, “खुशी, स्वास्थ्य र समृद्धिका लागि दैनिक अभ्यास आवश्यक छ। बहाना र सफलता दुवै सँगै रोज्न सकिँदैन।”
सम्बोधनका क्रममा शर्माले शारीरिक व्यायाम, ध्यान, परिवारसँग गुणस्तरीय समय बिताउने, पुस्ताबीचको संवाद बढाउने, आत्मविकासमा निरन्तर लगानी गर्ने तथा समृद्धिलाई सिक्न सकिने सीपका रूपमा लिनुपर्ने धारणा पनि राखे।
उनले सन् २०२६ लाई ‘लेभल–अप इयर’ का रूपमा अघि बढाउन सहभागीहरूलाई प्रेरित गरे।
गुरु शर्माले जीवन विज्ञानले खुशी, स्वास्थ्य र समृद्धिसम्बन्धी ज्ञान विश्वभर फैलाउने अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै बेलायतमा पनि सहभागीहरूसँग मिलेर अभ्यासमूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
नेप्लिज नर्सिङ एसोसियसन (एनएनए) यूकेकी अध्यक्ष रश्मिता दर्लामीले सबै सहभागीहरुलाई स्वागत गर्दै यूकेको व्यस्तताका माझ आफ्नो काम र जीवनबीच सन्तुलन मिलाउन र नयाँ पुस्तासंग सार्थक संवाद गर्न वेबिनार निकै उपयोगी रहेको बताइन्। उनले आफ्नो अनुभवहरु साझा गरेकोमा गुरु शर्माप्रति हार्दिक आभार व्यक्त गरिन् ।
जीवन विज्ञान यूकेकी योग प्रशिक्षक सरिता शर्माले गुरुद्वय एल पी भानु शर्मा तथा रमेश नेपालद्वारा यही २५ जुलाईदेखि ३१ जुलाईसम्म दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टिड म्यानर स्कुलमा संचालन गरिने चक्र विज्ञान तथा १ अगष्टदेखि ७ अगष्टसम्म संचालन गरिने ऐश्वर्य विज्ञान कार्यशालामा सहभागी हुन सबै मित्रहरुलाई आग्रह गरिन् ।
उक्त कार्यशालाहरु संचालन गर्न गुरुदेवद्वय यही २२ जुलाईमा अमेरिकाबाट लन्डन आइपुग्ने पनि उनले जानकारी दिइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


