यूकेमा जुलाइ २५ मा १८औं नेपाली ओपन कन्सर्ट- मन्त्र ब्यान्डसंगै चर्चित कलाकारहरुको प्रस्तुति

लन्डन- बेलायतमा आयोजना हुने वर्षकै सबैभन्दा बृहद नेपाली सांगीतिक इभेन्ट ओपन नेपाली कन्सर्टको १८औं संस्करण यही जुलाइ २५ शनिबारलाई तय छ ।
‘म्यूजिक फर युनिटी’को नारासहित मगर संघ यूकेले अल्डरसटको रश्मोर एरिनामा आयोजना गर्ने कन्सर्टको लागि अहिले अन्तिम चरणका तयारी भइरहेका छन् ।
यस वर्षको कन्सर्टमा प्रमुख आकर्षण दार्जिलिङमा आधारित लोकप्रिय नेपाली ब्यान्ड मन्त्र छ ।
कन्सर्टको अर्को आकर्षण प्रतिष्ठित गायन रियालिटी शो ‘भोइस अफ नेपाल’ सातौं सिजनकी विजेता गायिका नीता थापा मगर छन् । त्यस्तै, ‘भोइस अफ नेपाल’ सातौं सिजनकी सेकेण्ड रनर अप पुनम गुरुङ र तेस्रो सिजनका सेमीफाइनालिष्ट गोविन पुन, लोकदोहोरी गयिकाहरु सम्झना भण्डारी, सम्झना बुढा र रुपी सिञ्जालीलगायतले पनि कन्सर्टमा सांगीतिक प्रस्तुति गर्दैछन्। मगर युथले आयोजना गर्ने मगर गट ट्यालेन्ट आठौं संस्करणका विजेता एलिसा पुन र प्रतिमा पुनको प्रस्तुति पनि कन्सर्टमा रहनेछ ।
आयोजकका अनुसार दिउँसो १ बजेदेखि कन्सर्टस्थल रश्मोर एरिनाको गेट खुला हुनेछ भने दिउँसो तीन बजेपछि बेलुका साढे १० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । सांस्कृतिक प्रस्तुतिहरुबाट शुरु हुने कन्सर्ट अन्य कलाकारहरुको प्रस्तुति हुंदै अन्त्यमा प्रमुख आकर्षण मन्त्र ब्यान्डको प्रस्तुतिबाट समापन हुनेछ।
आयोजक मगर संघ यूके अध्यक्ष लालबहादुर पुनले कन्सर्टको नारा नै ‘म्यूजिक फर युनिटी’ रहेको भन्दै संगीतको माध्यमबाट बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गर्नु र आपसमा सद्भाव बढाउनु नै कार्यक्रमको प्रमुख उद्धेश्य रहेको बताए।
विगतमा बुद्ध ओपन कन्सर्टका रुपमा आयोजना हुंदै आएको कार्यक्रमको नाम परिवर्तन गरी नेपाली ओपन कन्सर्ट बनाइएको स्मरण गराउँदै अध्यक्ष पुनले भने, ‘नामले भनेअनुसार नै कन्सर्ट सम्पूर्ण नेपालीका लागि हो । बेलायतवासी सम्पूर्ण नेपालीहरु आउनुहुन्छ र रमाइलो गर्नुहुन्छ भन्ने आशा हामीले लिएका छौं।’
कन्सर्टका प्रमुख संयोजक मगर संघ यूके उपाध्यक्ष गुमानसिंह थापाले कन्सर्टमार्फत् लोकप्रिय ब्यान्ड र कलाकारहरुको लाइभ प्रस्तुतिमा नेपाली संगीतको गुणस्तरीय शो पस्किने जमर्को गरिएको बताए।
कन्सर्टलाई विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक बनाउनका साथै व्यवस्थित, सुरक्षित र भव्य बनाउने गरी आवश्यक सबै तयारी भइरहेको उनले जनाए।
कन्सर्टस्थलमा नेपाली खाना, आइसक्रिम, पेय पदार्थदेखि लत्ताकपडा, मोर्गेज, रियल स्टेट, अकाउन्टिङ सेवालगायतका स्टलहरु समेत राखिने संयोजक थापाले जानकारी दिए ।
कन्सर्टमा प्रस्तुति दिने केही कलाकार अहिले बेलायतमै छन्। मन्त्र ब्यान्डको टीमसहित अरु कलाकार यही जुलाइ २२ तारिख बुधबार लन्डन उत्रिने कार्यक्रम छ।
आयोजक मगर संघ यूके कोषाध्यक्ष मोहनबहादुर थापाका अनुसार कन्सर्टका लागि दुई चरणमा अर्ली बर्ड टिकट बिक्री भइसकेको छ। अब कन्सर्टको टिकट मगर संघ यूकेको वेबसाइटबाट अनलाइन लिन सकिन्छ । अनलाइन लिंदा टिकट शुल्क ४० पाउण्ड छ तर कन्सर्टकै दिन गेटमा लिंदा ५० पाउण्ड लाग्नेछ।
कन्सर्टको टिकटका लागि यहाँ क्लिक गर्नुहोस्।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


