बिहीबार, १६ जुलाइ, २०२६
19:18 | ००:०३

बेलायती मन्त्री भेटेपछि कार्यवाहक राजदूतले भने- गोर्खा मुद्धा चांडै सुल्झिने वातावरण बन्दैछ

नेपाली लिङ्क जुलाइ १६, २०२६

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्धा र जारी त्रिपक्षीय वार्ताकै सन्दर्भमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र बेलायत सरकारका भेट्रान मन्त्री काल्भिन बेइलीबीच छलफल भएको छ।

विहीबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको छलफल गोर्खा मुद्धामा यथासक्य चांडो दिगो समाधान खोज्ने विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

छलफलपछि नेपालीलिंकसंगको टेलिफोन संवादमा कार्यवाहक राजदूत दुवाडीले बेलायती भेट्रानमन्त्रीसंगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए ।

उनले गोर्खा मुद्धा समाधानको लागि यतिबेला अहिलेसम्मकै सबैभन्दा सकारात्मक र उत्साहजनक वातावरण निर्माण भइरहेको बताए ।

कार्यवाहक राजदूत दुवाडीका अनुसार पछिल्लो समय भएका सबै स्तरका छलफलहरुमा बेलायती पक्षको ‘रेस्पोन्स’ सकारात्मक छ ।

‘उहाँहरुले संस्थागत मात्र होइन, व्यक्तिगत रुपमा समेत गोर्खा मुद्धा समाधानलाई आफ्नो प्राथमिकता बनाउनुभएको छ । हामीसंगको छलफलमा उहाँहरुको प्रस्तुतिदेखि टोनसम्म सबै सकारात्मक छ’, उनले भने, ‘त्यसैले वातावरण राम्रो बनेको छ । अब चांडै नै मुद्धा टुंगिन्छ भन्ने विश्वास बढेको छ ।’

हालै मात्रै जिम्मेवारीमा आएका भेट्रान मन्त्रीले आफूले चांडै भूतपूर्व गोर्खाका प्रतिनिधिहरुसंग भेट्ने बताएका छन् । उनले अर्को चरणको गोर्खा वार्ताको लागि भेन्यू र मिति समेत चांडै प्रस्ताव गर्ने वचन दिएका छन् ।

गोर्खा मुद्धा समाधानको प्याकेजका लागि बेलायत सरकारका विभिन्न मन्त्रालय र विभागहरुबीच समन्वय आवश्यक हुने र त्यसका लागि अहिले गृहकार्य भइरहेको समेत आफूले पाएको कार्यवाहक राजदूतको भनाइ छ ।

पछिल्लो एक महिना अवधिलाई मात्रै हेर्दा पनि गोर्खाहरुको मुद्धा यतिबेला बेलायत सरकारको उच्च प्राथमिकतामा परेको देखिन्छ । यसबीचमा बेलायती संसदमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरदेखि उपपप्रधानमन्त्री डेभिड लामी र रक्षामन्त्री ड्यान जार्भिससम्मले गोर्खा मुद्धाको शीघ्र समाधानको लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, पहिलोपटक बेलायती रक्षामन्त्री स्वयम् गोर्खा वार्तामा सहभागी बनेका मात्रै छैनन्, त्यसकै फलो-अपका रुपमा गत मंगलबार मात्रै बेलायती रक्षामन्त्री र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच यही मुद्धाबारे भर्चुअल रुपमा अर्को छलफल भएको छ ।

यसबीचमा नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिकी प्रमुख सांसद एलेक्स बेकरले पनि गोर्खा मुद्धामा चांडो समाधान खोज्नुपर्ने भन्दै बेलायती संसददेखि सरकारसम्म दबाब सिर्जना गरिरहेकी छन् ।

त्यस्तै, बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी समेतले बेलायत सरकारका रक्षामन्त्री र भेट्रानमन्त्रीसहित सरकारी अधिकारीहरुसंग निरन्तर भेटवार्ता र छलफल गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू