नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलनप्रति एफएनजे यूकेको ध्यानाकर्षण


लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो आधिकारिक नाम, लोगो तथा मिल्दोजुल्दो नक्कली इमेल प्रयोग गरी केही व्यक्तिहरूले भ्रामक सूचना, समाचार र कार्यक्रम सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै केही समययता संस्थाको आधिकारिक लोगो प्रयोग गरी तथाकथित तदर्थ समिति घोषणा गर्ने, नयाँ सदस्यताको नाममा आर्थिक संकलन गर्ने तथा आफूलाई पदाधिकारीका रूपमा प्रस्तुत गर्ने प्रयास भएको जानकारी प्राप्त भएको जनाएको छ । यस्ता गतिविधिहरूसंग नेपाल पत्रकार महासंघ यूकेको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।
महासंघले आफ्नो छैटौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले नै संस्थाको नेतृत्व गरिरहेको उल्लेख गर्दै १३औँ स्थापना दिवससमेत वैधानिक कार्यसमितिकै आयोजनामा सम्पन्न भइसकेको जनाएको छ ।
शाखाभित्र देखिएका केही असन्तुष्टिलाई समाधान गर्न पूर्व अध्यक्ष, सल्लाहकार तथा केन्द्रीय समितिसँग समन्वय गरी आवश्यक निर्णयहरू समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको आधिकारिक नाम, लोगो र इमेलको दुरुपयोग गरी भ्रम सिर्जना गर्ने तथा पत्रकार समुदायलाई विभाजित गर्ने गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै महासंघले त्यस्ता कार्य नरोकिए आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिएको छ ।
साथै, पत्रकार, सञ्चारमाध्यम, विभिन्न संघसंस्था तथा बेलायतस्थित नेपाली समुदायले महासंघको आधिकारिक स्रोतबाट प्रकाशित सूचना र निर्णयलाई मात्र विश्वास गर्न तथा अन्य माध्यमबाट आएका सूचनाप्रति सतर्क रहन आग्रह गरिएको छ ।
महासंघले पत्रकारिताको मर्यादा, संस्थागत वैधानिकता, व्यावसायिक आचारसंहिता र नेपाली पत्रकार समुदायको एकताप्रति सधैं प्रतिबद्ध रहेको दोहोर्याउँदै शाखासम्बन्धी कुनै अन्योल भए अध्यक्ष वा महासचिवसँग प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रेस विज्ञप्ति-


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


