बेलायतमा भानुजयन्तीसहित सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान


लन्डन–अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखा र नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेको संयुक्त आयोजनामा ११ जुलाईमा २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती, ९५औँ ईश्वरप्रसाद मानन्धर जयन्ती, सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२६ सम्मान तथा विभिन्न साहित्यिक कृति विमोचन कार्यक्रम भएको छ।
अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा लन्डनमा आयोजित कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कानुनविद्, मानवअधिकार विशेषज्ञ तथा कूटनीतिज्ञ प्रा. डा. सूर्यप्रसाद सुवेदी (OBE), वरिष्ठ साहित्यकार प्रा. डा. देवीप्रसाद सुवेदी तथा अमेरिकी प्राध्यापक प्रो. डा. चाड म्यानियन सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा पूर्व सुप्रमा पुरस्कार विजेता तथा प्रतिष्ठित साहित्यकारहरू कृष्ण बजगाईँ, प्रतिमा केसी ‘प्रवासी’, डा. सुमाया राई, केदार सङ्केत र माया गुरुङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै बेलायतका विभिन्न सहरबाट आएका चार दर्जनभन्दा बढी साहित्यकार, स्रष्टा, पाठक, युवा तथा नेपाली साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो।
अनेसास यूकेका मिडिया प्रबन्धक कुमार केसीले सञ्चालन गर्नुभएको कार्यक्रम प्रारम्भमा डा. रूपक श्रेष्ठको नवीनतम मुक्तक सङ्ग्रह ‘चौशूल’ बाट एक मुक्तक वाचन गरिएको थियो। त्यसपछि नेपाल मुक्तक प्रतिष्ठान यूकेकी उपाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ ले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यप्रेमीहरूको उपस्थितिले प्रवासमा नेपाली साहित्यप्रतिको आकर्षण झनै बढेको बताउनुभयो।
कार्यक्रम नेपालको राष्ट्रियगानबाट सुरु भएको थियो। प्रमुख अतिथि रामकाजी कोने र सभाध्यक्ष राज श्रेष्ठले आदिकवि भानुभक्त आचार्य तथा साहित्यकार ईश्वरप्रसाद मानन्धरको तस्बिरमा पुष्पाञ्जलि अर्पण गरी पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कवि तथा साहित्यकार सुमलकुमार गुरुङले भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यप्रतिको ऐतिहासिक योगदान तथा स्वर्गीय ईश्वरप्रसाद मानन्धरले प्रवासमा रहेर नेपाली साहित्य प्रतिको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो।
सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२६ सम्बन्धी प्रस्तुति दिँदै डा. रूपक श्रेष्ठले स्वर्गीय ईश्वरप्रसाद मानन्धरद्वारा आफ्ना पिता स्वर्गीय सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको उद्देश्य, यसको विकासक्रम तथा हालसम्मको यात्राबारे विस्तृत जानकारी गराउनुभयो।
उहाँले यस वर्षको सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार प्रा. डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘उर्वशी’ लाई प्रदान गरिएको घोषणा गर्दै कृतिको साहित्यिक महत्त्व र कृतिकारको योगदानमाथि प्रकाश पार्नुभयो।
उहाँले प्रा. डा. देवीप्रसाद सुवेदी नेपाली साहित्यका समर्पित साधक, अनुसन्धानकर्ता, समालोचक तथा सर्जकका रूपमा स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै नेपाली भाषा, साहित्य, दर्शन र संस्कृतिमाथिको गहन अध्ययन तथा अनुसन्धानले उहाँका कृतिलाई विशिष्ट उचाइ प्रदान गरेको बताउनुभयो। कथा, उपन्यास, निबन्ध, समालोचना तथा अनुसन्धानका क्षेत्रमा उहाँको योगदान नेपाली साहित्यका लागि महत्त्वपूर्ण रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि प्रा. डा. सूर्यप्रसाद सुवेदी (OBE) ले शुभकामना मन्तव्य व्यक्त गर्दै पुरस्कार विजेता कृति ‘उर्वशी’ मा वैदिक ज्ञान, ऋग्वैदिक पात्रहरू र दार्शनिक चेतनाको प्रभाव अत्यन्त प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो। उहाँले अनेसास बेलायत शाखाले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै ‘उर्वशी’लाई पुरस्कृत गर्ने निर्णय साहित्यिक दृष्टिले अत्यन्त परिपक्व र न्यायोचित रहेको धारणा व्यक्त गर्नुभयो। सुवेदीले उपस्थित सबैलाई उक्त कृति अध्ययन गर्न पनि प्रेरित गर्नुभयो।
पुरस्कार ग्रहणपछि प्रा. डा. देवीप्रसाद सुवेदीले आफ्नो मन्तव्यमा ‘उर्वशी’ उपन्यास ऋग्वेदका पात्रहरूको ऐतिहासिक, सांस्कृतिक तथा दार्शनिक पृष्ठभूमिलाई आधुनिक आख्यानमा पुनर्सिर्जना गर्ने प्रयासका रूपमा लेखिएको बताउँदै वैदिक सभ्यताको मानवीय पक्षलाई साहित्यमार्फत समकालीन पाठकमाझ पुर्याउने उद्देश्य रहेको उल्लेख गर्नुभयो। पुरस्कारप्रति आभार व्यक्त गर्दै उहाँले यस्तो सम्मानले सर्जकलाई अझ जिम्मेवार र सिर्जनशील बन्न प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको दोस्रो सत्रमा डा. रूपक श्रेष्ठकृत मुक्तक सङ्ग्रह ‘चौशूल’, त्यसको अङ्ग्रेजी संस्करण ‘Pokhtak’, साहित्यकार सुमलकुमार गुरुङकृत युद्ध–उपन्यास ‘कर्मवीर’ तथा नेपाल मुक्तक प्रतिष्ठान यूकेको दशौँ वर्ष विशेषाङ्क स्मारिका ‘इलिङ्ग’ को सामूहिक विमोचन सम्पन्न गरिएको थियो।
विमोचित कृतिहरूमाथि साहित्यिक समीक्षा पनि प्रस्तुत गरिएको थियो। विनोद अधिकारीले ‘इलिङ्ग’ स्मारिकाको समीक्षा गर्नुभयो भने डा. सुमाया राईले ‘कर्मवीर’, प्रो. डा. चाड म्यानियनले ‘Pokhtak’ तथा विदेह मणि उपाध्यायले ‘चौशूल’माथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो। समीक्षकहरूले सम्बन्धित कृतिहरूले नेपाली साहित्यलाई नवीन आयाम प्रदान गरेको धारणा व्यक्त गरेका थिए।
यसै क्रममा कार्यक्रममा सहभागी बेलायतमै जन्मेर हुर्किएकी बालिका सुम्निभा श्रेष्ठले मन्तव्य व्यक्त गर्दै डा. रूपक श्रेष्ठको मुक्तक सङ्ग्रहको अङ्ग्रेजी संस्करण ‘Pokhtak’ अध्ययन गरेपछि आफूले पोखराको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र नेपाली जीवनशैलीबारे धेरै नयाँ कुरा जान्न पाएको बताइन्।
उक्त कृतिले आफूमा पोखरा प्रत्यक्ष भ्रमण गर्ने तीव्र इच्छा जागृत गराएको उल्लेख गर्दै उनले नेपाली भाषा पढ्न वा बुझ्न नसक्ने प्रवासमा जन्मिएका आफूजस्ता दोस्रो पुस्ताका नेपाली युवापुस्ताका लागि अङ्ग्रेजी संस्करण प्रकाशन गर्नु अत्यन्त सराहनीय कार्य भएको धारणा व्यक्त गरिन्।
साथै, नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउने यस प्रयासका लागि कृतिकार डा. रूपक श्रेष्ठप्रति हार्दिक धन्यवाद ज्ञापन गरिन्। उनको मन्तव्यले प्रवासी दोस्रो पुस्तासम्म नेपाली भाषा, साहित्य, संस्कृति र मातृभूमिप्रतिको अपनत्व विस्तार गर्न यस्ता कृतिहरू प्रभावकारी माध्यम बन्न सक्ने सन्देश दिएको थियो।
कार्यक्रममा विनोद अधिकारी, जित छन्त्याल, विदेह मणि उपाध्याय, भोज बराल,प्रकाश गुरुङ, राजेश सुवेदी, विष्णु थापा, गिरीप्रसाद थापा, सारा गुरुङ, रवीन्द्रलाल जोशी, रोबिन श्रेष्ठ, रोजी थापा श्रेष्ठ, साजन श्रेष्ठ, शान्ति श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, विकल श्रेष्ठ, रुबी श्रेष्ठ, कञ्चन श्रेष्ठ, रिना श्रेष्ठ, पार्वती श्रेष्ठ, सृष्टि श्रेष्ठ, श्रद्धा श्रेष्ठ, अर्पिता श्रेष्ठ, अहिल्या कुँवर सुवाल लगायत बेलायतस्थित नेपाली समुदायका धेरै साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। विशेषगरी युवा पुस्ताको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका थिए।
समापन मन्तव्यका क्रममा सभाध्यक्ष राज श्रेष्ठले प्रमुख अतिथि, विशिष्ट अतिथि, पुरस्कार विजेता, कृतिकार, समीक्षक, अतिथि तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि अनेसास यूके र नेपाल मुक्तक प्रतिष्ठान यूकेले आगामी दिनमा पनि यस्ता उच्चस्तरीय साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा पुरस्कार विजेता तथा नवप्रकाशित कृतिका लेखकहरूको पुस्तक हस्ताक्षर तथा वितरण कार्यक्रम सम्पन्न भएको थियो।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


