शनिबार, ११ जुलाइ, २०२६
13:59 | १८:४४

पत्रकार महासंघ यूकेको १५औँ स्थापना दिवस भब्य, तीन विशिष्ट व्यक्तित्व सम्मानित

नेपाली लिङ्क जुलाइ ११, २०२६

लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो १५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता शाखाकी अध्यक्ष विमला सेनेले गरेकी थिइन्।

कार्यक्रममा शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान–२०२६’ वरिष्ठ पत्रकार मेजर सोनाम छिरिङ शेर्पालाई प्रदान गरेको छ। बेलायतमा लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

त्यसैगरी, भूतपूर्व गोर्खा सैनिक, विश्व कीर्तिमानी पर्वतारोही तथा अपाङ्गता अधिकार अभियन्ता डा. हरि बुढा मगरलाई विशेष सम्मान प्रदान गरिएको छ। देश र समाजका लागि विश्वस्तरमा पुर्‍याएको योगदान तथा प्रेरणादायी यात्राको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। सन् २०२३ मा दुवै घुँडामाथिबाट खुट्टा गुमाएका व्यक्तिमध्ये पहिलो पटक सगरमाथा आरोहण गरेर इतिहास रचेका बुढा मगर हालै प्रतिष्ठित गिनिज वर्ल्ड रेकर्ड्स आइकन अवार्डबाट समेत सम्मानित भएका छन्।

यस्तै, दुई दशकभन्दा बढी समयदेखि बेलायतमा रहेर नेपाली कला, साहित्य र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएकी **लेखक, अनुसन्धानकर्ता तथा कवयित्री डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’**लाई पनि विशेष सम्मान गरिएको छ। युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्षसमेत रहेकी स्वेच्छाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

कार्यक्रममा पत्रकार गोमा रानामगर, उपाध्यक्ष प्रमिला लाबुङ राई र सचिव मञ्जु भण्डारी खरेलले क्रमशः सम्मानित व्यक्तित्वहरूको योगदानबारे प्रकाश पारेका थिए।

सोही अवसरमा शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको शब्द रहेको पत्रकारिता विषयक गीत ‘हामी पत्रकार’ सार्वजनिक गरिएको छ। आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहकार्यमा तयार पारिएको उक्त गीतले पत्रकारिताको निष्ठा, साहस, सत्य र सामाजिक उत्तरदायित्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई, फोनिज यूकेका अध्यक्ष बम थापा सूर्यवंशी, पूर्वमेयर तथा काउन्सिलर विष्णु गुरुङ, नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह यूकेकी अध्यक्ष कमलदेवी गुरुङ, मगर संघ यूकेका उपाध्यक्ष गुमानसिंह थापा, जीआरएनसीकी अध्यक्ष लीला सेलिङ मावोलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा पीएचडी उपाधि हासिल गरेका डा. दूत पुन (चिम्खोले काइँला), एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित विश्वास दीप तिगेला तथा गुल्मी समाज यूकेको अध्यक्षमा निर्वाचित मञ्जु भण्डारी खरेललाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने प्रायोजकहरू तथा नेपालबाट बेलायत आएका कलाकार शिवदास गुरुङ, अस्मिता रानामगर र राजेन्द्र  केरुङलाई पनि सम्मान गरिएको थियो। उनीहरूले समारोहमा सांगीतिक तथा नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि भगिरथ योगीले पत्रकारहरूबीच एकता, सहकार्य र आपसी समझदारीलाई सुदृढ बनाउँदै संस्थाभित्र रहेका असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङले आगामी स्थापना दिवस नेपाली दूतावास, लन्डनमा आयोजना गर्न सुझाव दिए भने नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन व्यावसायिक पत्रकारलाई मात्र सदस्यता वितरण गर्नुपर्ने धारणा राखे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै शाखालाई अझ सशक्त, सक्रिय र एकताबद्ध बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव खेमराज रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए। सचिव विश्वास दीप तिगेलाले नेपाल पत्रकार महा संघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायत स्वदेश तथा विदेशबाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए।

कार्यक्रमका क्रममा प्रमुख अतिथि, संस्थाका सल्लाहकार, पूर्वअध्यक्ष तथा वर्तमान अध्यक्षले संयुक्त रूपमा १५औँ स्थापना दिवसको अवसरमा केक काटेर स्थापना दिवस हर्षोल्लासका साथ मनाएका थिए। कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय प्रतिनिधि, पत्रकार तथा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पत्रकारिता सम्बन्धि गीत-‘हामी पत्रकार’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू