बेलायतमा फेरि फैलिंदै गर्मीको लहर, जनजीवन प्रभावित हुने

लन्डन- बेलायतमा फेरि एकपटक गर्मीको लहर फैलिन लागेको छ ।
आगामी केही दिन देशका धेरै भागमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । केही स्थानको तापक्रम त ३४ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्हरूले बताएका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य अधिकारीहरूले पनि विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बेलायतको मौसम विभाग मेट अफिसका अनुसार इङ्ग्ल्यान्ड र वेल्सका धेरै क्षेत्रमा तापक्रम सामान्यभन्दा निकै माथि पुग्नेछ । दक्षिण–पूर्वी इङ्ग्ल्यान्डका केही स्थानमा तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ, जुन बेलायतका लागि निकै उच्च मानिन्छ ।
यसैबीच, यूके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्ग्ल्यान्डका विभिन्न क्षेत्रमा ‘एम्बर हीट हेल्थ अलर्ट’ जारी गरेको छ । यो चेतावनी विशेषगरी वृद्धवृद्धा, साना बालबालिका, गर्भवती महिला तथा मुटु, श्वासप्रश्वास वा अन्य दीर्घरोग भएका व्यक्तिहरूका लागि लक्षित गरिएको हो ।
हालैका वर्षहरूमा बेलायतमा अत्यधिक गर्मीका घटना लगातार बढिरहेका छन् । सन् २०२२ मा पहिलोपटक बेलायतको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । त्यतिबेला लिन्कनशायरको कोनिङ्स्बीमा ४० दशमलव ३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।
त्यसयता गर्मीका लहरहरू बारम्बार देखिन थालेका छन्, जसलाई विज्ञहरूले जलवायु परिवर्तनसँग जोडेर हेर्ने गरेका छन् ।
स्वास्थ्य अधिकारीहरूले सकेसम्म दिउँसोको चर्को घाममा लामो समय नबस्न, प्रशस्त पानी पिउन, हल्का र खुला लुगा लगाउन तथा घरभित्रको तापक्रम सकेसम्म चिसो राख्न आग्रह गरेका छन् ।
साथै, एक्लै बस्ने वृद्धवृद्धा वा स्वास्थ्य समस्या भएका आफन्त र छिमेकीको अवस्थाबारे पनि जानकारी लिन सुझाव दिइएको छ ।
गर्मीको प्रभाव स्वास्थ्यमा मात्र सीमित रहने छैन । अत्यधिक तापक्रमका कारण रेल सेवामा ढिलाइ हुन सक्ने, सडकको सतह नरम हुन सक्ने र केही स्थानमा डढेलो तथा आगलागीको जोखिम पनि बढ्न सक्ने चेतावनी दिइएको छ । त्यसैले यात्रा गर्नुअघि सम्बन्धित सेवा प्रदायकको पछिल्लो सूचना हेर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् ।
मौसम विभाग र स्वास्थ्य निकायले जारी गरेका सूचना तथा सल्लाह पालना गर्नु नै अहिलेको गर्मीबाट सुरक्षित रहने सबैभन्दा प्रभावकारी उपाय हुने विज्ञहरूको भनाइ छ ।
गर्मीका कारण स्वास्थ्य सेवा, यातायात र पूर्वाधारमा समेत दबाब बढ्ने भएकाले सरकारले स्थानीय निकाय र आपत्कालीन सेवाहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


