बिहीबार, ९ जुलाइ, २०२६
10:56 | १५:४१

स्कटल्यान्ड नेपाली मेला यस वर्ष झनै बृहद बनाइंदै, थुप्रै राष्ट्रिय कलाकारले प्रस्तुति गर्दै

नेपाली लिङ्क जुलाइ ९, २०२६

स्कटल्यान्ड- आउँदो साता १३ जुलाइ सोमबार स्कटल्यान्डमा हुन लागेको दोस्रो नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

एनआरएनए स्कटल्यान्ड र लन्डनस्थित नेपाली दूतावासले स्थानीय सबै नेपाली संघसंस्थाको सहकार्यमा गर्न लागेको मेला एडिनबरा शहरको केन्द्रमा पर्ने रोस ब्यान्डस्ट्यान्डमा सञ्चालन हुनेछ।

यसैबीच, मेलाको तयारीलाई अन्तिम रूप दिन बुधबार लिभिङस्टोनस्थित बेलिफ रेष्टुरेन्टमा आयोजकको विशेष तयारी तथा व्यवस्थापन बैठक बस्यो।

एनआरएनए स्कटल्यान्ड अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठक यस वर्षको नेपाली मेलालाई अझ व्यवस्थित, सुरक्षित, बृहद र भव्य बनाउने विषयमा केन्द्रित रह्यो।

बैठकमा कार्यक्रम व्यवस्थापन, कलाकार समन्वय, सांस्कृतिक प्रस्तुति, स्वयंसेवक परिचालन तथा स्टल व्यवस्थापनसहित आवश्यक व्यवस्थापनका सबै विषयमा विस्तृत छलफल भयो।

यस वर्षको नेपाली मेला स्कटल्यान्डमा कयौं राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ।

नेपालका राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रकाश दूतराज, मञ्जु विक, इन्द्र जीसी, रमेशराज भट्टराई र चन्द्र शर्मालगायतले मेलामा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । साथै, कार्यक्रम सञ्चालिका तथा गायिका शोभा त्रिपाठीको पनि मेलामा आउँदैछन्।

साथै, स्थानीय ब्यान्डहरूको सांगीतिक प्रस्तुति, विभिन्न संघ–संस्थाहरु तथा नेपाली समुदायका झांकीसहित विविध सांस्कृतिक प्रस्तुतिहरू पनि मेलामा विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो मेला यस वर्ष अझ भव्य र ऐतिहासिक हुने विश्वास गरिएको छ।

आयोजकले बेलायतभर रहेका सम्पूर्ण नेपालीलाई आगामी सोमबार १३ जुलाइमा आयोजना हुने स्कटल्यान्ड नेपाली मेलामा परिवार, साथीभाइ तथा आफन्तसहित उपस्थित भई नेपाली संस्कृति र एकताको उत्सवलाई सफल बनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू