आइतबार, ५ जुलाइ, २०२६
17:04 | २१:४९

बेलायतको रेडिङमा शुरु भयो नवौं संस्करणको पीपल नेपालकप क्रिकेट

समापन १२ जुलाइमा

नेपाली लिङ्क जुलाइ ५, २०२६

लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको पीपल नेपालकप टी ट्वान्टी क्रिकेटको नवौं संस्करण आइतबार शुरु भएको छ।

रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लबको मैदानमा एक औपचारिक कार्यक्रमबीच प्रतियोगिता औपचारिक उद्घाटन गरियो ।

मञ्चका अध्यक्ष पवित्र गुरुङ, संयोजक एवम् पूर्व अध्यक्ष करम गुरुङ, प्रमुख अतिथि लन्डन ग्रीनवीच बरोका पूर्व मेयर जीत रानाभाट, रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खड्का, मञ्चका संस्थापक अध्यक्ष रिटायर्ड क्याप्टेन सीवी पुन, पहिलो पुरस्कार प्रायोजक माया ग्रुपका निर्देशक राज पाण्डेलगायतले प्रतियोगिता उद्घाटन गरेका हुन्। मञ्चका ट्रष्टी महेश गुरुङले स्वागत मन्तव्य राखे ।

प्रतियोगिताका समूह चरणका ६ खेलहरु आइतबार र बाँकी ५ खेल बुधबार ८ जुलाइमा सञ्चालन हुनेछन् । सेमीफाइनल र फाइनल खेलसहितको समापन कार्यक्रम १२ जुलाइमा हुनेछ। समापनमा प्रमुख अतिथिका रुपमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र विशेष अतिथिका रुपमा सचिव तथा पूर्व क्रिकेटर पारस खड्का समेत सहभागी हुने कार्यक्रम छ ।

नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा खुकुरी, माया, हिमालयन, नवयुवा, गोर्खा केन्ट, रमाइलो, नटिङहम गोर्खा, साथी, माया डांफे, वुल्भरह्याम्पटन वारियर र एभरेष्ट राइनोसहित ११ टीमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका क्रिकेटरहरु अर्जुन साउद, रिजन ढकाललगायतले पनि खेल्दैछन् । त्यस्तै, नटिङहम काउन्टीका दीपेश सापकोटासहित बेलायतकै स्थानीय लिगहरु खेल्ने कयौं उदयीमान खेलाडीहरु पनि विभिन्न टीमबाट प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको विजेताले नगद २ हजार पाउण्ड पुरस्कार, रनिङ ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले नगद १ हजार पाउण्डसहितको पुरस्कार पाउनेछन् । त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई ३ सय ५० पाउण्ड तथा बलर अफ द टुर्नामेन्ट र बयाट्सम्यान अफ द टुर्नामेन्ट दुवैलाई २ सय ५० पाउण्ड नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सर पीपल ग्रुपका सूर्य गुरुङ छन् भने प्रथम पुरस्कार माया ग्रुपबाट राज पाण्डे, प्लेयर अफ द टुर्नामेन्ट एभरेष्ट तन्दुरीका दावा लामा, बेस्ट ब्याट्सम्यान पुरस्कार जेजे बिल्ड्सका जगन गुरुङ, बेस्ट बलर पुरस्कार वेबथ्री टेक्नोलोजीका महेन्द्र कुंवरले प्रायोजन गरेका छन् ।

प्रतियोगिताको क्रिकेट संयोजन प्रकाश गुरुङ र विनय पुनले गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू