आइतबार, ५ जुलाइ, २०२६
07:01 | ११:४६

ल्हा म्हेन्दो तामाङ समाजको अध्यक्ष चुनिए विशाल, एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने निर्णय

नेपाली लिङ्क जुलाइ ५, २०२६

लण्डन । ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेलाले समाजको नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नवगठित कार्यसमितिमा अध्यक्ष विशाल स्याङ्बो तामाङ, उपाध्यक्ष सुमन वाइबा, महासचिव: सुदीप लोप्चन, सचिवमा सुरज स्याङ्बो र सुरज ग्लान र कोषाध्यक्षमा विपना पुन तामाङ निर्वाचित भएका छन्।

त्यसै गरि सदस्यहरुमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ छन्।

कार्यक्रमकै क्रममा एकीकृत तामाङ घेदुङ यूके सम्बन्धी विशेष छलफल तथा लघु जनमत सङ्ग्रह (मिनी रेफरेन्डम) समेत गरिएको थियो। मतदानमा एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने पक्षमा स्पष्ट बहुमत प्राप्त भएपछि ल्हा म्हेन्दो तामाङ समाज लण्डनले आधिकारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिको शाखाका रूपमा रहने ऐतिहासिक निर्णय गरेको छ।

यस निर्णयलाई बेलायतस्थित तामाङ समुदायको संस्थागत एकतालाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

लघु जनमत संग्रह हुनु अघि समाजका पूर्व अध्यक्ष सुरज थोकरले ‘पावर पोइन्ट’ मार्फत एक कार्यपत्र प्रस्तुत गरेका थिए।

यस अघि समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ तथा विशेष अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ थिए।

आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख तथा विशेष अतिथिद्वयले ल्हा म्हेन्दो तामाङ समाज आकारले सानो संस्था भएपनि बेलायतस्थित तामाङ समुदायको एकता, भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

वक्ताहरूले समाजले एकीकृत तामाङ अभियानमा खेलेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यही एकतालाई अझ सुदृढ बनाउन आग्रह गरे ।


कार्यक्रममा कलाकार शिवदास गुरुङको आकर्षक सांस्कृतिक प्रस्तुति, विविध राफल ड्र तथा बिङ्गो कार्यक्रमले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।

उल्लेखनीय उपस्थितिका साथ सम्पन्न उक्त समर भेला आपसी सद्भाव, एकता र समुदायप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू