लन्डनमा सोने यूके वार्षिक सम्मेलन, नेपालको विकासमा साझेदारीको प्रतिवद्धता

लन्डन- सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूके (सोने यूके)को एघारौं वार्षिक सम्मेलन शनिबार लन्डनमा सम्पन्न भएको छ ।
लन्डन हिथ्रोस्थित शेराटन होटलमा सोसाइटीका अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा विभिन्न ९ कार्यपत्रहरु प्रिजेन्टेसनका साथै १४ वटा पोस्टर प्रदर्शनी समेत गरिएको छ ।
सम्मेलनको थिममा तयार कभरपेज अनावरण गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सम्मेलन उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले बेलायतमा क्रियाशिल नेपाली इन्जिनियरहरुलाई संगठित गरी सोने यूकेले निर्वाह गर्दै आएको बहुआयामिक भूमिकाको प्रशंसा गरे ।
नयाँ पुस्ताका पेशाकर्मीहरुलाई प्रोत्साहन र दक्षता अभिवृद्धिमा सहयोग गर्नका साथै मातृभूमि नेपालको विकास र समृद्धिको अभियानमा समेत बेलायतका नेपाली इन्जिनियरहरुको सहभागिता अपेक्षा गरिएको उनले बताए ।
‘सोने यूकेसंग रहेको जनशक्ति, सीप, दक्षता र अनुभव तपाईंहरुको ठूलो सामर्थ्य हो । त्यसलाई सही सदुपयोग गर्दै दुवै देशको हितका लागि लगानी गर्न सकियो भने निकै उपलब्धिपूर्ण हुनेछ’, कार्यवाहक राजदूत दुवाडीले भने ।
पछिल्लो समय नेपालमा स्थायी सरकार निर्माण भएको र द्रुत गतिमा काम भइरहेको उनले उल्लेख गरे । ‘विदेशमा रहेका नेपाली पेशाकर्मीहरुको दक्षता र अनुभवलाई आकर्षित गर्न अहिले हाम्रो सरकार प्रयत्नशिल छ’, दुवाडीले भने, ‘तपाईंहरु पनि नेपाल सरकारसंग जोडिन, सम्पर्कमा रहन र उसको विकास र समृद्धिको आकांक्षामा साथ दिन यो नै सबैभन्दा उत्तम समय छ।’

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी
सोसाइटीका अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले सम्मेलनको प्रमुख उद्धेश्य आफूहरुले विदेशमा आर्जन गरेको अनुभव, सीप र सामर्थ्यलाई नेपालको विकासमा जोड्ने प्रयास रहेको बताए ।
सम्मेलनमा इन्जिनियरहरु मात्र नभइ विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आबद्ध व्यक्तित्वहरुलाई पनि सहभागी गराइएको उल्लेख गर्दै उनले भने, ‘हामीले आफ्नो तर्फबाट विगतदेखि नै धेरै कोशिसहरु गर्दै आयौं । तर अबको आवश्यकता सबैलाई एक ठाउँमा ल्याएर समष्टिगत रुपमा एकिकृत आवाज प्रस्तुत गर्नु हो । त्यही अभियानमा हामी जुटिरहेका छौं।’
संसारभर फैलिएका झण्डै एक लाख नेपाली इन्जिनियरहरुले यतिबेला नेपालको विकास र समृद्धिलाई नै प्राथमिक एजेन्डा बनाउनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाको छ ।
सोने यूकेलाई प्रतिभाहरुलाई प्रोत्साहन गर्ने मञ्चका रुपमा अघि बढाउने कोशिस गरिएको जनाउँदै उनले प्रोफेसनल ल्याडरमा अघि बढ्न संघर्ष गरिरहेका उदयीमान प्रतिभाहरुलाई हौसला र आवश्यक सहायता दिन सम्पूर्ण वरिष्ठ पेशाकर्मीहरुलाई आव्हान गरे ।

सोने यूके अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिना
सम्मेलनमा कि नोट स्पिच राख्दै पोर्टस्माउथ युनिभर्सिटीका प्रोफेसर डा होमनाथ ढकालले अहिले जलवायु परिवर्तनको असरहरुका सन्दर्भमा कसरी दिगो प्रकृतिका सामग्रीहरु विकास गरी विभिन्न क्षेत्रमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रिजेन्टेसन गरेका थिए ।
सम्मेलनमा भाग लिन नेपालबाट आएका नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुवास बरालले समस्त नेपाली इन्जिनियरहरुको पक्षमा र नेपालको समग्र विकासको एजेन्डामा सोने यूकेसंगको सहकार्यमा आउँदा दिनमा थप प्रभावकारी काम गर्न सकिने विश्वास व्यक्त गरे ।
अतिथि वक्ताका रुपमा नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा आरती थापा हमालले इन्जिनियरहरुको सम्मेलनमा प्रस्तुत विषय र कार्यपत्रहरु मेडिकल पेशाका लागि समेत सान्दर्भिक रहेको बताइन् । सोने यूकेले सबै पेशा र क्षेत्रको सहकार्य प्रवर्द्धनमा जोड दिएर आयोजना गरेको सम्मेलन निकै उपयोगी बनेको भन्दै उनले यसको निष्कर्ष नेपालको हकमा पनि उपयोगी हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका संयोजक डा दीपक जीसीले सम्मेलनमा इन्जिनियरिङका फरक-फरक विधालाई समेट्दै सम्बन्धित विषयका विज्ञहरुबाट कार्यपत्र प्रस्तुति एवम् पोस्टर प्रदर्शनी गरिएको बताए । सम्मेलनको निष्कर्षलाई सुझावका रुपमा लन्डनस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारसम्म पठाइने उनले जानकारी दिए ।
सो अवसरमा सोने यूकेका तर्फबाट अध्यक्ष तिमिल्सिनाले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रम संचालन कार्यसमिति सदस्य सिर्जना खड्का, महासचिव मनोज पुनलगायतले गरेका थिए।
सम्मेलनमा बेलायतमा क्रियाशिल दर्जनौं नेपाली इन्जिनियरहरुका साथै अन्य विभिन्न पेशा र व्यवसायमा संलग्न प्रतिनिधिसमेतको सहभागिता थियो ।





सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


