शुक्रबार, ३ जुलाइ, २०२६
21:57 | ०२:४२

स्कटल्यान्डमा नेपाली मेला तयारी अन्तिम चरणमा, सुरक्षा प्रबन्धबारे स्थानीय प्रहरीको प्रतिबद्धता

नेपाली लिङ्क जुलाइ ३, २०२६

एडिनबरा- यही जुलाइ १३ तारिख सोमबार स्कटल्यान्डमा आयोजना हुन लागेको नेपाली मेलाको दोस्रो संस्करणका लागि यतिबेला अन्तिम चरणको तयारी भइरहेको छ।

एनआरएनए स्कटल्यान्ड र लन्डनस्थित नेपाली दूतावास मिलेर स्थानीय सबै नेपाली संघसंस्थाको सहकार्यमा गर्न लागेको मेला भव्य र ऐतिहासिक बनाउने लक्ष्यमा सिंगो नेपाली समुदाय जुटिरहेको छ।

एडिनबरा शहरको केन्द्रमा पर्ने रोस ब्यान्डस्ट्यान्ड गार्डेन्समा आयोजना हुने मेलालाई नेपाली कला, संस्कृति, परम्परा तथा नेपाली समुदायको एकता झल्काउने उत्सवका रुपमा सञ्चालन गर्ने तयारी छ ।

स्कटल्यान्डमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने सबैभन्दा ठूलो यो सांस्कृतिक उत्सवमा नेपाली परम्परागत संगीत, नृत्य, स्वादिष्ट नेपाली परिकार, कला, हस्तकलासहितका विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै, मेलाले स्कटल्यान्डका विभिन्न समुदायबीच सांस्कृतिक समझदारी, सामाजिक सद्भाव र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

मेलाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने सम्बन्धमा शुक्रबार आयोजक र स्थानीय स्कटल्यान्ड प्रहरीको टीमबीच बैठक सम्पन्न भएको छ । त्यसअवसरमा प्रहरीले मेलालाई सुरक्षित, व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पूर्ण सहयोग र आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

आयोजक एनआरएनए स्कटल्यान्ड राज्य परिषद अध्यक्ष शेरबहादुर केसीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सम्पूर्ण स्वयंसेवक, विभिन्न सहयोगी संस्थाहरू दिनरात खटिएर कार्यक्रमलाई भव्य र सफल बनाउन लागिपरेको बताए। उनले नेपाली समुदायसँगै स्कटल्यान्डका सबै समुदायलाई मेलामा सहभागी भएर नेपाली संस्कृति नजिकबाट अनुभव गर्न आग्रह गरे।

परिषदका महासचिव माधव भण्डारीले सम्पूर्ण नेपाली समुदायलाई परिवार, साथीभाइ तथा शुभेच्छुकहरूसहित मेलामा उपस्थित भई कार्यक्रमलाई ऐतिहासिक बनाउन अपिल गरे। उनले नेपाली मेला नेपाली समुदायको साझा पर्व भएकाले सबैको सक्रिय सहभागिताले यसको गरिमा अझ उँचो हुने विश्वास व्यक्त गरे।

मेलाका मिडिया संयोजक पदमलाल खरेलका अनुसार मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, चर्चित नेपाली कलाकारहरूको प्रस्तुति, बालबालिकाका कार्यक्रम, नेपाली खानाका स्टल, प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछ। यस वर्षको मेलामा गत वर्षभन्दा अझ बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।

आयोजकले स्कटल्यान्डका सबै समुदाय, स्थानीय निकाय, सुरक्षा निकाय तथा विभिन्न साझेदार संस्थाप्रति सहयोग र समर्थनका लागि आव्हान गरेको छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू