बिहीबार, २ जुलाइ, २०२६
20:12 | ००:५७

लन्डन दूतावासमा यूके नेपाल आर्थिक साझेदारी सम्मेलन हुंदै, विशेष सम्झौता हस्ताक्षर तयारी

नेपाली लिङ्क जुलाइ २, २०२६

लन्डन- बेलायत र नेपालबीचको आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्धेश्यले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा एक विशेष सम्मेलन हुंदैछ ।

‘नेपाल यूके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ शीर्षकमा हुने सम्मेलन दुई देशबीचको व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङ सम्बन्ध बिस्तारमा केन्द्रित रहनेछ ।

सम्मेलनलाई भर्चुअल रुपमा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्दैछन् । त्यस्तै, नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिकी अध्यक्ष सांसद एलेक्स बेकर, नेपालका लागि बेलायती राजदूत रब फेन, बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी लगायतबाट दूतावासमै प्रत्यक्ष सम्बोधन हुनेछ ।

सम्मेलन हाइलाइटका रुपमा बेलायत तथा नेपालबीचको आर्थिक साझेदारी बिस्तार र प्रवर्द्धनका लागि दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

बेलायतको प्रतिष्ठित वेष्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स तथा कन्फिडरेसन अफ नेप्लिज् इन्डष्ट्रिज (सिएनआई) बीच छुट्टा-छुट्टै दुई सम्झौतामा हस्ताक्षर हुनेछ।

लन्डनस्थित नेपाली दूतावासको विशेष पहलमा बेलायत र नेपालबीचको व्यापार तथा लगानी सम्बन्ध बिस्तारका लागि यति उच्च स्तरमा पहिलोपटक सम्झौता हुन लागेको बुझिएको छ ।

सम्मेलनमा दुई देशीय व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङलगायतका विषयमा फरक फरक विषयमा प्यानल छलफल र अन्तरक्रिया हुनेछ। जसमा सम्बन्धित क्षेत्रका विषय विज्ञहरुका साथै बेलायत नेपाल व्यापार तथा लगानी क्षेत्रलाई प्रतिनिधित्व गर्ने विभिन्न निकाय र संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा यूके एक्सफोर्ट फाइनान्स (यूकेईएफ), ब्रिटिश इन्टरनेश्नल इन्भेष्टमेन्ट (बिआईआई) लगायतका यहाँका प्रतिष्ठित बिजनेस कम्युनिटीदेखि बेलायत सरकारका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्।

सो अवसरमा बेलायतस्थित नेपाली डायस्पोराबाट समेत व्यापारी, व्यवसायीका साथै विभिन्न पेशाकर्मी र विषय विज्ञहरुको सहभागिता रहनेछ ।

सम्मेलनको पूर्वसन्ध्यामा विहीबार बेलुका ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को आयोजनामा दूतावासमा यूके नेपाल बिजनेस एण्ड इन्भेष्टमेन्ट फोरम नामको छुट्टै कार्यक्रम हुंदैछ ।

सो अवसरमा नेपालका लागि बेलायती राजदूत रब फेन र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख वक्ता छन् । आयोजक बीएनसीसी अध्यक्ष विराज भट्टका अनुसार कार्यक्रममा यूके नेपाल बिजनेश कम्युनिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू