बुधबार, १ जुलाइ, २०२६
20:01 | ००:४६

यूकेमा आइतबार शुरु हुंदै नवौं पीपल नेपालकप क्रिकेट, समापनमा आउँदै चतुर र पारस

नेपाली लिङ्क जुलाइ १, २०२६

लन्डन- नवौं संस्करणको पीपल नेपालकप टी ट्वान्टी क्रिकेट यही आइतबार ५ जुलाइमा शुरु हुंदैछ ।

पोखरेली मञ्च यूकेको आयोजनामा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लबको मैदानमा खेलाइने प्रतियोगिताका समूह चरणका बाँकी खेलहरु बुधबार ८ जुलाइमा सञ्चालन हुनेछन् ।

सेमीफाइनल र फाइनल खेलसहितको समापन कार्यक्रम १२ जुलाइमा हुनेछ।

प्रतियोगिताको समापनमा प्रमुख अतिथिका रुपमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र विशेष अतिथिका रुपमा सचिव तथा पूर्व क्रिकेटर पारस खड्का समेत सहभागी हुने आयोजकले जनाएको छ ।

बेलायतभरबाट नेपाली क्रिकेटरहरुका जम्मा ११ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका क्रिकेटरहरु अर्जुन साउद, रिजन ढकाललगायतले पनि खेल्दैछन् ।

त्यस्तै, नटिङहम काउन्टीका दीपेश सापकोटासहित बेलायतकै स्थानीय लिगहरु खेल्ने कयौं उदयीमान खेलाडीहरु पनि विभिन्न टीमबाट प्रतियोगिता खेल्नेछन्।

नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेटका संयोजक एवम् आयोजक पोखरेली मञ्च यूकेका निवर्तमान अध्यक्ष करम गुरुङका अनुसार उद्घाटनका दिन ५ जुलाइमा ६ खेल र बुधबार ८ जुलाइमा ५ खेल सञ्चालन हुनेछन् ।

समापनका दिन भने दुई सेमीफाइनल र फाइनल गरी ३ खेल खेलाइनेछ ।

प्रतियोगिताको विजेताले नगद २ हजार पाउण्ड पुरस्कार, रनिङ ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले नगद १ हजार पाउण्डसहितको पुरस्कार पाउनेछन् ।

त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई ३ सय ५० पाउण्ड तथा बलर अफ द टुर्नामेन्ट र ब्याट्सम्यान अफ द टुर्नामेन्ट दुवैलाई २ सय ५० पाउण्ड नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सर पीपल ग्रुपका सूर्य गुरुङ छन् भने प्रथम पुरस्कार माया ग्रुपबाट राज पाण्डे, प्लेयर अफ द टुर्नामेन्ट एभरेष्ट तन्दुरीका दावा लामा, बेस्ट ब्याट्सम्यान पुरस्कार जेजे बिल्ड्सका जगन गुरुङ, बेस्ट बलर पुरस्कार वेबथ्री टेक्नोलोजीका महेन्द्र कुंवरले प्रायोजन गरेका छन् ।

प्रतियोगिता पूर्ण टी ट्वान्टी फर्म्याटमा खेलाइनेछ भने खेल सञ्चालन गर्न रजिस्टर्ड क्वालिफाइड रेफ्रीहरु ल्याइनेछ । आयोजक टीमका तर्फबाट प्रतियोगिताको क्रिकेट संयोजन प्रकाश गुरुङ र विनय पुनले गर्नेछन् ।

१२ जुलाइमा तय समापनका अवसरमा क्यान अध्यक्ष चतुर चन्द र सचिव पारस खड्का आउँदैछन्

समापनका अवसरमा क्यान अध्यक्ष चन्द र सचिव खड्का विशेष आकर्षण रहनेछन् । त्यसबाहेक स्थानीय मेयर, काउन्सिलरसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिलाई पनि निम्तो गरिएको छ ।

समापनका बेला केही कलाकारहरु निम्त्याएर मनोरञ्जनत्मक कार्यक्रम गर्ने तयारी समेत छ।

आयोजक पोखरेली मञ्च यूके अध्यक्ष पवित्र गुरुङले प्रतिोगिताको सबै तयारी लगभग पूरा भइसकेको जानकारी दिए । बेलायतवासी सबै नेपालीहरुलाई प्रतियोगितास्थल आएर क्रिकेटको आनन्द लिन र नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न अध्यक्ष गुरुङले आव्हान गरेका छन् ।

नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा खुकुरी, माया, हिमालयन, नवयुवा, गोर्खा केन्ट, रमाइलो, नटिङहम गोर्खा, साथी, माया डांफे, वुल्भरह्याम्पटन वारियर र एभरेष्ट राइनोसहित ११ टीमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका क्रिकेटरहरु अर्जुन साउद (तस्विरमा दाहिने), रिजन ढकाललगायतले पनि खेल्दैछन् ।

नटिङहम काउन्टीमा आबद्ध दीपेश सापकोटा पनि प्रतियोगिता खेल्नेछन्।

खेल तालिका:


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू