गोर्खा मिडिया निर्देशक मिलन तमुलाई डेढ लाख रुपिया नगदसहित सम्मान

लन्डन- बेलायतमा क्रियाशिल नेपाली पत्रकार मिलन तमु करिब डेढ लाख रुपिया नगदसहित सम्मानित भएका छन् ।
तमु प्ये ल्हु संघ यूकेले शनिबार आफ्नो वार्षिक भेटघाट तथा समर बारबीक्यूका अवसरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुलाई सम्मान गरेको हो ।
संस्थाको स्थापना कालदेखि नै पु¥याएको विशेष योगदानको कदर गर्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।
बेलायतको रेडिङस्थित संघको आफ्नै भवनमा आयोजित कार्यक्रममा अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङले पत्रकार तमुलाई ७५० पाउण्ड (करिब १ लाख ५० हजार नेपाली रुपैयाँ) नगद, संस्थाको ब्याज, फेटा र सम्मान पत्रले सम्मान गरेका थिए ।
तमुले संस्थाका विभिन्न गतिविधि, विशेष गरी ’क्होसोथर भ्रमण’ का क्रममा फोटो, भिडियो र समाचार सम्प्रेषणमार्फत मिडिया क्षेत्रबाट पु¥याएको योगदानको उच्च मूल्यांकन गरिएको संघले जनाएको छ।
सोही अवसरमा ’खोलासोथर भ्रमण’ मा सहभागी सम्पूर्ण टोलीलाई पनि संस्थाले सम्मान पत्र वितरण गर्दै स्वागत गरेको थियो। धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा मनाइएको उक्त कार्यक्रममा ‘छ्योपा’ र ‘थासो’ पूजा समेत गरिएको थियो ।
युवाहरूका लागि विभिन्न खेलकुद र बारबिक्यूको आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा वरिष्ठ कलाकार शर्मिला गुरुङ, शर्मिला गुरुङ ’सारु’, कौडा किङ दुर्गा गुरुङ, तिलक गुरुङ र ’द भ्वाइस अफ नेपाल’ कि दोस्रो रनर–अप पुनम गुरुङ लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति दिएका थिए ।



