क्षेत्री समाज यूकेको १९औँ वार्षिक भेला १२ जुलाईमा, गुल्मेली पञ्चेबाजा मुख्य आकर्षण

लन्डन । क्षेत्री समाज यूकेको १९औँ वार्षिक भेला आगामी १२ जुलाई २०२६, आइतबार अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ हलमा भव्य रूपमा आयोजना हुने भएको छ।
बेलायतमा रहेका नेपाली समुदायबीच पारिवारिक एकता, आपसी सद्भाव तथा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले गरिने यस वर्षको कार्यक्रममा गुल्मेली पञ्चेबाजा विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। नेपाली मौलिक संस्कृतिको प्रतीक मानिने पञ्चेबाजाले कार्यक्रममा सहभागीहरूलाई आफ्नै गाउँघर र परम्पराको अनुभूति दिलाउने विश्वास आयोजकले लिएको छ।
समाज स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा क्षेत्री समाज यूकेद्वारा प्रकाशित स्मारिका तथा पुस्तकको औपचारिक विमोचन पनि सोही समारोहमा गरिनेछ। पुस्तक प्रकाशन संयोजक शीला थापाका अनुसार सम्पादन, डिजाइन तथा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ।
समाजका अध्यक्ष क्याप्टेन टेक जिसीले बेलायतभर बसोबास गर्ने तथा हाल बेलायत भ्रमणमा रहेका क्षेत्री बुवा–आमा, दाजुभाई, दिदीबहिनी, परिवारजन, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई यस ऐतिहासिक अवसरलाई अझ भव्य, सभ्य र सफल बनाउन हार्दिक अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाली संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति, परम्परागत नेपाली परिकार, चर्चित कलाकार तथा डिजेद्वारा सांगीतिक मनोरञ्जन, साथै समाजका बालबालिका र स्थानीय प्रतिभाहरूको विशेष प्रस्तुति रहनेछ।
कार्यक्रम संयोजक दिल जिसीका अनुसार समाजका विभिन्न समूहहरूको सक्रिय सहभागितामा आकर्षक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रम बिहान ११ देखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
“जातको लागि होइन, साथको लागि हामी“ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढिरहेको क्षेत्री समाज यूके हाल क्षेत्री वेलफेयर फाउन्डेसन यूकेका रूपमा बेलायतमा विधिवत् दर्ता भएको च्यारिटी संस्था हो। समाजले नेपाली भाषा, कला, संस्कृति, सामाजिक एकता तथा परोपकारी कार्यहरूलाई निरन्तर अघि बढाउँदै आएको छ।
यो कार्यक्रम केवल वार्षिक भेटघाट मात्र नभई नेपाली पहिचान, संस्कृतिप्रतिको सम्मान र भावी पुस्तासम्म नेपाली मौलिक सम्पदाको हस्तान्तरण गर्ने साझा अभियान भएको उल्लेख गर्दै समाजले सबैलाई परिवारसहित उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन पुनः अनुरोध गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



