शुक्रबार, २६ जुन, २०२६
21:54 | ०२:३९

बेलायती विश्वविद्यालयमा नेपाली विद्यार्थीले देखाए लाखेनाच

नेपाली लिङ्क जुन २६, २०२६

लन्डन- बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयमा नेपालको मौलिक लाखेनाचसहितका विविध नेपाली कला, संस्कृति र भेषभूषा प्रदर्शन गरिएको छ।

मंगलबार विश्वविद्यालयको लन्डन क्याम्पसमा आयोजित सांस्कृतिक महोत्सवमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली कला, संस्कृति झल्काउने सुन्दर प्रस्तुति गरेका थिए ।

विश्वविद्यालयमा आयोजित सांस्कृतिक महोत्सवमा नेपालसहित अन्य थुप्रै देशबाट आएका विद्यार्थीहरुले समेत विभिन्न प्रस्तुतिमार्फत् आआफ्नो कला, संस्कृति देखाएका थिए ।

त्यसअघि विद्यार्थीहरुले आ आफ्नो देश र समुदायलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पोशाकहरुमा सजिएर र्याम्पमा वाक गरेको दृश्य निकै रमाइलो थियो । सो अवसरमा नेपाली विद्यार्थीहरुले पनि मौलिक नेवारी पोशाकहरुको प्रदर्शनी गरेका थिए।

विश्वविद्यालयको नेप्लिज सोसाइटीको सहकार्यमा गरिएको कार्यक्रमको संयोजन भने विद्यार्थी युनियन अध्यक्ष सुरज आचार्यले गरेका थिए ।

कार्यक्रमपछि नेपाली विद्यार्थीहरुले विदेशी भूमिमा मौलिक नेपाली कला, संस्कृति, भेषभूषासहितको प्रस्तुति हेर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

कार्यक्रममा सहभागी एक विद्यार्थी जीवन श्रेष्ठले नेपालीलिंकसंग भने, ‘यो कार्यक्रमले सबै विद्यार्थीहरुलाई नेपालको झझल्को दिलायो । बेलायतजस्तो ठाउंमा आफ्नो परिवारदेखि टाढा बसिरहेका विद्यार्थीहरुलाई एक्लोपन महसुस हुन नदिन पनि कार्यक्रम निकै सहयोगी बन्यो।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू