बेलायतको काउन्टी क्रिकेटमा चम्कंदै १५ वर्षीय नेपाली किशोर


लन्डन । १५ वर्षीय नेपाली किशोर दिपेश सापकोटा बेलायतको काउन्टी क्रिकेट प्रणालीमा उदाउँदो प्रतिभाका रूपमा अघि बढिरहेका छन्।
हाल डार्बीसायरस्थित निजी विद्यालय ट्रेन्ट कलेजमा कक्षा १० मा अध्ययनरत उनी नटिङ्घमसायर इमर्जिङ प्लेयर प्रोग्राम (इपीपी) अन्तर्गत प्रशिक्षण लिँदै नटिङ्घमसायर काउन्टी क्रिकेटको एकेडेमी स्तरमा सक्रिय छन्।
नटिङ्घममै जन्मिएका दिपेशले ६ वर्षको कलिलो उमेरमै क्रिकेट खेल्न सुरु गरेका थिए । आठ वर्षको उमेरमै उनी नटिङ्घमसायर काउन्टी क्रिकेटको अन्डर–१० टोलीमा छनोट भए । सन् २०१९ मा अन्डर–१० मा छनोट भएपछि उनले त्यही वर्ष पाँच खेल खेलेका थिए । त्यसयता उनले विभिन्न स्तरका खेलमा झन्डै पाँच हजार ५० रन बनाइसकेका छन्।
१४ वर्षको उमेरमा उनले १०० बलमा १६३ रनको उत्कृष्ट व्यक्तिगत स्कोर बनाएका थिए । उक्त प्रदर्शन लेष्टरसायर एन्ड रुटल्यान्ड क्रिकेट फाउन्डेसन र नटिङ्घमसायरबीच भएको खेलमा आएको थियो ।
यसै वर्ष मे महिनामा नटिङ्घमको प्रिमियर डिभिजनमा क्याभिलियर्स एन्ड क्यारिङ्टन क्रिकेट क्लबको प्रतिनिधित्व गर्दै दिपेशले १४३ रनको अविजित इनिङ खेलेर टोलीलाई जित दिलाए । उक्त स्तरमा यती कम उमेरमै यस्तो प्रदर्शन गर्ने उनी सम्भवतः नेपालीमात्र नभई बेलायतकै कान्छा खेलाडीमध्ये एक मानिन्छन्।

दिपेशको पारिवारिक पृष्ठभूमि पनि क्रिकेटसँग जोडिएको छ। उनका बुबा दीपक सापकोटा नटिङ्घम नेपाली समाजका पूर्वअध्यक्ष हुन्। गुल्मी जिल्लाको मुसीकोट नगरपालिका–वामी टक्सार मूल घर भएका दीपक सन् २००५ मा सेफ भिसामा बेलायत आएका थिए । हाल चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उनी मिडल्यान्ड नेपाली क्रिकेट लिगका संस्थापक संयोजक तथा नटिङ्घम गोर्खा क्रिकेट क्लबका पूर्वकप्तान पनि हुन्।
बुबाको प्रेरणा र पारिवारिक वातावरणले आफूलाई क्रिकेटप्रति आकर्षित गरेको दिपेश बताउँछन्। आमा सीता सापकोटा र दिदी दिपिकासँग नटिङ्घममा बस्दै आएका दिपेश अहिले पढाइ र क्रिकेट दुवैमा उत्तिकै सक्रिय छन्।
हाल उनी नटिङ्घमसायर इमर्जिङ प्लेयर प्रोग्राम (इपीपी) अन्तर्गत सातामा दुई दिन नटिङ्घमको ट्रेन्ट ब्रिज अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रशिक्षण लिन्छन्। त्यसबाहेक उनी सातामा एक दिन जिम गर्छन् भने विद्यालयमा पनि दुई दिन छुट्टै क्रिकेट प्रशिक्षण लिन्छन्।
दिपेशको लक्ष्य नटिङ्घमसायर काउन्टी क्लबको पहिलो टोलीबाट खेल्ने र इंग्ल्यान्ड अन्डर–१९ टोलीसम्म पुग्ने छ। दीर्घकालीन रूपमा उनले नेपाल प्रिमियर लिग, एनपीएल हुँदै आइपीएलसम्म खेल्ने सपना बोकेका छन्।
नेपाल आउजाउ गरिरहने दिपेश नेपाली भाषा पनि राम्रोसँग बोल्न सक्छन्। पछिल्लो समय उनी बेलायतमा प्रतिष्ठित मानिने बनबरी फेस्टिभलका लागि समेत छनोट भएका छन्, जसले उनको क्रिकेट यात्रामा थप सम्भावनाको ढोका खोलेको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


