बेलायतमा गोर्खा वृद्धवृद्धालाई आक्रमण गर्ने व्यक्ति पक्राउ


लन्डन- बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खामाथि भएको जातीय घृणाप्रेरित आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
ह्याम्पशायर प्रहरीले एसमा बसोबास गर्ने ५८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको र उनी हाल प्रहरी हिरासतमा रहेको जनाएको छ ।
ती व्यक्तिलाई शारीरिक आक्रमण, सार्वजनिक उपद्रव, आपराधिक क्षति तथा जातीय घृणासम्बन्धी सार्वजनिक व्यवस्था उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिले गत मंगलबार साँझ ७ बजेर २४ मिनेटमा अल्डरसटको म्युनिसिपल गार्डन पार्कमा दुई पूर्व गोर्खा सैनिकसहित वृद्धवृद्धा तथा अन्य नेपाली समुदायका व्यक्तिहरूमाथि आक्रमण तथा जातीय दुर्व्यवहार गरेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार उनले जातीय गालीगलौज गर्दै “आफ्नै देश फर्क” भन्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि थप चर्चा र आक्रोश फैलिएको छ ।
भिडियोमा एक पुरुषले पार्कमा रहेका नेपाली समुदायका सदस्यहरूसँग आक्रामक व्यवहार गरेको देखिन्छ ।
ती व्यक्तिले एक युवकलाई लात्तीले हानेको, एक महिलामाथि दुर्व्यवहार गरेको र केही वृद्धवृद्धालाई धकेलेर लडाइएको आरोप छ । घटनाको भिडियो खिच्न खोज्ने एक महिलामाथि समेत आक्रमण भएको बताइएको छ ।
फकल्याण्ड युद्ध लडेका ७७ वर्षीय दावा जे शेर्पा र ८२ वर्षीय खड्कबहादुर पुन घटनास्थलमा उपस्थित थिए । उनीहरू दुवैलाई धक्का लागेको र एक जनाको मोबाइल फोन क्षतिग्रस्त भएको बताइएको छ ।
घटनापछि गोर्खा समुदायले यसलाई गम्भीर जातीय दुर्व्यवहार भन्दै कडा कारबाहीको माग गरेको थियो । प्रहरीले यस घटनाबारे थप जानकारी वा भिडियो फुटेज भएका जो कोहीलाई पनि सम्पर्क गर्न आग्रह गरेको छ ।
उनी हाल प्रहरी हिरासतमा छन्। प्रहरीले यस घटनाबारे थप जानकारी वा भिडियो फुटेज भएका जो कोहीलाई १०१ मा सम्पर्क गर्न वा 44260285455 नम्बर प्रयोग गर्न अनुरोध गरेको छ।
यसका साथै अनलाइनमार्फत पनि सूचना बुझाउन सकिनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


