बेलायती रक्षामन्त्री परिवर्तन भएपनि भूतपूर्व गोर्खा मुद्दामा सघन छलफल जारी


लन्डन । भूतपूर्व गोर्खाहरुका मुद्दा समाधान गर्ने सिलसिलामा बेलायती रक्षा मन्त्रालयसंग सघन छलफल जारी रहेको कार्यवाहक राजदूत विपिन दुवाडीले जनाएका छन् ।
पहिलो पटक मन्त्रिस्तरिय वार्तामा सहभागी रक्षामन्त्री जोन हिलीले गत साता राजीनामा दिएपछि गोर्खा वार्ताबारे अन्यौल भइरहेका बेला कार्यवाहक राजदूत दुवाडीले सो जानकारी दिएका हुन् ।
‘मन्त्री परिवर्तन भएपनि गोर्खा मुद्दामा सघन छलफल भइरहेको छ । म रक्षा मन्त्रालयका अधिकारीहरुसंग सम्पर्कमै छु’, दुवाडीले नेपालीलिंकसंग भने ।
बेलायतका नवनियुक्त रक्षा मन्त्री डान जार्विसलाई गोर्खा वार्ताबारे ‘ब्रीफ’ भइसकेको र उनी सकारात्मक भएको दुवाडीले जनाए ।
अर्को वार्ताको मिति छिट्टै तय हुने अपेक्षा दुवाडीको छ ।
कार्यवाहक राजदूत दुवाडीले तत्कालिन रक्षा मन्त्री हिलीलाई वार्तामा ल्याउन प्रमुख भूमिका निर्वाह गरेका थिए । गोर्खा मुद्दामा बेलायती रक्षामन्त्री र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालबीच पहिलोपटक ‘भर्चुअल’ छलफल भएको थियो । सो क्रममा परराष्ट्र मन्त्री खनालले गोर्खाहरूका गुनासा सम्बोधन गर्दै दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्व दर्शाउँदै न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी मुद्दाहरू सम्बोधन गर्न बेलायती सरकारलाई आग्रह गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


