स्कटल्यान्डमा दोस्रो नेपाली मेला १३ जुलाइमा, तीव्र हुंदैछ तयारी

लन्डन- स्कटल्यान्डमा दोस्रो नेपाली मेला आगामी जुलाइ महिनाको १३ तारिख सोमबार आयोजना हुने भएको छ।
एनआरएनए स्कटल्यान्ड र लन्डनस्थित नेपाली दूतावासको संयुक्त आयोजना तथा स्कटल्यान्डस्थित झण्डै दुई दर्जन नेपाली संस्थाको सहकार्यमा हुने मेलाका लागि अहिले तीव्र तयारी हुंदैछ।
एडिनबरा शहरको मुटु मानिने वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेनस्थित ‘रस ब्यान्डस्ट्यान्ड’ मा बिहान १० देखि बेलुका ७ बजेसम्म मेला सञ्चालन हुनेछ।
मेलामा मौलिक नेपाली कला, संस्कृति, भाषा, संगीत आदिको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ विविध सांस्कृतिक प्रस्तुतिहरु गरिनेछन्।
विभिन्न जातीय र समुदायका संस्कृति र परम्परा झल्काउने झाँकीहरुदेखि सोरठी, लाखे, साकेला, कौडालगायतका सांस्कृतिक नृत्यहरु, नौमति बाजा, धिमेबाजा, भजनकिर्तन, देउडा गीत, झ्याउने गीतसम्मका प्रस्तुति मेलाका प्रमुख आकर्षण रहनेछन्।
मेलामा स्थानीय नेपाली ब्यान्ड र कलाकारहरुका साथै नेपालबाट आएका राष्ट्रिय स्तरका कलाकारसमेतको प्रस्तुति रहनेछ।
मेलास्थलमा नेपाली खाना, हस्तकलादेखि विभिन्न व्यवसायसम्मका दर्जनौं स्टलहरु रहनेछन्। मौलिक नेपाली, नेवारीदेखि धराने म:मसम्मका विविधतायुक्त खानाका परिकारहरु स्टलहरुमा उपलब्ध हुनेछन्।
मेलामा एक हजार बढीको सहभागिता आयोजकले अपेक्षा गरेका छन् । स्कटल्यान्डबाट मात्र नभइ लन्डन र सिंगो बेलायतभरबाट नेपालीहरु उपस्थित हुने आशा आयोजकको छ।
मेलामा अतिथिका रुपमा स्कटल्यान्डका फस्र्ट मिनिस्टरदेखि स्थानीय सांसद, मेयर, काउन्सिलरसहितका विशिष्ट अतिथिहरुलाई निमन्त्रणा पठाइएको छ। साथमा बेलायतका लागि नेपाली राजदूत र दूतावासको टीमसहित बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी हुनेछन्।
मेला आयोजक एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष शेर केसीले स्कटल्यान्डमा नेपाली कला, संस्कृति, भाषा र समग्र नेपालीपन जीवन्त राख्ने प्रयासमा मेला आयोजना गरिएको बताए । स्थानीय नेपाली समुदाय र नेपालीहरुबीचको एकता र सद्भावलाई थप बलियो र सुदृढ बनाउन मेला सहयोगी बन्ने विश्वास उनको छ।
परिषदका सचिव माधव भण्डारीले गत वर्ष पहिलोपटक आयोजना भएको नेपाली मेलाको सफलताबाट उत्साहित भएर मेलाको दोस्रो संस्करण गर्न लागिएको बताए।
यसपटक प्रस्तुति र सहभागिता दुवै हिसाबले मेला झन् वृहद र विशाल गर्ने उद्धेश्यअनुरुप तयारीका कामहरु अघि बढिरहेको उनले जानकारी दिए।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


