सोमबार, ८ जुन, २०२६
14:00 | १८:४५

नीतिनियम पूर्ण पालना गरे बेलायतमा व्यवसाय विस्तारका लागि राम्रो सम्भावना

नेपाली लिङ्क जुन ८, २०२६

लन्डन – बेलायतमा नेपाली मूलका व्यवसायीहरूले यहाँ व्यवसाय विस्तारका लागि राम्रो सम्भावना रहेको भए पनि नीतिनियमको पूर्ण पालना, उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

सेन्टर फर नेपाल स्टडिज (सीएनएस) यूकेद्वारा गत शनिबार आयोजित १८ औं वेबिनारमा बोल्दै ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले बेलायतमा नेपाली व्यवसायको स्वरूप विगतको तुलनामा निकै विविध बनेको बताए।

उनका अनुसार पहिलो पुस्ताका नेपालीहरू मुख्यतः रेष्टुरेन्ट व्यवसायमा केन्द्रित भए पनि नयाँ पुस्ता विभिन्न क्षेत्रका व्यवसायमा प्रवेश गरिसकेको छ।

उनले व्यवसायको मुख्य चुनौती दीर्घकालीन दिगोपन र आगामी पुस्ताका लागि आकर्षक अवसर सिर्जना गर्नु रहेको बताए। बढ्दो सञ्चालन खर्च, नीतिगत परिवर्तन र पारिश्रमिक वृद्धिजस्ता बाह्य चुनौतीसँगै दीर्घकालीन योजना र रणनीतिक सोचजस्ता आन्तरिक पक्षमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

व्यवसायमा प्रवेश गर्न चाहनेहरूले सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग परामर्श गर्नुपर्ने उनले सुझाए।

नेप्लिज क्याटरर्स एसोसिएसन यूकेका अध्यक्ष विजय थापाले प्रारम्भिक चरणमा नेपाली रेष्टुरेन्टलाई चिनाउन कठिन भएकाले व्यवसायको नाममा ‘तन्दूरी’ शब्द जोड्ने प्रचलन रहेको स्मरण गरे। अहिले नेपाली रेष्टुरेन्टले आफ्नै पहिचान बनाइसकेको बताउँदै उनले दक्ष कामदारको अभाव र व्यवसाय युवापुस्तामा हस्तान्तरण गर्न कठिन भइरहेको बताए।

व्यवसायमा आउन चाहनेहरूलाई बजार अध्ययन, सम्भाव्यता विश्लेषण र पूर्ण समय समर्पण गर्न उनले सुझाव दिए।

सुपरिटेनडेन्ट फार्मेसिस्ट तथा नीम ट्री फार्मेसीकी सीईओ एवं संस्थापक शोभा शर्मा कँडेलले स्वतन्त्र फार्मेसी व्यवसाय चेन तथा अनलाइन फार्मेसीहरूसँगको तीव्र प्रतिस्पर्धामा रहेको बताइन्। फार्मेसी क्षेत्र अत्यन्तै नियमनयुक्त व्यवसाय भएकाले नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ थियो।

उनले भविष्यमा नेपालीहरूको सहभागिता यस क्षेत्रमा बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरिन्। व्यवसायमा सफल हुन स्पष्ट दृष्टिकोण, निरन्तर सिकाइ र आत्मविकासमा लगानी आवश्यक हुने उनले बताइन्।


इरो सुशी कम्पनीका निर्देशक तथा युवा उद्यमी छोङ शेर्पाले नेपालको दुर्गम क्षेत्रबाट अध्ययनका लागि बेलायत आएपछि सुरु गरेको आफ्नो यात्रा सुनाउँदै सुसी रेष्टुरेन्ट व्यवसायलाई विस्तार गर्दै हाल ३४ वटा फ्रेन्चाइज सञ्चालनमा रहेको जानकारी दिए।

व्यवसायमा सफलता प्राप्त गर्न दक्षता मात्र पर्याप्त नहुने र नयाँ प्रविधिको प्रयोग अपरिहार्य रहेको उनको भनाइ थियो। उनले नेपाली खानाको, विशेषगरी ममको, अन्तरराष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको बताउँदै ग्राहकहरूलाई त्यसबारे थप जानकारी गराउनु चुनौतीपूर्ण रहेको उल्लेख गरे।

व्यवसाय सुरु गर्नुअघि बजारमा रहेका समस्याको पहिचान गरी त्यसको समाधान दिन सकिने क्षमता आफूसँग छ वा छैन भन्ने मूल्याङ्कन गर्न पनि उनले सुझाव दिए।

कार्यक्रममा प्यानलिष्टहरुले सहभागीहरुका प्रश्नको जवाफ पनि दिएका थिए।

सीएनएस यूकेले हरेक महिनाको पहिलो शनिबार ‘नेपाल संवाद शृंखला’ आयोजना गर्दै आएको छ।

गत शनिबार आयोजित वेबिनारको सहजीकरण पत्रकार भगीरथ योगीले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू