आइतबार, ७ जुन, २०२६
14:02 | १८:४७

चौंथो मिडल्यान्ड नेपाली मेला २७ जुलाइमा नटिङहममा, यस वर्ष झन् धेरै आकर्षण

नेपाली लिङ्क जुन ७, २०२६

लन्डन- चौंथो मिडल्यान्ड नेपाली मेला आगामी २७ जुलाइमा नटिङहममा हुने भएको छ। नेपाली समाज नटिङहमको आयोजनामा मिडल्यान्डस्थित करिब एक दर्जन नेपाली संघसंस्थाको सहकार्यमा हुने मेलाको लागि अहिले तीव्र तयारी भइरहेको छ।

नटिङहमको मेलवर्न पार्कमा बिहान १० बजेदेखि बेलुका ९ बजेसम्म मेला सञ्चालन हुनेछ । सो अवसरमा नेपाली कला, संस्कृति, भाषा, धर्म झल्किने थुप्रै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति दिनेछन्।

मेलामा बेलायतभरबाट आउने नेपाली खेलाडीहरुको सहभागितामा एक भलिबल प्रतियोगिता समेत सञ्चालन हुनेछ।

मेलास्थलमा नेपाली खानाका साथै विभिन्न नेपाली पोशाक, सामग्री र व्यवसायहरुका नेपालीपन झल्किने स्टलहरु राखिनेछन् । त्यस्तै, बालबालिकाको लागि बाउन्सी क्यासल, फुटबलसहितका खेलहरु पनि व्यवस्था गरिंदैछ।

मेलामा मौलिक नौमती बाजा, थपडी र मादलमा तीजको मौलिक नाचगान, भजनकिर्तन, लाखे नाचसहितका सांस्कृतिक आकर्षण रहनेछन्।

साथमा, मेलामा सहभागीहरुमाझ लुठो तानातान, कबड्डी, घैंटो फोर्ने खेल, पत्नी बोक्ने दौडजस्ता थुप्रै मनोरञ्जनात्मक खेल पनि खेलाइनेछ । साथमा, आकषृक पुरस्कारहरुसहितको राफल ड्र पनि गरिनेछ।

मेलामा मिडल्यान्ड क्षेत्रबाट मात्र नभइ सिंगो बेलायतभरबाट नेपालीहरुको सहभागिता अपेक्षा गरिएको छ। मेलामा सबैलाई प्रवेश निशुल्क छ।

मेला आयोजक नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारीले मेला केवल मनोरञ्जनका मात्र नभइ नेपाली कला, संस्कृति प्रवद्र्धनका साथै नयाँ पुस्तासम्म हस्तान्तरणसम्मको लक्ष्य राखिएको बताए । नेपाली व्यवसायहरुको प्रवद्र्धनदेखि खेलाडी र अरु प्रतिभाहरुलाई प्रोत्साहन, नेपाली समुदायभित्रको सद्भाव अभिवृद्धिलगायतको कार्यमा मेलाले योगदान दिने अपेक्षा आयोजकले राखेको उनले बताए।

‘आयोजक नेपाली समाज नटिङहम भएपनि मेलाका लागि मिडल्यान्डका सबै नेपाली संस्थाहरुको सहकार्य छ। त्यसैले हामीले नाम नै मिडल्यान्ड नेपाली मेला भनेका छौं’, अध्यक्ष अधिकारीले नेपालीलिंकसंग भने, ‘मेला बेलायतभरको सिंगो नेपाली समुदायलाई लक्षित गरेर गर्न लागिएको हो । बेलायतका हरेक क्षेत्रबाट नेपाली दिदीबिहनी, दाजुभाइहरु आउनुहुन्छ भन्ने आशा हामीले लिएका छौ।’

विगत केही वर्षदेखि वर्षेनी हुंदै आएको मिडल्यान्ड नेपाली मेलाको यो चौंथो संस्करण हो । नेपाली समाज नटिङहम मूल आयोजक रहेको मेलामा मिडल्यान्डस्थित साझा नेपाली समाज, श्रृजनशिल लेष्टर नेपाल, हाम्रो नेपाली समाज वुल्भरह्याम्पटन, शान्ति नेपाली समाज बेलायत, कोभेन्ट्री नेपाली समाज, ग्रान्थम नेपाली समाज, यार्डली नेपाली समाज बर्मिङहम, गोर्खा नेपाली समाज ननिटन, डर्बी नेपाली समाज, बिजिइएसएनसहितका संघसंस्थाको सहकार्य छ । मेलाको मिडिया पार्टनरमा नेपाली लिंक र स्कटनेपाल छन्।

नेपाली कला, संस्कृति, खेलकुद, खाना, बजारलगायतका थुप्रै मनोरञ्जन र आकर्षण रहने मिडल्यान्ड नेपाली मेलामा सहभागी भएर समर फेमिली डे आउट का रुपमा इन्जोइ गर्न आयोजकले बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन्।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू