शनिबार, ६ जुन, २०२६
15:35 | २०:२०

अल्डरसटमा टिपिकल नेवारी परिकार खुवाइरहेको भिन्तुना रेष्टुरेन्ट

नेपाली लिङ्क जुन ६, २०२६

लन्डन । रसमोर बरो अन्तर्गत अल्डरसट शहरमा अहिले नेपालीको बसोवास उल्लेख्य छ । र, नेपालीको व्यापार व्यवसाय पनि अनगिन्ती बढेका छन् । विशेष गरि रेष्टुरेन्ट व्यवसाय खुल्ने क्रम निकै बढेको छ । तिनै असंख्य रेष्टुरेन्टमाझ एउटा अथेन्टिक नेवारी खाना पस्कने ‘भिन्तुना’ ले ग्राहक लोभ्याइरहेको छ ।

व्यवसायी सपन प्रधानले दुई वर्षअघि सन् २०२४ मेमा ‘भिन्तुना’ खोलेका हुन् एकल लगानीमा । करिब ५० जना अट्ने सिट क्षमताको यस रेष्टुरेन्ट सातै दिन दिउसो एकदेखि राती १० बजेसम्म खुल्छ ।

‘भिन्तुना’ अथेन्टिक नेवारी खानाका लागि जति प्रख्यात छ, यहांको वातावरण र रेष्टुरेन्टका भौतिक संरचनाले पनि स्वदेशी विदेशी ग्राहक आकर्षित भइरहेका छन् ।

भक्तपुरबाट ल्याइएका नेवारी खानामा पोख्त दुई जना व्यवसायिक सेफले विविध परिकार बनाउंछन् । नेपालमा आफ्नै रेष्टुरेन्ट चलाइरहेका बेला प्रधानले ति सेफहरुलाई वर्क परमिटमा बेलायत ल्याए । नेपालका अनुभवी सेफहरुले पकाउने नेवारी परिकार जस्तै- चटामरी, एग बारा, बफ छोयला, योमरी, नेवारी खाजा सेट (समयबजी) हयाकुला, खसीको टाउको, मोमोचा, बफ सुकुटी, बफ चाउमिन, चिकेन मःम सांढेको आदि यहां निकै प्रख्यात छ । छ्याङ, भक्तपुरकै स्वाद दिलाउने ‘जुजु धौ’ पनि उपलब्ध छ भिन्तुनामा । खाना र पेय पदार्थका लागि कासका अंखोरा, गिलास, कचौरा, चम्चा, थाल दिइन्छ ।

‘मौलिक नेवारी खानाकै लागि स्कटल्याण्ड, मिडल्याण्ड, लन्डन लगायत टाढा टाढाबाट समेत ग्राहक आउनुभएको छ’, सञ्चालक सपन प्रधानले भने, ‘खानाको गुणस्तर र ग्राहकलाई गरिने न्यानो स्वागत सत्कार नै यसका विशेषता हुन् ।’ ‘भिन्तुना नामाकरण नेवारी भाषाबाट गरिएको हो जसले शुभकामना जनाउंछ’, सपन भन्छन्, ‘हाम्रो रेस्टुरेन्टमा हामी अथेन्टिक नेवारी र नेपाली खाना मात्र प्रदान गर्दैनौं, ग्राहकको आनन्द र सन्तुष्टिका लागि हार्दिक शुभकामना पनि व्यक्त गर्दछौं ।’

रेष्टुरेन्टको बनावट पनि आकर्षक लाग्छ । स्वागतद्धार देखि नै टिपिकल नेवा भाइब्स् दिने खालको छ यो । हाकुपटासाको थिममै कलर गरिएको छ । नेपकिन रातो कलरकै छ । यत्रतत्र भैरव र गणेशका मूर्ती सजिएका छन् । पानस, भित्तामा टांगिएका आंखी झ्याल, डोल्चा (क्यान्डल होल्डर) ले सुनमा सुगन्ध थपेको छ ।

सन् २००० मा अध्ययनका लागि बेलायत आए सपन । डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न आएका उनले पढ्दा पढ्दै वर्क परमिट पाए । एनआरएनए यूके पूर्व अध्यक्ष एवं व्यवसायी अशोक श्रेष्ठको ओरियन्टल बफेट फोकस्टनमा सन् २००१ देखि २००४ सम्म काम गरे । त्यसपछि मार्गेटमा अवस्थित ओरियन्टलमा एक वर्ष काम गरेर फेरि फोकस्टन ओरियन्टलमै फर्किए ।

अशोक श्रेष्ठले क्याम्बर्लीमा ‘शो एसिया’ खोलेपछि २००६ नोभेम्बरमा म्यानेजर बनेर त्यहां काम थाले । श्रेष्ठसंग सपनको निकटता दाजुभाई जस्तो थियो । सपन ‘शो एसिया’ को औपचारिक उद्घाटन भन्दा दुई महिनाअघि नै त्यहां काम थालेका थिए तयारी स्वरुप । सपनले सन् २०१० सम्म काम गरे त्यहां ।

सन् २०१४ बाट भने सपनले आफैं व्यवसायतिर हात हाले । उनले फार्नबोरोमा ‘एभरेष्ट तन्दुरी’ किने जुन उनको आफ्नै लगानीको पहिलो रेष्टुरेन्ट थियो । खरिद गरेको एक वर्षमै डबल विजनेशसहित एभरेष्ट तन्दुरी निकै प्रख्यात भयो । यो व्यवसायिक सफलताले सपन झन् उत्साहित भए ।

‘त्यतिबेला व्यवसाय सञ्चालन गर्न त्यति चुनौति सामना गर्नु परेन । तर, अहिले अनुभवी सेफ पाउन गारहो छ किनकि वर्क परमिटमा नेपालबाट ल्याउन अप्ठ्यारो भइसक्यो’-उनले भने । सपनले लन्डन र नर्थ इंग्ल्याण्डमा अरु रेष्टुरेन्ट खोल्ने आफ्नो योजना जनशक्ति अभावले 
रोकिएको पनि सुनाए ।

सपनले नेपालमा विद्यार्थी छंदादेखि नै ट्राभल एजेन्सी र द्धारिकाज होटलमा करिब ६ वर्ष काम गरे । द्धारिकाज उनको आफ्नै फुपुको होटल थियो । शंकरदेवबाट कमर्समा ग्रयाजुएसन गरेपनि सपनको रुची र अनुभव हस्पिटालिटीमै थियो जसका कारण उनी त्यही विषय लिएर पढ्न बेलायत आएका थिए ।

अहिले व्यवसायमा सफलता चुमिरहेका सपन क्याम्बर्लीमा श्रीमति, छोरा र छोरीका साथ बस्छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू