शुक्रबार, ५ जुन, २०२६
15:55 | २०:४०

बेलायती विश्वविद्यालयमा स्पन्सरसीप लाइसेन्सको नयाँ मापदण्ड

नेपाली लिङ्क जुन ५, २०२६

फाइल तस्बिर

लन्डन- बेलायतमा अध्ययन गर्नका लागि हरेक वर्ष हजारौँ नेपालीसहित लाखौं युवाले भिसा आवेदन दिन्छन् । तर अहिले त्यो बाटोमा एउटा नयाँ अवरोध खडा भएको छ । जसका कारण विद्यार्थी मात्र होइन, बेलायतका विश्वविद्यालयहरू समेत समस्यामा परेका छन् ।

बेलायतमा कुनै पनि विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न सरकारको अनुमतिपत्र चाहिन्छ । यसलाई स्पन्सरसिप लाइसेन्स भनिन्छ । यो लाइसेन्स राख्न विश्वविद्यालयले आफूले भर्ना गरेका विद्यार्थीमध्ये कतिको भिसा रिजेक्ट भयो भन्ने हिसाब राख्नुपर्छ ।

पहिले यो सीमा १० प्रतिशत थियो । अर्थात् एक सय विद्यार्थीमध्ये १० जनाको भिसा रिजेक्ट भए पनि विश्वविद्यालयको लाइसेन्स सुरक्षित थियो । तर बेलायत सरकारले अब यो सीमा घटाएर जम्मा ५ प्रतिशत बनाइदिएको छ । र, यो नियम यही जुन १ देखि पूर्ण रूपमा लागू भइसकेको छ ।

अब यदि कुनै विश्वविद्यालयले एक हजार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्‍यो र त्यसमध्ये ५१ जनाको मात्र भिसा रिजेक्ट भयो भने, त्यो विश्वविद्यालयको लाइसेन्स नै खतरामा पर्छ । लाइसेन्स गयो भने अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अधिकार नै खारेज ।

यसको असर तुरुन्तै देखियो । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म बेलायतमा विद्यार्थी भिसाका आवेदन गत वर्षको तुलनामा ३३ प्रतिशतले घटे । यो विगत पाँच वर्षकै सबैभन्दा कम हो । सर्वेक्षणमा सामेल १० मध्ये ७ विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्नातकोत्तर विद्यार्थी ३१ प्रतिशतले घटेको जनाए । कतिपय विश्वविद्यालयले त बंगलादेश र पाकिस्तानबाट विद्यार्थी भर्ना गर्न नै बन्द गरिसके ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्थानीय विद्यार्थीभन्दा औषत चार गुणा बढी शुल्क तिर्छन् । यो नै बेलायती विश्वविद्यालयहरूको मुख्य आम्दानीको स्रोत हो । तर स्पन्सरसिप लाइसेन्स खारेज हुने डरले विश्वविद्यालय आफैँले विद्यार्थी रोक्न थालेका छन् ।

सन् २०२४ मा बेलायतमा नेपाली विद्यार्थीको भिसा रिजेक्सन दर २ प्रतिशत मात्र थियो । सन् २०२५ मा यो एकैपटक १६ प्रतिशत पुग्यो । यसको मतलब नेपाली विद्यार्थीका लागि बेलायत अध्ययान थप कठिन बन्दै गइरहेको छ । र, यसको असर बेलायतमा अध्ययनको सपना देख्ने युवाहरूमाथि परेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू