अल्डरसटमा २१ जम्भला अभिषेक तथा धर्मदेशना विशेष कार्यक्रम गर्ने तयारी


लन्डन । रेडिङस्थित बुद्धिष्ट गुम्बा रेडिङ यूकेले आउंदो ७ जुन आइतबार २१ जम्भला अभिषेक तथा धर्मदेशना कार्यक्रम गर्ने भएको छ ।
परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोचे गुरुको विशेष प्रवचनमा २१ जम्बला (कुबेर) अभिषेकसहित धर्मदेशना हुन लागेको आयोजकले आइतबार गुम्बामा एक पत्रकार सम्मेलनमार्फत जनाएका हुन् ।
तिब्बती बौद्ध धर्मका उच्च कोटीका विद्वान, ध्यानसाधक तथा करुणामय गुरुका रूपमा विश्वभर चिनिने ग्याङ खाङ रिन्पोचेको उपस्थितिमा अल्डरसटस्थित एम्पायर हलमा विशेष आध्यात्मिक समारोह हुने भएको हो । यसका लागि १५ जना धर्म गुरु सहभागी हुनेछन् ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके, शेड्रुप दोजो गात्सल र पेमा कारा गात्सलको संयुक्त आयोजनामा हुने यो कार्यक्रम बिहान ११ः३० बजे सुरु भई अपराह्न ४ः३० बजेसम्म चल्नेछ।
२० पाउण्ड प्रवेश शुल्क लाग्ने उक्त अनुष्ठानमा भक्तजनहरुलाई निशुल्क सफ्ट ड्रिंग्स र खाजा प्रदान गरिने छ ।
चौथो ग्याङ्खाङ छोत्रुल अवतारका रूपमा चिनिने रिन्पोछेले यस विशेष अवसरमा सहभागीहरूलाई सम्पत्ति, समृद्धि र पुण्य सञ्चयसँग सम्बन्धित २१ जम्भलाको पवित्र अभिषेक प्रदान गर्नेछन्।

पत्रकार सम्मेलनमा बुद्धिष्ट गुम्बा रेडिङ यूकेका मूल गुरु श्रद्धेय खेन् रिम्पोछे शीर लामाले भक्तजनहरुलाई कार्यक्रममा सहभागी भई शान्ति, आनन्द र आध्यात्मिक आशीर्वाद प्राप्त गर्न अनुरोध गरे ।
रिम्पोछेले अभिषेकको महत्वमाथि प्रकाश पार्दै यूकेमा २१ वटै कुवेरको अभिषेक यसअघि कहिल्यै नभएको बताए ।
उनले चिनिया, भोट र अंग्रेजी भाषामा प्रवचन हुने जानकारी पनि दिए । उनले उक्त कार्यक्रममा टिचिङलाई प्राथमिकता दिइने भएकाले उपासक उपासिकाहरुले मौलिक पोशाकमा सहभागिता जनाउने उल्लेख गरे ।
भक्तजनहरुले ल्याउने प्रसाद, भेटी, फलफूल स्वयंसेवकमार्फत व्यवस्थित गरिने मुल गुरु रिम्पोछे शीर लामाले जनाए ।
आयोजकले इच्छुक भक्तजन तथा नेपाली समुदायका सदस्यहरूलाई समयमै उपस्थित भएर कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
पत्रकार सम्मेलनमा बुद्धिष्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल कोने गुरुङले स्वागत मन्तव्य दिंदै २१ जम्भला अभिषेक कार्यक्रममा धर्मगुरु ग्याङ खाङ रिन्पोचेले बुद्ध धर्मबारे ज्ञान प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
महासचिव कोनेले विश्वप्रसिद्ध गुरु ल्याएर बुद्ध धर्मलाई प्रवर्धन गर्ने गुम्बाको उद्देश्य रहेको तर यसबाट कुनै मुनाफा गर्नेतिर नसोचिएको स्पष्ट पारे । उनले पत्रकारहरुलाई आभार समेत व्यक्त गर्दै भक्तजनहरुलाई निमन्त्रणा पनि दिए ।
ग्याङ खाङ रिन्पोचे जुन ४ तारिख आएर १५ तारिखसम्म बेलायतमा रहने र यहां रहंदा केन्ट तथा डायमण्ड बुद्धिष्ट सेन्टर साउथ इष्ट लन्डनमा समेत प्रवचन गर्ने कार्यक्रम छ ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङले यस महत्वपूर्ण आध्यात्मिक कार्यक्रममा सहभागी हुन सबै भक्तजनहरुमा अपिल गरेका छन् । उनले आफूहरुले सन् २०१८ मा पनि विश्वप्रसिद्ध धर्म गुरु निम्त्याएर रिभरमेड हलमा यस्तै कार्यक्रम गरेपनि यसपटक झन् विशेष गर्न लागिएको बताए ।
कार्यक्रममा रिन्पोछेद्वारा बुद्ध शिक्षाको अमृतमय ज्ञान र आध्यात्मिक मार्गदर्शन समेत प्रदान गरिनेछ। विश्वभर करुणा र प्रज्ञाको सन्देश फैलाउँदै आएका रिन्पोछेबाट प्राप्त हुने यो अभिषेकलाई एक दुर्लभ र पूण्यमय अवसरको रूपमा लिइएको छ ।
समारोहको अर्को मुख्य आकर्षणका रूपमा दक्षिण भारतस्थित नम्ड्रोलिङ गुम्बामा हजारौँ भिक्षुहरूले विशेष साधना गरी तयार पारेको पवित्र ‘याङबुम’ (कलश) वितरण समेत गरिनेछ। कलश लिन बुकिङ शुरु भइसकेको आयोजकले जनाएका छन् ।
रिन्पोछेको साधना विधिद्वारा प्राण प्रतिष्ठा गरिएको उक्त कलशले घर र जीवनमा सुख–समृद्धि ल्याउने जनविश्वास छ ।
सो अवसरमा एस के गुरुङले मिडियाकर्मीहरुको परिचय दिएका थिए ।
आयोजकले केही जानकारी लिन परे ०७७०१०१५७९० वा ०७७५३१३६०५१ मा सम्पर्क गर्न सकिने जनाएका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


