बुधबार, २७ मे, २०२६
21:10 | ०१:५५

सपनाको देश बेलायत: विद्यार्थी जीवन र बढ्दै गएको सम्बन्धको अवसान

सन्दीप भट्ट मे २७, २०२६

नेपालमा हुँदा प्रदीप, उमेर ३१ (नाम परिवर्तित) र २२ वर्षकी सृष्टिको संसार निकै रङ्गीन थियो। काठमाडौँको एउटा प्रतिष्ठित कलेजमा व्यवस्थापन पढ्दै गर्दा सुरु भएको उनीहरूको प्रेम सम्बन्ध दुई वर्षपछि थप एउटा नयाँ मोडमा पुग्यो। दुवैले सँगै सपना देखे बेलायत गएर उच्च शिक्षा हासिल गर्ने र आफ्नो भविष्य सुधार्ने।

विदेश जाने प्रक्रिया सहज बनाउन र आर्थिक भार बाँड्नका लागि उनीहरूले हतारमै कानुनी रूपमा विवाह गरे। प्रदीप ‘मेन एप्लिकेन्ट’ (विद्यार्थी) बने र सृष्टि ‘डिपेन्डेन्ट भिसा’ मा उनीसँगै उडिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हात समात्दै गर्दा उनीहरूलाई लागेको थियो, ‘हामी संसार जित्न जाँदैछौँ।’ तर, लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएपछि सुरु भएको कठोर यथार्थले उनीहरूको त्यो रोमान्टिक भ्रमलाई धेरै दिन टिकाइराख्न सकेन।

कलेजको फी र १३ घण्टाको सिफ्ट

बेलायत पुगेपछि प्रदिपको दिनचर्या कलेजका असाइनमेन्ट, लेक्चर र कलेजको कडा नियमहरूमा बाँधियो। अर्कोतर्फ, घरको कोठा भाडा, रासन र प्रदीपको अर्को सेमेस्टरको महँगो विश्वविद्यालय फी जुटाउने मुख्य जिम्मेवारी सृष्टिको काँधमा आइलाग्यो।

नेपालमा हुँदा कहिल्यै कडा श्रम नगरेकी सृष्टिले त्यहाँ दैनिक १२ देखि १३ घण्टासम्म एउटा स्टोर र केयर होममा काम गर्नुपर्ने भयो। प्रदीप कलेज र आंशिक कामबाट थकित भएर कोठामा फर्कँदा सृष्टि काममा निस्किसकेकी हुन्थिन्। सृष्टि मध्यरातमा लखतरान भएर फर्कँदा प्रदिप ल्यापटप अगाडि असाइनमेन्टमा घोरिइरहेका हुन्थे। एउटै कोठामा बस्ने यो जोडीका लागि बिस्तारै ‘हामी सँगै छौँ’ भन्ने भावना हराउँदै गयो। सातामा एकपटक सँगै बसेर खाना खानु पनि उनीहरूका लागि विलासिता बन्न थाल्यो।

संवादहीनता र ‘तिमीले गर्दा’ को चक्रव्यूह

शारीरिक र मानसिक थकाइले दुवैमा चिडचिडाहटपन बढाउन थाल्यो। सुरु–सुरुमा ‘कस्तो छ?’ भनेर सोधिने प्रेमिल प्रश्नहरू बिस्तारै ‘यो बिल किन तिरेनौ?’, ‘पैसा कता गयो?’ जस्ता आर्थिक बहसहरूमा परिणत हुन थाले।

एक साँझ, युनिभर्सिटीको फी बुझाउने अन्तिम मिति नजिकिँदै गर्दा कोठामा ठुलो विवाद भयो। सृष्टिले रुँदै भनिन्, ‘म तिम्रो पढाइ खर्च धान्नका लागि मात्र यहाँ आएकी जस्तो भयो। मेरो आफ्नै जिन्दगी, आफ्नै रहर र आराम कता हरायो?’

प्रदीपको आफ्नै तनाव थियो। उनले आक्रोशमा जवाफ फर्काए, ‘बेलायत आउने रहर तिम्रो पनि त थियो! म यहाँ रमाइलो गरिरहेको छु र? म पनि त दिनरात पढाइ र कामको तनावमा छु।’

यो विवाद केवल एक दिनको थिएन। यो त लामो समयदेखि गुम्सिएको एक्लोपन, मानसिक तनाव र संवादहीनताको विस्फोट थियो।

‘तिमीले गर्दा म यहाँ दुःख पाउँदैछु’ भन्ने आरोप–प्रत्यारोपले उनीहरूबीचको भावनात्मक सम्बन्धलाई दिनप्रतिदिन कमजोर बनाउँदै लग्यो। नेपालमा रहँदा जुन प्रेम बलियो लाग्थ्यो, विदेशको आर्थिक र सामाजिक वातावरणमा त्यो तासको घरजस्तै भत्किन थाल्यो।

लेखक सन्दीप भट्ट

रहरका बगानमा सपनाको अवसान

प्रदीप र सृष्टिबीचको दूरी यति बढ्यो कि उनीहरू एउटै कोठामा बस्दा पनि अपरिचितजस्तै हुन थाले। कठीन परिस्थितिमा एकअर्काको ढाडस बन्नुको सट्टा उनीहरूले समस्याको दोष पार्टनरलाई मात्र थुपार्न थाले। युवा जोडीमा देखिने ‘इमोसनल म्याचुरिटी’ (भावनात्मक परिपक्वता) को कमीले बलिरहेको आगोमा घिउ थप्ने काम गर्‍यो।

अन्ततः, विवाह भएको दुई वर्ष पनि नपुग्दै उनीहरूले एउटा गम्भीर निर्णय लिए— अलग हुने। जुन सपना बोकेर उनीहरूले हतारमा सिन्दूर पोतेका थिए, ती सपनाहरू लन्डनको चिसो मौसम र व्यस्त सडकहरूमा बिलाएर गए। उनीहरूले आपसी समझदारीमै कानुनी रूपमा सम्बन्धविच्छेद गरे।

एउटा प्रतिनिधि घटना, धेरैको कथा

प्रदीप र सृष्टिको यो कथा कुनै नौलो वा एक्लो घटना होइन। आज उच्च शिक्षाका लागि विदेशिने वा स्वदेशमै पनि कडा प्रतिस्पर्धात्मक वातावरणमा पढ्दै गरेका हजारौँ विद्यार्थी जोडीहरूको यथार्थ हो यो।

आजको युवा पुस्ता आफ्नो व्यक्तिगत पहिचान, करियर र मानसिक शान्तिलाई लिएर बढी सचेत छ। उनीहरू समाज वा परिवारको दबाबका लागि मात्रै एउटा ‘विषाक्त वा मृत’ सम्बन्धमा अल्झिएर बस्न चाहँदैनन्, जुन एक हिसाबले सकारात्मक पनि हो। तर, यसको अर्को पाटो के पनि हो भने— हतारमा गरिने विवाह, वैवाहिक जीवनमा आउने आर्थिक–मानसिक चुनौतीहरूको पूर्वअनुमान नगर्नु, र संकटको बेला परिपक्व संवाद गर्न नसक्नुले धेरै विद्यार्थीहरूको घरेलु जीवन उजाड बनाइरहेको छ।

प्रदीप र सृष्टि अहिले आ–आफ्नो बाटोमा छन्। प्रदीप आफ्नो अध्ययन पूरा गर्ने धुनमा छन् भने सृष्टि आफ्नो करियर स्वतन्त्र रूपमा अगाडि बढाउँदै छिन्। उनीहरूको सम्बन्ध त सकियो, तर यसले एउटा ठूलो सामाजिक प्रश्न छाडेर गएको छ— के केवल विदेशिने वा करियर बनाउने हतारोमा भावना र सम्बन्धको जग बलियो नबनाई गरिएका विवाहहरूले आधुनिक जीवनको यो चर्को राप झेल्न सक्लान् ?

(लेखक भट्ट युनिभर्सिटी अफ वेष्ट लन्डनमा एमएस्सी इन्टरनेसनल विजनेश म्यानेजमेन्ट अन्तिम सेमेष्टरमा अध्ययनरत छन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू